Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • अदालतकै गेट अगाडि व्यवसायीमाथि खुकुरी प्रहार गर्न लगाउने योजनाकार खुलमखुला, प्रहरीमाथि चुनौती

    अदालतकै गेट अगाडि व्यवसायीमाथि खुकुरी प्रहार गर्न लगाउने योजनाकार खुलमखुला, प्रहरीमाथि चुनौती

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 1.8K
    SHARES

    विराटनगर । व्याबसायिक साझेदारकै योजनामा इटा भट्टा व्यबसायीको खुकुरी हानी हत्या प्रयास भएको खुलेको छ।  उच्च अदालत विराटनगरको गेटमा असोज १० गते आइतबार काभ्रेका युवा व्यापारी ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको थियो ।

    मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इटा उद्योगमा लगानी गरेका लामामाथि खुकुरी प्रहार गरी हत्या गर्न खोजेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मोरङले लामाका साझेदार महम्मद साजिद मियाँ र विमल कार्कीलाई तत्काल पक्राउ गर्यो ।



    लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्कीले प्रहरीसमक्ष आफूले ५० हजार रकम लिएर लामामाथि खुकुरी प्रहार गरेको वयान दिएका छन् । घटनामा जोडिएका मुख्य  अभियुक्त भक्तपुर ठिमीका रमेश राजबाहक र मोरङका नेत्र कट्टेललाई पनि प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा चलाउन लागेपछि उनीहरुले अदालत र सरकारी वकिलको कार्यलयमा चलखेल गरेका छन्। राजबाहक र  कट्टेलबिरुद्द कलामसिंह लामाले किटानी जाहेरी पनि दिएका छन्। उनीहरु दुबै जना प्रहरीको नजरमा फरार भएपनि खुलमखुला हिँडिरहेका छन्। उनीहरु कहिले बिराटनगरमा त कहिले काठमाडौं र भक्तपुरमा देखिने गरेको प्रहरी स्रोत नै वताउँछ।



    राजबाहकले कार्कीको बयान फेर्न लगाएर जोगिनका लागि सरकारी वकिलको कार्यालय र अदालतमा आर्थिक चलखेल गरेको आरोप छ।

    लामालाई इटा उद्योगमा ठूलो फाइदा हुने प्रलोभन देखाएर उनै राजबाहकले नै मोरङसम्म पुर्याई महम्मद साजिद मियाँसँग चिनजान गराएर लगानी गर्न बाध्य बनाएका थिए । दुई वर्ष अघि लामाले जब उक्त उद्योगमा करोडौं रकम लगानी गरे त्यसपछि राजबाहकले लामासामु दैनिक १० हजार इटा निशुल्क दिनुपर्ने जस्ता अस्वभाबिक सर्तहरु राखेर दु:ख दिएका थिए ।

    तर, लगानी गराउनासाथ फाइदा खोजेका राजबाहकले लामाविरुद्ध हुँदै नभएका उजुरी वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म हालेर दुःख दिन थाले । लामालाई अनेक तरिकाले दुःख दिएर मोरङबाट भगाई उद्योग नै हत्याउन उनले प्रशासनलाई समेत प्रयोग गरेको देखिन्छ । किनकी कम्पनीमा कुनै लगानी र सरोकार नै नभएका नेत्र कट्टेल नामका व्यक्तिले उजुरी दिएको आधारमा जिल्ला प्रशासन कार्यालय मोरङले इटा उद्योगको कारोबार नै रोक्न आदेश दिएको थियो ।

    योजनाबद्ध रुपमा लामाका साझेदार मियाँले पनि जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिए । उक्त इटा उद्योगमा मियाँ र उनकी श्रीमतीको ५०र५० प्रतिशत शेयर थियो । मियाँले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेका थिए भने बाँकी ५० प्रतिशत शेयर वार्षिक ५० हजार इटा पाउने शर्तमा ५ वर्षका लागि लिजमा दिएका थिए ।

    यति हुँदाहुँदै पनि इटा उद्योगलाई सञ्चालन नै गर्न नदिई उनीहरु लामालाई भगाएर उद्योग कब्जा गर्न खोजेको प्रहरी अनुसन्धानका क्रमममा खुलेको छ । प्रशासनले विना कारण बाहिरका व्यक्तिका उजुरीकै आधारमा उद्योग नै बन्द गरिदिएपछि प्रशासनको निर्णयविरुद्ध लामा जिल्ला अदालत जाने तयारीमा थिए ।

    कारोबार फुकुवाको मागसहित मुद्दा दर्ताको तयारी गरेर विराटनगरस्थित वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल–फर्मबाट निस्किएर उच्च अदालतको गेट अगाडि पुगेपछि लामामाथि खुकुरी प्रहार भएको थियो । प्रहरी अनुसन्धानका क्रममा राजबाहक, मियाँ र कट्टेलकै योजनामा लामामाथि आक्रमण भएको खुलेको छ । राजबाहकले कट्टेललाई लामामाथि आक्रमण गर्न सुपारी दिएका थिए । प्रहरीका अनुसार कट्टेलले फेरि कार्कीलाई खटाएको देखिन्छ ।

    घटनामा संलग्न अर्का अजय नाम गरेका ‘बाइक राइडर’ फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिशीले घटनाको विषयमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको र फरार व्यक्तिहरुलाई चाँडै नै कानुनी कठघरामा ल्याउने बताए । उनले घटनामा सँलग्न फरार अभियुक्तहरुलाई कुनै पनि हालतमा नछाड्ने वताएका छन्।

    खुकुरी प्रहारबाट हात, पेट लगायत शरीरका विभिन्न भागमा गम्भिर चोट लागेका लामाको  शुरुमा विराट नर्सिङ होममा उपचार भएको थियो । थप उपचारका लागि उनलाई काठमाडौं रिफर गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार