Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • यी हुन एसपीभन्दा पावरफुल इन्सपेक्टर ,गुमराहमा राखेर असुली धन्दा

    यी हुन एसपीभन्दा पावरफुल इन्सपेक्टर ,गुमराहमा राखेर असुली धन्दा

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 4.7K
    SHARES

    रुपन्देही । नेपाल प्रहरीका एक इन्सपेक्टरले एसपीलाई समेत गुमराहमा राखेर असुली धन्दा चलाएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत इन्सपेक्टर भाष्कर चन्दले एसपी मनोज केसीलाई समेत थाहा नदिई जिल्लामा सेटिङ चलाएका छन् ।

    उनले जिल्लाभित्रका विभिन्न प्रहरी चौकीहरूमा आफूनिकटका इन्चार्ज खटाएर असुलीधन्दा चलाइरहेका छन् । प्रहरी निरीक्षक चन्द जिल्ला प्रहरी कार्यालयमा प्रशासन फाँट हेर्छन् । कुन प्रहरीलाई कहाँ पठाउने र कसलाई इन्चार्ज दिने भन्नेमा प्रशासन फाँटको ठूलो हात रहन्छ ।



    चन्दले आफूनिकटका असई र सईलाई पैसा कमाई हुने ‘मालदार’चौकीमा इन्चार्ज खटाउने गरेका छन् । उनले इन्चार्ज र हवल्दार तथा सिपाहीलाई चौकीमा खटाउँदा क्षेत्रीयताका आधारमा समेत पक्षपात गर्ने गरेको प्रहरी कर्मचारीहरू गुनासो गर्छन ।



    चन्द सुदूरपश्चिमका हुन् । उनले सई तथा असईलाई चौकीमा इन्चार्ज खटाउँदा सुदूरपश्चिमकालाई प्राथमिकता दिने गरेका छन् । २०७७ चैतमा रुपन्देही आएका चन्दले त्यसयता तल्ला तहका प्रहरीको मनोबल गिर्ने काम गरिरहेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक सईले जानकारी दिए ।

    ‘उहाँले विभिन्न चौकीमा इन्चार्ज खटाएर पैसा खाने, आफ्ना भेगका पठाउने (सुदुरपश्चिम) गर्नुहुन्छ’, ती सईले भने, ‘पैसा असुलीधन्दा गर्नकै लागि उहाँले भेगीय र क्षेत्रीयता हेर्दा काम गर्ने प्रहरी कर्मचारीको मनोबल गिरेको छ ।’

    प्रहरी निरीक्षक चन्दले प्रत्येक चौकीबाट २० देखि ३० हजार रुपैयाँसम्म मासिक रकम बुझ्ने गरेका छन् । उनले मैनहिया, पिप्रहवा र बगाहा प्रहरी चौकीमा आफू निकटका असई खटाएका छन् । उनीहरुमार्फत् चन्दले मासिक रकम असुल्ने गरेका छन् ।

    मैनहिया, बगाहा, पिप्रहवा बढी मात्रामा भारतबाट नेपालतर्फ सामान तस्करी हुने क्षेत्र हुन् । यस्तै, प्रहरी निरीक्षक चन्दले मर्चवार, लुम्बिनी क्षेत्रबाट पनि मासिक रकम बुझ्ने गरेका छन् । रुपन्देहीका एसपी मनोज केसीले तस्करी शुन्यमा झार्ने अभियान चलाएका छन् । तर, मातहतका प्रहरी अधिकृत नै असुलीमा लागेपछि उनको अभियानमा ठेस लागेको छ ।

    प्रहरी स्रोतका अनुसार एसपी केसीले तस्करीबाट अहिलेसम्म पैसा खाएका छैनन् । उनी प्रहरी खटाएर तस्करी रोक्न लागिपरेका छन् । तर, चन्दले भने आफू निकटका प्रहरी खटाएर असुली गरेका छन् । एसपी केसीलाई विभिन्न बहानामा रिझाएर चन्दले आफू निकटलाई राम्रा चौकीमा पठाउने गरेको जिल्लामा कार्यरत प्रहरीहरू बताउँछन् ।

    प्रहरी निरीक्षक चन्दले यतिसम्म गरेका छन् कि, कुनै प्रहरीले आफूलाई समस्या प-यो, कुनै प्रहरी चौकीमा जान्छु भनेमा उल्टो कारबाही गरेर अन्त पठाउने गर्छन् । ‘उहाँमा म अधिकृत हुँ र मेरो चल्छ भन्ने मानसिकता छ’, एक प्रहरी हवल्दार भन्छन्, ‘हाम्रा पनि समस्या हुन्छन्, यस्तो ठाउँमा पठाउनुस् सर भन्ने हो भने उल्टै कारबाहीस्वरुप अर्का ठाउँमा पठाउनुहुन्छ ।’

    जिल्लामा कार्यरत एक प्रहरी दशैं, तिहारमा घर बिदामा गएनन् । उनी क्रश्चियन धर्म मान्ने भएकाले क्रिसमसमा घर जाने भनेर दशैंतिहारमा घर गएका थिएनन् । तर, चन्दले क्रिसमसमा घरजानका लागि बिदा माग्दा ती प्रहरीलाई जिल्लाको दक्षिणी क्षेत्र मर्चवार पठाएका छन् ।

    उनी रुपन्देहीमा आएदेखि नै निरन्तर तल्लो तहका प्रहरी कर्मचारीलाई दबाउने गरेका छन् । यस्तै, उनी मातहत रहेका यमबहादुर बिक (हवल्दार) ले आफूनिकटका सिपाहीहरूलाई राम्रो ठाउँमा पठाउन सिफारिस गर्ने र घरबिदा दिँदा पैसा खाने गरेको प्रहरी स्रोतले बतायो । –दृष्‍टि साप्ताहिकमा खबर छ  

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार