Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एकाएक किन रोकियो आजका लागि तय भएको सर्वदलीय बैठक ?

काठमाडौं । चुनावलगायत विभिन्न विषयमा छलफल गर्न शनिबार बस्ने भनिएको सर्वदलीय बैठक एकाएक स्थगित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान डाकेको सर्वदलीय बैठक अनिश्चित बनेको हो ।

प्रधानमन्त्रीको निजी सचिवालयले बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने जानकारी शुक्रबार दिएको थियो । बालुवाटारमा शुक्रबार सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकले चुनाव र सम्सद सुचारूलगायत विषयमा सर्वदलीय छलफल गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकको तयारी गरेका थिए।

सत्तारुढ गठबन्धनमा तीनै तहको चुनाव एकैपटक गर्ने विषयमा पनि शुक्रबार छलफल भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले पहिले स्थानीय तहको चुनाव हुनुपर्ने बताइरहेको छ।

एक मन्त्रीका अनुसार स्थानीय तहको निवार्चनबारे संवैधानिक र कानुनी जटिलता के कस्ता छन् भनेर विज्ञसँग परामर्श गरेर सर्वदलीय बैठक बस्ने भएको हो ।

सत्तारुढ पाँच दल सम्मिलित राजनीतिक समन्वय समितिको बैठकमा नेकपा माओवादी र एकीकृत समाजवादीले स्थानीय तहभन्दा पहिले संघको निर्वाचन गर्नुपर्ने धारणा राखेका थिए भने त्यसयता मंसिरमा तीन तहकै निर्वाचनबारे छलफल भइरहेको छ ।

तर, संविधान र कानुनअनुसार स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन मिल्दैन । त्यसका लागि वैशाखमा चुनावका लागि मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरिसकेको छ । तर, गठबन्धन भने स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनमा बाझिएको दाबी गर्दै आएको छ । यो विषयमा विज्ञसँग छलफलमार्फत समाधान गर्ने गरिने भएको हो ।

प्रमुख प्रतिपक्ष एमालेले संघको निर्वाचन पहिले कि स्थानीय तहको निर्वाचन भनेर टिप्पणी गरेको छैन । तर स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने अडान राख्दै आएको छ । सर्वदलीय बैठकबारे जानकारी प्राप्त नभएको बताएको एमालेले शनिबार बिहान भनेको छ–‘स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको किमार्थ सहमति नहुने धारणा स्पष्ट नै छ ।’

जेठ भन्दापछि स्थानीय तह चुनाव धकल्ने प्रयास एमालेले स्वीकार नगर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077