Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • हिजो बरामद ६ हजार ७ सय किलो ‘स्पर्स हनी’ मा भेटियो क्यान्सर गराउने तत्त्व

    हिजो बरामद ६ हजार ७ सय किलो ‘स्पर्स हनी’ मा भेटियो क्यान्सर गराउने तत्त्व

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाको टोली हिजो अर्थात माघ ६ गते बिहीबार काठमाडौंको ज्याठास्थित एक घरबाट तयारी मह तथा कच्च पदार्थसहित ७ हजार ६ सय केजी नक्कली मह बरामद गर्यो । महाशाखाको टोलीले उक्त परिमाणको महसँगै अखाद्य पदार्थ मिसाएर नक्कली मह बनाएर बजारमा विक्री वितरण गर्ने मह उद्योगका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई पनि पक्राउ गर्यो ।

    इन्द्रावती गाउँपालिका–६, सिन्धुपाल्चोकका श्रेष्ठको मह उद्योगबाट प्रहरीले मह बनाउनका लागि श्रेष्ठले प्रयोग गर्दै आएका विभिन्न अखाद्य बस्तुहरु, चिनी, गुल्कोज सामान जोख्ने मेसिन, स्पर्स हनीका लेभलहरु (स्टिकर) समेत बरामद गरेको थियो ।



    उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री बितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको टोली श्रेष्ठको उद्योगमा पुग्दा चकित परेको थियो । मह उत्पादनस्थल यति फोहोर थियो कि त्यो खाद्यवस्तु उत्पादन गर्ने स्थान नभएर फोहोर सङ्कलन गरेर राखिएको स्थान जस्तो थियो । त्यतिमात्रै होइन स्वास्थ्यका लागि एकदमै राम्रो भनेर बेचिने मह उद्योगमा अखाद्य बस्तु फेला परेपछि प्रहरीलाई आएको सूचना सत्य भएको पुष्टि त्यतिबेलै भयो ।



    तरपनि प्रहरीले महको गुणस्तर जाँच गर्नका लागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बबरमहल, काठमाडौंमा पुर्याइएको थियो । विभागबाट श्रेष्ठले उत्पादन गर्दै आएको ‘स्पर्ष हनी’ गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको जवाफ आएपछि श्रेष्ठमाथि कारबाही प्रकृया थालिएको छ ।

    हुन त प्रहरीले श्रेष्ठको उद्योगमा छापा मार्नु अघि नै ‘अप्रेसन हनी’ को
    तयारी भने पहिले नै गरेको थियो । सोही अनुसार प्रहरीले केही समयअगाडि मात्रै बजारबाट किनेर ल्यायो । अनि महमा रहेको लेबल निकाल्यो र सङ्केत नम्बर राखेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठायो ।

    प्रहरीले पठाएको नमुनाको परीक्षण गर्दा स्पर्श हनी खानका लागि योग्य नै नरहेको रिपोर्ट प्रयोगशालाले दियो । स्पर्श हनीमा चिनी र ग्लुकोजको मात्रा मापदण्ड अनुसारको नभएको र उक्त मह खानका लागि योग्य नरहेको भन्दै प्रयोगशालाले रिपोर्ट दिएपछि प्रहरी श्रेष्ठको उद्योगसम्म पुगेको थियो ।

    महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी बसन्त कुँवरका अनुसार महमा हाइड्रोअक्सिमिथाइल (एचएमएफ)को मात्रा मापदण्डभन्दा झण्डै दुई गुणा बढी रहेको र फ्रुक्टोज तथा ग्लुकोजको अनुपात नमिलेको भन्दै उक्त मह खानका लागि योग्य नरहेको रिपोर्ट दिएको थियो । प्रयोगशालाको रिपोर्टमा एचएमएफको मात्रा ७८ मिलिग्राम प्रतिकेजी पाइएको थियो । जबकि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार महमा अधिकतम ४० मिलिग्राम प्रतिकेजी मात्रै हाइड्रोअक्सिमिथाइल प्रयोग गर्न पाइन्छ । ४० मिलिग्रामभन्दा कम एचएमएफ भएको मह मात्रै राम्रो र खानका लागि योग्य भएको विभागको मापदण्डमा उल्लेख छ ।

    त्यसैगरी फ्रुक्टोज र ग्लुकोजको अनुपात शून्य दशमलव ९५ भन्दा कम नभएको हुनुपर्नेमा उक्त हनीमा जम्मा शून्य दशमलव ८८ मात्रै पाइएको थियो । महमा हुनुपर्ने गुण र मात्रा नमिलेको पाइएपछि उक्त स्पर्श मह खानका लागि योग्य नभएको र विभिन्न नक्कली खाद्यपदार्थहरू मिसाएर नक्कली मह बनाएको पाइएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरी उद्योग नै सील गरेको छ ।

    प्रहरीले बरामद गरेको स्पर्श हनीमा मानव शरीरलाई क्यान्सर गराउन सक्ने तत्त्वको मात्रा बढी पाइएको छ । स्पर्श हनीमा पाइएको अत्यधिक एचएमएफको मात्राले मानव शरीरलाई गम्भीर असर पुराउन सक्ने र क्यान्सरसम्म गराउन सक्ने विभिन्न अध्ययनले देखाएको छ ।

    जब ग्लुकोज र चिनी पकाइन्छ, त्यहाँ तापको कारण केही मात्रामा हाइड्रोअक्सिमिथाइलको मात्रा बढ्न जान्छ । हाइड्रोअक्सिमिथाइलको मात्रा नबढोस् र मापदण्ड अनुसारकै होस् भन्नका लागि त्यहाँ अधिकमात्रामा माहुरीले तयार पारेको महकै प्रयोग गरिन्छ । केही मात्रामा ग्लुकोजको प्रयोग गर्न सकिने भएपनि त्यहाँ सस्तो पर्ने चिनी बढी मिसाउने र तताउने गर्दा त्यहाँ एचएमएफको मात्रा बढ्न जान्छ, जुन टक्सिन अर्थात् विष समान बन्न सक्छ ।खबढी भएको एचएमएफको मात्राले मानव शरीरलाई क्यान्सर गराउन पनि सक्छ । यसले पेट तथा आन्द्रामा असर गर्ने र क्यान्सर समेत गराउन सक्ने देखिएको छ ।

    नरेश श्रेष्ठ

    एसएसपी कुँवरका अनुसार श्रेष्ठले बिगत ७ बर्ष अगाडिदेखि आफ्नो श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्री बितरण गर्दै आएको अनुसन्धानमा खुलेको छ। साथै, नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरेर स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने गरेका थिए।

    नरेश श्रेष्ठले ज्याठामा उत्पादन गर्ने गरेको मह काठमाडौँ, भक्तपुर र पोखराका ठूला होटल तथा रेष्टुरेष्टहरुमा पुराउने गरिएको पाइएको छ । महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार नरेशले उत्पादन गर्ने गरेको स्पर्श हनी पसलहरूमा भन्दा पनि होटल तथा रेष्टुरेण्टहरुमा विक्री वितरण गर्ने गरेको पाइएको छ ।

    पक्राउ परेका श्रेष्ठलाई कालोबजारी ऐन अन्तर्गतको मुद्दा चलाउन अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसरी मानव जीवन नै सखाप पर्ने मह बेच्दै आएका स्पर्स हनी मह उद्योगका सञ्चालक श्रेष्ठको हाउभाउ हेर्दा उनलाई अझै पनि कुनै हिनताबोध भएको देखिदैन । उनी उल्टै बजारमा पाइने अधिकांश मह यस्तै भएको दावी गरिरहेका छन् । मानव स्वास्थ्यमाथि नै खेलवाड गर्ने यस्ता उद्योगीहरुमाथि हदैसम्मको कारबाही हुनुपर्ने उपभोक्ताहरुको भनाई छ । अब श्रेष्ठमाथि कस्तो कारबाही होला ? त्यो भने समयले नै बताउनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार