Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सत्ता गठबन्धनको सुझावपछि चोलेन्द्रले भने- बिदा बस्दिनँ, कार्यवाहक पनि तोक्दिनँ

    सत्ता गठबन्धनको सुझावपछि चोलेन्द्रले भने- बिदा बस्दिनँ, कार्यवाहक पनि तोक्दिनँ

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सत्ता गठबन्धनको बैठकले आफूलाई बिदा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न दिएको सुझावलाई इन्कार गरेका छन्।

    बिहीबार बिहान सत्ता गठबन्धनको बैठकले प्रधानन्यायाधीश जबरालाई बिदा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको थियो। तर, प्रधानन्यायाधीश राणानिकट स्रोतका अनुसार उनले आफू बिदामा पनि नबस्ने र कार्यबाहक पनि नतोक्ने बताएका छन्।



    ‘उनी बिदा बस्ने वा न्यायाधीश दीपक कार्कीको महत्वाकांक्षा पूरा गरिदिन कामु वा कार्यवाहक दिने सम्भावना छैन,’ राणा निकट स्रोतले भन्यो, ‘स्रोतका अनुसार राणाको यो सन्देश सत्ता गठबन्धनसम्म पुगिसकेको छ ।’



    यस्तै, सत्ता गठबन्धनको यस निर्णयलाई न्यायपालिकामाथि कार्यपालिकाको राजनीतिक हस्तक्षेपका रूपमा लिइएको सर्वोच्चका एक न्यायाधीशले बताए। पछिल्लो समय नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयको गुन तिर्ने भन्नु र लगत्तै सत्ता गठबन्धनले न्यायपालिकामाथि हस्तक्षेप गर्न खोज्नु गम्भीर विषय भएकाले यसमा आफूहरूको ध्यानाकर्षण भएको ती न्यायाधीशको भनाइ छ।

    अहिले प्रधानन्यायाधीश राणा कोभिडका कारण अस्पतालमा रहेका छन् । कोभिडको बेला १४ दिन स्वतः काम गर्न नमिल्ने र यसअघिका कोभिड भएका बेला अन्य न्यायाधीशहरू पनि घरमा वा अस्पतालमा बसेका बेला स्वतः बिदा जनिएको थियो ।

    सर्वोच्च प्रशासनका अनुसार कार्यबाहकको सम्बन्धमा भने प्रधानन्यायाधीश विदेशमा भएको वा राष्ट्रपतिसमक्ष बिदा स्वीकृत गरेको अवस्थामा बाहेक कामु दिने व्यवस्था नरहेको छ।

    यसअघि प्रधानन्यायाधीश जुम्ला भएको बेला पनि त्यहीँबाटै पेसी तोक्ने प्रचलन थियो । अहिले प्रधानन्यायाधीश सशस्त्र प्रहरी अस्पतालमा छन् र उनले मंगलबार अस्पतालबाटै पेसी तोकेका थिए । बुधबारदेखि सर्वोच्चमा गोला प्रक्रियाबाट पेसी तोक्न थालिएकोमा बार र केही न्यायाधीश नै त्यसको बाधक बनेका छन् ।

    प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम न्यायाधीशको अध्यक्षतामा बस्ने पेसी व्यवस्थापन समितिको बैठकले गोला प्रक्रिया अघि बढाउन सक्नेगरी नियमावली संशोधन भइसकेको छ । तर, वरिष्ठतम न्यायाधीश कार्कीको उद्देश्य भने गोला प्रक्रियाभन्दा पनि कामु बनेर संवैधानिक इजलास गर्नेतर्फ केन्द्रित रहेको स्रोतको भनाइ छ।

    संविधानको धारा १२९ को उपधारा ६ अनुसार कामु वा कार्यवाहक प्रधानन्यायाधीश तोक्न प्रधानन्यायाधीश विदेश भ्रमणमा रहेको, काम गर्न असक्षम भएको वा बिदा बसेको हुनुपर्छ । यो तीनवटै अवस्था अहिले नरहेकाले प्रधानन्याधीशले कामु नतोक्ने उनी निकट स्रोतले बतायो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार