Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अध्यक्षमा रावलसँग प्रतिस्पर्धा गर्न ओलीले दिए उम्मेदवारी

    अध्यक्षमा रावलसँग प्रतिस्पर्धा गर्न ओलीले दिए उम्मेदवारी

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 2K
    SHARES

    चितवन । केपी शर्मा ओलीले अध्यक्षका लागि भीम रावलसँग प्रतिस्पर्धा गर्ने भएका छन् । आज बिहान दसौं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् । भीम रावलले भने ओली भन्दा अगाडि नै उम्मेदवारी दर्ता गराएका थिए ।

    यसअघि ओलीले आइतबार राति बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्य र पदाधिकारीको सूची पेस गरेका थिए । ओलीले विष्णु पौडेललाई उपाध्यक्ष र शंकर पोखरेललाई महासचिवमा प्रस्ताव गरेका छन् ।



    अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो ।



    एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरिएको छ । पार्टीभित्र भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरूको विरोधकाबीच अध्यक्ष ओलीले दिनभरको गृहकार्यपछि प्रस्ताव ल्याएका हुन् ।

    प्रस्ताव अनुसार ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली अष्टलक्ष्मी शाक्य सुरेन्द्र पाण्डे रामबहादुर थापा विष्णु पौडेल र सुवास नेम्वाङ छन् । त्यस्तै ३ जना उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल लाई प्रस्ताव गरिएको छ । सात जना सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा,लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन् ।

    तर, ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि भन्दै तयार पारेको पदाधिकारीहरुको सूचीमा असन्तुष्टि जनाउँदै तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

    पार्टीको दशौं महाधिवेशनमा निवर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । ओलीले आफूलाई अध्यक्षका रुपमा प्रस्ताव गर्दै सूची बनाएका थिए । त्यसका विरुद्ध अध्यक्ष पदमा रावलले उम्मेदवारी दर्ता गराएका हुन् ।

    यस्तै, ओलीको सूचीलाई चुनौती दिँदै उपाध्यक्ष पदमा घनश्याम भुसाल र सचिव पदमा भीम आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार