Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सर्वोच्चद्वारा अख्तियारको दाबी अस्वीकार, सापटी लिँदा डीएसपीको जागिर चैट्

    सर्वोच्चद्वारा अख्तियारको दाबी अस्वीकार, सापटी लिँदा डीएसपीको जागिर चैट्

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०७१ सालमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख डीएसपी रमेशकुमार तामाङलाई ‘स्टिङ अपरेशन’का क्रममा ५० हजार घुससहित रंगेहात पक्राउ गरेको थियो।

    सोही मुद्धामा तामाङ विशेष अदालतदेखि सर्वोच्चसम्म आइपुग्दा दोषी ठहरिए । विशेष अदालतले २०७३ साल मंसिर २६ गते तामाङले सेवाग्राहीसँग रकम लिएको भन्दै दोषी ठहर गरेको थियो। त्यसपछि २०७८ साउनमा सर्वोच्चले पनि विशेषकै फैसलालाई सदर गर्यो ।



    तर, अख्तियारले भनेजस्तो ‘स्टिङ अपरेशन’का क्रममा रंगेहात पक्राउ परेका तामाङले उक्त रकम घुस नभई सापट लिएको खुलेको छ । सर्वोच्को पूर्णपाठमा समेत उक्त रकमलाई ‘सापटीकै रकम’ भनिएको छ।



    सर्वोच्चको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘…आफू बहाल रहेको पदअनुसार सम्पादन गर्नुपर्ने कामसँग सम्बन्धित व्यक्तिसँग सापटी लिने राष्ट्रसेवकलाई कसूरको मात्राअनुसार सजाय हुन सक्ने नै देखिन्छ। सोही प्रावधान प्रतिकूल हुने गरी प्रत्यर्थी प्रतिवादी रमेशकुमार तामाङले सेवाग्राही रामकृष्ण हुमागाईंबाट रकम सापटी लिएको देखियो। तसर्थ, प्रतिवादीलाई उक्त ऐनको दफा ५ (१) बमोजिम सजाय हुने ठहर गरेको विशेष अदालतको फैसलामा कुनै कानुनी त्रुटी देखिएन।’

    डीएसपी तामाङले बर्दीमै भएको बेला सेवाग्राही रामकृष्ण हुमागाईसँग उक्त रकम लिएकाले उनी कारवाहीको भागीदार बन्न पुगे ।

    यस्तो थियो घटनाक्रम:
    रामकृष्ण हुमागाईंले २०७१ साल असार २८ गते कुमारी बैंकबाट मीनभवन क्याम्पस अगाडिको जग्गा लिलाम बढाबढमा किनेका थिए । त्यही जग्गामा रहेको घरमा बस्ने गणेशलाल अवालेले रिसको झोंकमा हुमागाईंलाई गालीगलौज गरे ।

    त्यतिले मात्रै नपुगेर उनको फोटो सहितको पम्प्लेट जग्गा वरपर टाँसे । त्यसपछि हुमागाईंले गणेशलाल अवाले लगायतलाई कारबाही गर्न महानगरी प्रहरी वृत्त, बानेश्वरमा उजुरी दिए ।

    प्रहरीले घटनास्थलमा गई मुचुल्का उठायो । तर कुनै कारबाही अघि बढाएन । कारबाहीबारे जग्गाधनी हुमागाईंले चासो राख्दा भोलि, पर्सि भनी आलटाल गरे । डीएसपी तामाङले कारबाही अघि बढाउन हुमागाईसँग ५० लाख रुपैयाँ मागे । र हुमागाईंले घुस मागेको विषयमा अख्तियारमा उजुरी दिए ।

    अख्तियारको टोलीले स्टिङ अपरेसन गरी डीएसपी तामाङलाई एभरेष्ट होटलको लोट्स गार्डेन बाहिर ५० हजार रुपैयाँसहित पक्राउ गर्‍यो । ‘हुमागाईंसँग मैले मागेको सापटी ५० हजार रुपैयाँ एभरेष्ट होटलमा मबाट बरामद भएको हो,’ तामाङले अख्तियारमा बयान दिँदा भनेका थिए, ‘म बानेश्वर वृत्तमा हाजिर भएको २/३ दिन पछि चिनजान भएको हो ।’

    विशेष अदालतमा पनि उनले सोही बयान दोहोर्याए । उनले भनेका थिए, ‘रकम सापट लिई सकेपछि मलाई अख्तियारको टोलीले पक्राउ गरी अनुसन्धान गरेको हो । हुमागाईंले नियोजित रुपमा मलाई फसाउन बोलाएका रहेछन् । मैले सजाय पाउनुपर्ने होइन ।’

    विशेष अदालतका तत्कालीन अध्यक्ष मोहनरमण भट्टराई र सदस्य महेशप्रसाद पुडासैनीको इजलासले २०७३ साल मंसिर २६ गते उक्त घटनामा डीएसपी तामाङले घुस नभई दान दातव्य वा सहयोग लिएको ठहर गरेको थियो । विशेष अदालतले अडियो रेकर्डमा पनि सापटी भनेर लेनदेनको कुरा भएको भन्दै फैसलामा यसैलाई आधार मानेको छ ।

    भ्रष्टाचार निवारण ऐनको दफा ३ मा घुस लिने दिनेलाई सजायको व्यवस्था छ भने ५ मा दान, दातव्य, उपहार वा चन्दा लिनेलाई सजायको व्यवस्था छ । विशेष अदालतले डीएसपी तामाङलाई तीन महिना कैद सजाय हुने फैसला गर्‍यो र बरामद भएको रकम अख्तियारमा पठाउन आदेश दियो ।

    फैसला स्वीकारेर बसेका डीएसपी तामाङ त्यसविरुद्ध पुनरावेदनका लागि सर्वोच्च अदालत गएनन् । तर अख्तियारले दान, दातव्य वा उपहार लिएको नभई तामाङले घुस नै लिएको दाबी सहित सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दियो ।

    २०७३ साल फागुन २३ गते सर्वोच्च अदालतमा दर्ता भएको पुनरावेदनको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत साउनमा विशेष अदालतकै फैसला सदर गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार