Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सिंह र निधि देउवासँग मिलेपछि मतदानमा विवेक प्रयोग गर्न शेखरको आग्रह

काठमाडौं । नेपाली कांग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरुसँग मतदानमा विवेक प्रयोग गर्न आग्रह गरेका छन् ।

दोस्रो चरणको मतदानको पूर्वअवसरमा कोइरालाले अन्तआत्माले भनेको कुरा भोटमा प्रतिबिम्बित गर्न मतदाताहरुलाई आग्रह गरेका हुन् ।

उनले भने–‘अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्नुस् ।’ कांग्रेस सभापतिमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि आज दिउँसो दोस्रो चरणको मतदान हुँदैछ।

पहिलो चरणमा कूल खसेको ४ हजार ६८१ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएका छन् भने शेखर कोइरालाले १७ सय २ मत प्राप्त गरे। त्यस्तै प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधिले २५०, कल्याण गुरुङले २२ मत ल्याएका छन् । मतदानमा ७७ मत बदर भएको थियो।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुई उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। सोहीअनुरुप अब देउवा र कोइरालाबीच सभापति पदका लागि पुनः निर्वाचन हुने भएको हो । आज साढे ३ बजेबाट निर्वाचन शुरु हुने छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पाँचजनाले उम्मेदवारी दिएका थिए। सभापतिको दौडबाट प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ बाहिरिएका छन्।

देउवाले सिंह र निधिलाई आफ्नो पक्षमा ल्याइसकेकाले उनको जित निश्चितप्रायः देखिन्छ । बहुमतका लागि ९० मत मात्र नपुगेको अवस्थामा देउवाले ३७१ मत ल्याएका सिंह र २४९ मत ल्याएका निधिलाई आफ्नो पक्षमा पारिसकेका छन् ।

आज विहानै सिंह र निधि निवासमै पुगेर देउवाले उनीहरुलाई आफ्नो पक्षमा ल्याएका हुन् । सिंह र निधिले देउवालाई समर्थन गर्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077