Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • फेरि बढ्यो कोरोना त्रास

    न्युयोर्कमा संकटकाल, बेलायतद्धारा उडान सेवा बन्द, सिमा बन्द गर्दै भारत र अष्ट्रेलिया

    न्युयोर्कमा संकटकाल, बेलायतद्धारा उडान सेवा बन्द, सिमा बन्द गर्दै भारत र अष्ट्रेलिया

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 2.1K
    SHARES

     

    एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को त्रास फेरि बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) देखिएसँगै विश्का विभिन्न देशहरुले सतर्कता अपनाउन थालिसकेका छन् ।



    नयाँ भेरियन्ट अझ खतरनाक रहेको भन्दै अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ भने बेलायतले विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ ।



    त्यसैगरी अ‍ेष्ट्रेलियाले पनि नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । छिमेकी मुलुक भारतमा पनि यसबाट जोगिन कडा नियम लागू गर्नुपर्ने माग अघि सारिएको छ।

    दिल्लीका मुख्यमन्त्री अरिवन्द केजरिवालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रभावित देशबाट हुने सबै फ्लाइट रद्द गर्न माग गरेका छन्। उनले अफ्रिकालगायत प्रभावित देशको यात्रामा पनि प्रतिबन्ध लगाउन माग गरेका छन्।

    उनले यसअघि पनि हवाई यात्राकै माध्यमबाट भारतमा पहिलोपटक कोरोना संक्रमण देखिएको स्मरण गराएका थिए। उनले कोरोनाको नयाँ भेरियन्ट रोक्न भारतमा सबै प्रकारका प्रयासहरु हुनुपर्ने बताए।

    त्यसैगरी बेलायतले शुक्रवार मध्याह्न १२ बजेदेखि ६ वटा देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर आवत जावत बन्द गर्ने निर्णय गरेको छ ।

    ओमाइक्रोन नाम दिइएको नयाँ संस्करणको कोरोना भाइरस भेटिएको पुष्टि भएका र भेटिन सक्ने खतरा रहेका देशहरुबाट हुने उडान बेलायतमा प्रतिबन्ध लगाइएको हो ।

    नयाँ भाइरस आफ्नो देशमा नभित्रियोस भन्ने उद्धेश्यले बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडानहरु स्थगित गरेको हो।

    यसैबीच अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् ।

    ‘पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो,’ गभर्नरले भनेका छन् ।

    कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उनको भनाइ छ । अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेका छन् ।

    शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता बृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए । त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ ।

    दक्षिण अफ्रिकामा नयाँ कोरोनाभाइरसको रुपमा ओमिक्रोन कोरोनाभाइरस फैलिएको भन्ने सूचनाका आधारमा पूर्वसतर्कता स्वरुप पनि न्युयोर्कमा संकटकालको घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् ।

    त्यसैगरी अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा निर्णय गरिने स्पष्ट पारे ।

    ‘सरकारले सीमा क्षेत्रमा प्रतिबन्धात्मक केही नयाँ व्यवस्था गर्न सक्छ, यस बारेमा अध्ययन र छलफल भइरहेको छ’ उनले भने ।

    पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा उनले नौ दक्षिण अफ्रिकी मुलुकहरुबाट अष्ट्रेलियामा हुने सबै उडान पनि बन्द गर्ने संभावना पनि रहेको स्पष्ट पारे । उनका अनुसार सरकारले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोट्सवाना, मालावी, मोजाम्बिकलगायतका देशहरुबाट अष्ट्रेलिया आउने उडान रद्द गर्ने संभावना रहेको छ ।

    त्यसैगरी अष्ट्रेलियाको नागरिक नभएको, अष्ट्रेलिया निवासी नभएको, आश्रितहरु अष्ट्रेलियामा नभएको लगायतलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइसकिएको पनि स्वास्थ्य मन्त्री हन्टले जानकारी दिए । तर अष्ट्रेलियाको नागरिक भएको, अष्ट्रेलिया निवासी भएको, आश्रितहरु अष्ट्रेलियामा भएको लगायतलाई भने अष्ट्रेलिया प्रवेश गर्न दिइएपनि कम्तीमा १४ दिन क्वारेन्टिन अनिवार्य रुपमा बस्नु पर्ने व्यवस्था गरिएको छ ।

    अधिकारीहरुका अनुसार अहिलेसम्म सो नयाँ भाइरस दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी तीन देशमा कुल ५९ जनामा मात्रै पुष्टि भएको छ । अहिलेसम्म पुष्टि भएका मध्ये सबैभन्दा खतरापूर्ण भइरस भएकाले र अहिले खोपले पनि काम गर्न नसक्ने भएकाले बेलैमा उच्च सतर्कता अपनाउनु परेको अधिकारीहरुको भनाइ छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार