Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गोवामा राखिएको क्रिस्टियानो रोनाल्डोको सालिक विवादमा, भारतीयले नै गरे यस्तो विरोध

    गोवामा राखिएको क्रिस्टियानो रोनाल्डोको सालिक विवादमा, भारतीयले नै गरे यस्तो विरोध

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नयाँ सालिकका कारण भारतीयहरूबीच विवाद भएको छ।

    त्यस प्रतिमालाई भारतको पश्चिमी गोवा राज्यमा राखिएको छ जहाँ फुटबल लोकप्रिय छ। त्यहाँका अधिकारीहरूले उक्त मूर्तिका स्थानीय युवाका लागि प्रेरणाको स्रोत बन्ने आशा गरेका छन्।



    तर, कुनै बेला पोर्चुगलको उपनिवेश रहेको गोवा स्वतन्त्र भएको ६० वर्ष भयो। भारतको अन्य भूभाग ब्रिटिश शासनबाट स्वतन्त्र भएको १४ वर्षपछि मात्रै गोवा स्वतन्त्र भएको थियो।



    भारतको राष्ट्रिय फुटबल समूहमा पूर्व तथा वर्तमान खेलाडीहरू गोवाकै हुन्। त्यसैले आलोचकहरूले स्थानीय खेलाडीहरूको सम्मान गरिनु पर्ने बताउँदै आएका छन्।

    ‘रोनाल्डोको मूर्ति खडा भएको सुनेर निकै निराश छु। समीर नाइक र ब्रुनो काउटिन्होजस्ता हाम्रा आफ्नै खेलाडीहरूप्रति गर्व गर्न सिक्नुपर्छ,’ गोवाका स्थानीय बासिन्दा आईएएनएस समाचार एजेन्सीसँग भनेका छन्।

    टाइम्स अफ इन्डिया पत्रिकाका अनुसार प्रतिमा अनावरणको क्रममा केही मानिसले कालो झन्डा फहराउँदै विरोध जनाएका थिए। पोर्चुगलको फुटबल टोली गोवामा लोकप्रिय छ र यसको औपनिवेशिक विगतका कारण धेरै स्थानीयका नातेदारहरू पोर्चुगलमा छन्।

    तर भारतका केही मानिसहरूले गोवा पोर्चुगलबाट स्वतन्त्र भएको ६० औँ वार्षिकोत्सवमै रोनाल्डोको मूर्ति स्थापना गर्नु अपमानजनक भएको महसुस गरेका छन्।

    ‘यसै वर्ष पोर्चुगल फुटबल खेलाडीको मूर्ति खडा गर्नु अपमानजनक काम हो। हामी यस कार्यको भर्त्सना गर्छौँ,’ आईएनएसले दक्षिणपन्थी कार्यकर्ता गुरु शिरोदकरलाई उद्धृत गरेको छ।

    उनले गोवामा रहेका थुप्रै स्वतन्त्रता लडाकुहरूको समेत अपमान भएको बताएका छन्। सत्तारुढ भारतीय जनता पार्टी भाजपाका स्थानीय सांसद माइकल लोबोले मूर्तिसहित तस्बिर ट्वीट गर्दै भनेका छन्, “हाम्रै युवाहरूको अनुरोधमा यो राखिएको हो। यो उनीहरूको फुटबल यात्रालाई अझ उचाइमा पुर्‍याउन प्रेरित गर्न स्थापना गरिएको हो।”

    भारतमा क्रिकेट लोकप्रिय भए पनि केरला, गोवा, पश्चिम बङ्गाल र उत्तर-पूर्वी राज्यहरूमा फुटबल पनि लोकप्रिय छ। हाल म्यानचेस्टर युनाइटेडबाट खेल्ने रोनाल्डोका धेरै भारतीय प्रशंसक छन्। र फुटबलमा उनी उत्कृष्ट खेलाडीहरूमध्ये एक मानिन्छन्।

    ३६ वर्षीय फरवार्ड खेलाडीले मूर्ति विवादबारे सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन्। उनको प्रतिमामाथि विवाद उत्पन्न भएको यो पहिलो पटक भने होइन।

    सन् २०१७ मा पनि पोर्चुगलस्थित मडेइरा एयरपोर्टमा राखिएको उनको अर्धकदको मूर्ति सामाजिक सञ्जालमा हाँसोको विषय बनेको थियो। उक्त प्रतिमामाथि व्यङ्ग्य गर्दै धेरै मिम बनेका थिए। चर्को आलोचना पछि त्यसलाई प्रतिस्थापन गरिएको थियो। बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार