Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ९ बर्षअघि तालिबानको गोली खाएकी मलालाले गरिन् बिहे, को हुन् उनका श्रीमान् ?

    ९ बर्षअघि तालिबानको गोली खाएकी मलालाले गरिन् बिहे, को हुन् उनका श्रीमान् ?

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 2.6K
    SHARES

    एजेन्सी । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले यूकेको बर्मिङ्घममा आफ्ना प्रेमीसँग एक ईश्लामिक समारोहकाबीच विवाह गरेकी छन्।

    उनी र असेर मलिकले निकाहमा सहभागी हुँदै विवाहका लागि सहमति जनाएका थिए। कानुनी हैसियत नहुने भए तापनि ईश्लामिक विवाहमा निकाहलाई पहिलो कदम मानिन्छ।



    २४ वर्षीय यी अभियानकर्मीले त्यसलाई आफ्नो जीवनकै ‘एउटा मूल्यवान् दिन’ बताइन्।



    सन् २०१२ मा तालिबानको गोली हमलामा परेपछि पाकिस्तानी महिला अधिकारवादी मलालाले इङ्ग्ल्याण्डको वेस मिडल्याण्ड्स क्षेत्रमा शरण पाएकी थिइन्।

    मलालाले के भनिन्?

    मङ्गलवार उनले एउटा ट्विट गर्दै असेर र आफू जीवनभरका लागि दम्पती भएको बताएकी थिइन्।

    उनले लेखेकी थिइन्, “अगाडिको यात्राका लागि एकसाथ अघि बढ्न हामी निकै उत्साहित छौँ।”

    २४ वर्षकी मलाला १५ वर्षकी हुँदा पाकिस्तानमा तालिबानको हमलामा परेकी थिइन् जहाँ उनले किशोरीहरूको पढ्न पाउने अधिकारबारे बोलेकी थिइन्।

    उत्तर-पश्चिमी स्वात उपत्यकामा लडाकुहरूले उनी चढेको स्कुल बसमा हमला गर्दा मलालासहित उनका अन्य दुई साथीहरू घाइते भएका थिए।

    झण्डै ज्यान गुमाएको उक्त घटनापछि उनी र उनको परिवार ब्रमिङ्घममा सर्यो जसलाई उनले पछि ‘आफ्नो दोस्रो घर’ भनिन्।

    १७ वर्षमा उनी नोबेल पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति बनिन्।

    पछि उनी अध्ययनका लागि अक्सफर्ड विश्वविद्यालय गइन् र एकजना अग्रणी मानवअधिकारकर्मी बनिन्।

    विवाहबारे धारणा

    मलालाले यसअघि विवाहका विषयमा दुविधाहरू व्यक्त गरेको पाइएको थियो।

    भोग पत्रिकालाई जुलाईमा दिएको अन्तर्वार्तामा मलालाले भनेकी थिइन्, “म अझै बुझ्दिनँ मानिसहरूलाई किन विवाह गर्न पर्छ भनेर।”

    “यदि तपाईँ कसैलाई आफ्नो जीवनमा चाहनुहुन्छ भने किन विवाहका पत्रमा हस्ताक्षर गर्नु पर्यो, जोडी मिलेर मात्र बस्न किन नसकिने?”

    उनले थपिन्, “मेरी आमा चाहिँ कस्ती हुनुहुन्छ भने…’त्यस्तो कुरा गर्दै नगर! तिमीले विवाह गर्नुपर्छ, विवाह सुन्दर कुरा हो।’”

    उनको विवाहको खबरलाई दशौँ हजार प्रशंसकले अनलाइनमा मन पराएका छन् र हजारौँले उक्त जोडीलाई शुभेच्छा पठाएका छन्।

    को हुन् असेर मलिक?

    मलालाले आफू क्रिकेटको प्रशंसक भएको कयौँ अन्तर्वार्ताहरूमा बताएकी थिइन्।

    संयोगले उनका श्रीमान् असेर मलिकको सम्बन्ध समेत सो खेलसँग नजिकको रहेको छ।

    उनी पाकिस्तान क्रिकेट बोर्ड पीसीबीको न्याश्नल हाई पर्फर्मेन्स सेन्टरमा प्रबन्धक छन्।

    उनले लाहोरको प्रतिष्ठित ऐचिङ्सन कलेज र लाहोर विश्वविद्यालयमा पढेका हुन्।

    पीसीबीसँग जोडिनुअघि उनी पाकिस्तान सुपर लीगको एक टोली मुल्तान सुल्तान्ससँग समेत जोडिएका थिए। स्रोत: बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार