Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भाइभतिजा नै पक्राउ पर्ने भएपछि चोलेन्द्रले अख्तियारको ‘स्टिङ अप्रेशन’लाई बन्द गराउन आदेश दिएको खुलासा

    भाइभतिजा नै पक्राउ पर्ने भएपछि चोलेन्द्रले अख्तियारको ‘स्टिङ अप्रेशन’लाई बन्द गराउन आदेश दिएको खुलासा

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 3.5K
    SHARES

    नयाँ बानेश्वरमा रहेको आइप्लेक्स मल,जस्को अध्यक्ष हुन प्रभुशमशेर राणा

    काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणका लागि गर्दै आएको ‘स्टिङ अप्रेशन’मा आफ्नै भाइभतिजा तथा नातेदारहरु फस्ने अवस्था आएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले स्टिङ अप्रेसन गर्न नपाउने आदेश दिएको खुलेको छ।

    आफैैँ घुस दिएर कर्मचारी–बिचौलियालाई रंगेहात पक्राउ गर्ने अख्तियारको स्टिङ अप्रेसनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले गत बैशाखमा आदेश दिएको थियो। तर, उजुरी पर्दा प्रधानन्यायाधीश राणाकै भाइभतिजा नै फस्ने भएपछि उनले अख्तियारले गर्दै आएको स्टिङ अप्रेसनबिरुद्ध आदेश दिएको न्यायसेवाका कर्मचारीले नै भन्ने गरेका छन् ।



    आफ्नै भाइ, भतिजाका घुस मोलमोलाई गरेका अडियो /भिडियो भएकाले प्रधानन्यायाधीश राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दैआएको स्टिङ अप्रेसन गर्न नपाउने आदेश दिएको कानुन व्यबसायीहरुले नै वताउने गरेका छन्।  बरिष्ठ अधिवक्ता शम्भु थापाले त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका नातेदारहरुले घुसमा बार्गेनिङ गरेको अडियो तथा भिडियोहरु नै आफुहरुसँग सुरक्षित रहेको नेपाल बार एशोसिएसनको कार्यक्रममा दाबी गरेका थिए।



    प्रधानन्यायाधीश  राणाले सिंगो न्यायपालिकाको गरिमा नै समाप्त पारेको भन्दै यतिखेर सर्वोच्चकै न्यायाधीशहरुले इजलास बहिस्कार गरेर राजीनामा माग गरिरहेका छन्। नेपाल बार एशोसिएसनका अध्यक्ष र केही बरिष्ठ अधिवक्ताले त राणालाई बिचौलियाको नाइके भन्दै भाई प्रभुशमशेरमार्फत बिदेशमा अकुत सम्पत्ति थोपरेको सार्वजनिक रुपमै आरोप लगाएका छन्।  प्रधानन्यायाधीश राणाले जिल्लादेखि सर्वोच्च अदालतका मुद्दामा पनि हस्तक्षेप गर्दै ‘सेन्टर कलेक्सन’ गरी न्यायाधीशलाई दबाब दिने गरेका कैयौं घटना सार्वजनिक भएका छन् ।

    सर्वोच्च अदालतमै आर्थिक सरोकारका मुद्दा, सरकारी जग्गाका मुद्दामा प्रधानन्यायाधीश राणाका भाइ प्रभुशमशेर राणा, ज्वाई बिनय रावल, छोरा सच्चेन्द्रशमशेर राणाहरु पक्ष विपक्ष दुवैतिर सेटिङका लागि मोलमोलाईमा पुग्ने गरेका छन् ।

    २०७० देखि क्यासिनो संचालन अन्तरिम आदेशका भरमा गर्न दिने आदेश, अनधिकृत ट्रेडमार्क दर्ताका बिरुद्ध दायर मुद्दा, सहकारी ठगीका मुद्दामा पनि प्रभुशमशेर राणासहितको यो बिचौलिया समूहले सेटिङ गर्ने गरेको छ । सरकारी जग्गा गैरकानुनी दर्ताका बिरुद्ध परेका मुद्दामा त प्रभु शमशेरको समूहको चासो बढी हुने गरेको छ । बैंकले नियम कानुन पुर्याएर लिलाम गरेका जग्गामा पनि ऋणीलाई उचालेर रिट हाल्न लाउने, मुद्दाबाट टुंगिसकेको छ भने पुनरवलोकन गरी निस्सा दिन लाउने धन्दा प्रभुशमशेरहरुबाट हुँदैआएका छन् ।

    कर्तब्यज्यान मुद्दामा जेल संजाय भोगिरहेकाहरुसँग जेलमै गएर मोलमोलाई गर्ने कार्य पनि हुँदैआएको छ । ब्यापारिक घरानाको सम्पत्ति बाँडफाँडमा परेका मुद्दामा सम्बन्धित ब्यवसायीको कार्यालयमै गएर चोलेन्द्रशमशेरका भाइ, छोरा र भतिजाहरुले मोलमोलाई गरेका अडियो भिडियो छन् ।

    कार्यपालिकासँगको राजनीतिक भाग खोजेर न्यायालयलाई बद्नाम गराएका राणाबिरुद्ध कानून व्यबसायीहरु, नेपाल बार एसोसियसन र सर्वोेच्च अदालतकै न्यायाधीसहरु मोर्चाबन्दी गरेर राजीनामा माग्दा समेत राणा पद जोगाउन अनेक खेल खेलिरहेका छन् । उनले राजनीतिक दल निकट वकिलहरुका संगठनका अध्यक्षलाई न्यायाधीशको ललिपप देखाउँदै उनको पक्षमा तान्न खोजेका छन् ।

    श्रीमती हत्याका आरोपी सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालाको कैद सजाय कटौती गर्ने फैसलापछि राणाबिरुद्ध गत बर्ष नागरिक समाज आक्रोशित भएर सडकमा आएको थियो । त्यसपछि पुनरालोकन निवेदन दर्ताका लागि निस्सा दिए पनि १५ महिनासम्म पेशी नै नराखेको जगजाहेर नै छ । प्रधानन्यायाधीश राणाका एक होइन, धेरै आदेश विवादित, आर्थिक लाभका आधारमा भएका छन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आफूले गरेका फैसला अध्ययन गर्न चुनौती नै दिएका छन् । राणाले उच्च अदालत बिराटनगरमा हुँदादेखि विशेष अदालत र सर्वोच्चको न्यायाधीश हुँदै प्रधानन्यायाधीश हुँदा गरेका फैसला अध्ययन गर्ने हो भने त उनी न्यायाधीशका लागि सर्वथा योग्य होइनन् भन्ने प्रष्ट हुन्छ । राणा जस्तालाई न्यायाधीश बनाएकै कारण आज नेपालको न्याय क्षेत्रको यो दुर्गति हुन पुगेको कुरामा सबै जानकार छन् । तर फेरि पनि यस्तै पात्रलाई एमाले र त्यो पार्टीका अध्यक्ष खड्गप्रसाद ओलीले साथ दिएका छन् ।

    राणा न्यायिक टिप्पणी भएका ब्यक्ति हुन् । उनले पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचार आरोपमा हचुवाका भरमा सफाइ दिएकाले कारबाही गर्न सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टले आदेश दिएका थिए । तर तिनै न्यायिक टिप्पणी भएका राणालाई नरहरि आचार्य जस्ता ब्यक्ति कानुन मन्त्री भएको बेला न्यायाधीश नियुक्ति गरियो, त्यो पनि ४ बर्ष प्रधानन्यायाधीश हुनेगरी ।

    राणामाथि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले कारबाही गर्नुपर्ने कुरा उठाएका थिए । श्रेष्ठ निवर्तमान भएपछि पनि सर्वोच्च अदालतका न्यायाधीश बनाउनु हुन्न भनेर संसदीय सुनुवाइमा कुरा उठ्यो । तत्कालीन एमाले र माओवादीका सांसदहरुले उनको विपक्षमा मतदान गरे । तर, एमाले र माओवादी पार्टी एक भएपछि तिनै राणालाई प्रधानन्यायाधीश बनाए । पर्साको छपकैया पोखरीदेखि तनहुँको भीमाद नगरपालिकाको १४ सय रोपनी सार्वजनिक जग्गा गैरकानुनी दर्ता गर्न आदेश दिने पनि राणा नै हुन् । भीमादको सरकारी जग्गामा बनेको स्कुललाई मोही बनाएर उनले जग्गा अतिक्रमण गर्नेहरुलाई मिलापत्रमा पठाएका छन् । जुन स्कुलका ब्यवस्थापन समितिका पदाधिकारी र स्कुलक प्रधानाध्यापक नै जग्गा अतिक्रमणकारी हुन् ।

    राणा प्रधानन्यायाधीश भएपछि अदालतविरुद्ध जनता सडकमा आउनुका पछाडि उनी र उनका भाइकै यी र यस्ता गतिविधि प्रमुख कारण रहेका छन् । प्रभुशमशेर जबराले सर्वाङ्गै हुनेगरी खुल्लमखुल्ला गरेका सेटिङ र न्यायको किनबेचले नेपालको न्यायालयको गरिमा धुलिसात भएको छ ।

    न्यायालयप्रति जनताको भरोसा उडेको छ । बिहान–बिहान सधैैं दाइ चोलेन्द्रको निवास बालुवाटारमा हुने र दिउँसो उनी बानेश्वरस्थित आफ्नै आइपेक्स कम्प्लेक्समा बसेर डिल गर्दछन् । राणा प्रधानन्यायाीश भएपछि सेटिङकै रकमले निर्माण भएको उक्त मलमा सुधीर बस्नेत, दीपक तिमल्सिना जस्ता उपबिचौलियाहरुको आउजाउ बाक्लै हुने गरेको छ ।

    सहकारीमा बचतकर्ताको १६ अर्ब ठगी गरेका सुधीर बस्नेतलाई समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिको कार्यालयले थुनामा पठाएको थियो । तर प्रभुशमशेर राणाले सेटिङ गरी उनका भेगासिटी लगायतका परियोजनामा ५० प्रतिशतको सेयर लिने सहमति गरे । दाजु चोलेन्द्रले भाइको सेटिङ अनुसार सुधीर बस्नेतलाई २०४८ को सहकारी ऐन अनुसार मात्र कारबाही गर्न मिल्ने, २०७२ को सहकारी ऐन आकर्षित नहुने अनौठो आदेश दिई तुरुन्त थुनामुक्त गर्न आदेश दिए । त्यसपछि समस्याग्रस्त सहकारीमा ओरेन्टल सहकारीको रकम फिर्ता हुने अपेक्षा गरेका पीडितहरुले न्याय पाउने ढोका नै बन्द भयो । हजारौं बचतकर्ताको १६ अर्ब रकम फिर्ता नै नगरी सुधीर बस्नेत खुलेआम हिंडन पाएका छन् ।

    प्रभुशमशेर मुद्दा परेका घर जग्गाहरु सस्तोमा किन्ने र महंगोमा बेच्ने खेलमा लाग्दैआएका छन् । प्रभुशमशेरले सात करोडमा ठमेलमा एक घर किने । सात करोडमा उनले घर किनेको भए पनि कर छल्न साढे चार करोडमा पास गरेका थिए । ठमेलको उक्त घर मुद्दा परेकाले उनले मुद्दा मिलाएर बेच्नै भन्दै खरिद गरेका थिए ।

    उच्च अदालतका एक न्यायाधीशले नै मुद्दा हाल्नेहरुलाई धम्क्याएको सार्वजनिक भएको थियो । जुन कुरा एक भिडियोबाटै खुलेको थियो । प्रभुशम्शेरले दाजु अदालत प्रवेशपछि यति धेरै स्रोत नखुलेको कालो सम्पत्ति थुपारेका छन् कि त्यो सम्पत्ति धमाधम बिक्री गर्दै धमाधम भाटभटेनी सुपरस्टोर्सका संचालक मीनबहादुर गुरुङमार्फत् युएई र अमेरिकामा पठाएका छन् । बालुवाटारको २२ आना जग्गा हालसालै बिक्री गरिसकेका छन् । विवादास्पद घर जग्गा खरिद गर्ने र अदालतमा मुद्दा मिलाएर बेच्ने प्रभुशम्शेरको गिरोह नै काठमाडौंमा सक्रिय रहेको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार