Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • एमसीसी बहस:

    प्रचण्ड र माधवको साथ छाड्दै देउवा, ओलीसँग गठबन्धन गर्ने तयारी

    प्रचण्ड र माधवको साथ छाड्दै देउवा, ओलीसँग गठबन्धन गर्ने तयारी

    निर्मल लामिछाने
  • सोमबार, १७ माघ २०७८
  • 7.1K
    SHARES

    काठमाडौँ । पछिल्ला दिनहरुमा अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी) सम्झौता निकै पेचिलो बन्दै गएको छ । सम्झौता पारित गराउनका लागि अमेरिकाले दिएको अन्तिम पटकको समय सीमा १ फेब्रुअरी अर्थात् भोलि सकिँदै छ।

    स्रोतका अनुसार यदी भोलिसम्म उक्त सम्झौता अनुमोदन नभए अमेरिकाले परियोजना नै फिर्ता लैजाने चेतावनी दिएको छ । तर, सरकारको नेतृत्व गरिरहेका दलका नेताहरु र प्रतिपक्षका नेताहरुबीचको असमझदारीले सम्झौता अलमलमा पुगेको छ।



    सम्झौता पारित गराएरै छाड्ने देउवाको अडान
    प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवा जसरी भए पनि एमसीसी पारित गराएरै छाड्ने पक्षमा उभिएका छन् । देउवाले सकभर यही गठबन्धनमा सहमति निकालेर एमसीसी पारित गर्ने पहल गरेका छन् ।



    तर, गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल भने यथास्थितिमा एमसीसी पारित नगर्ने पक्षमा उभिएका छन्।

    प्रधानमन्त्रीनिकट स्रोतका अनुसार यदी प्रचण्ड र माधवले एमसीसीमा पुरानै अडान कायम गरिराखेको खण्डमा देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जाने रणनीति बनाइसकेका छन्।

    यसअघि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले जसरी भए पनि एमसीसी पास गर्ने अडान राखेका थिए। उनले एमसीसी पारित नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनी समेत दिएको स्रोतको दाबी छ।

    प्रचण्ड र माधव तनाबमा
    देउवाको उक्त चेतावनीपछि प्रचण्ड र माधव तनावमा परेको बुझिएको छ । गठबन्धनलाई आगामी चुनावसम्म लैजाने प्रण गरेका प्रचण्ड र माधव देउवाको एमसीसी सम्बन्धी पासोका कारण तनावमा परेका हुन्।

    साथै, देउवाले गठबन्धन एमसीसीका पक्षमा नआए विकल्पमा जाने स्पष्ट सन्देश समेत दिइसकेका छन्। यता, गठबन्धनमा आवद्ध जसपाका नेता डा बाबुराम भट्टराई भने सुरुवात नै एमसीसीको पक्षमा उभिएका छन् । भट्टराईले त एमसीसी पारित नभए देश कंगाल बन्ने समेत टिप्पणी गरेका छन्।

    यस बिषयमा केही बेरअघि मात्रै प्रधानमन्त्री देउवाले प्रचण्डसँग यसबारे कुराकानी गरेका थिए । कुराकानीका क्रममा प्रचण्डले गठबन्धन जोगाउनुपर्ने भन्दै एमसीसीका केही बुँदा संशोधन गरेर जान आफू तयार रहेको जवाफ दिएका छन् । स्रोतका अनुसार प्रचण्ड एमसीसीको विपक्षमा छैनन् तर केही बुँदा संशोधनमा जोड दिइरहेका छन्।

    विकल्प खोज्दै देउवा
    देउवाले प्रचण्ड र माधव एमसीसीमा सहमत नभए विकल्प तयार गरिसकेका छन् । देउवाले आफ्ना विश्वासपात्र तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न बालकोट पठाएका थिए । कार्कीले ओलीसँग एमसीसीबारे छलफल गरेका थिए । छलफलमा ओलीले गठबन्धन भत्काउने सर्तमा देउवासंग मिल्ने संकेत समेत गरिसकेको स्रोतको दाबी छ।

    एमसीसीलाई टुंगोमा पुर्याउन ३ सदस्यीय कार्यदल
    यसअघि सत्ता गठबन्धनले एमसीसीबारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल समेत गठन गरेको थियो । कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।

    कार्यदलका सदस्य रहेका मन्त्री कार्की भने यसअघि एमसीसी सम्झौताका हस्ताक्षरकर्ता समेत हुन् । यस्तै, नेता खनाल यसअघि नेकपाद्वारा गठित एमसीसी सम्बन्धी कार्यदलका समेत संयोजक थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार