Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रशासनको आडमा आफ्नै कर्मचारीहरुमाथि ज्यादती गर्‍यो एनसेलले , श्रम मन्त्रालय पुग्यो मुद्दा

    प्रशासनको आडमा आफ्नै कर्मचारीहरुमाथि ज्यादती गर्‍यो एनसेलले , श्रम मन्त्रालय पुग्यो मुद्दा

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । विभिन्न योजना र प्याकेजको नाममा ग्राहकहरुमाथि नै ठगी गर्दै आएको एनसेलले आफ्ना कर्मचारीहरुमाथि पनि दुर्व्यवहार गर्दै आएको पुष्टि भएको छ ।

    एनसेल एक्जिएटा लिमिटेडमा रहेको एकमात्र आधिकारिक ट्रेड यूनियन ‘एनसेल कर्मचारी ट्रेड यूनियन’ माथि एनसेल व्यवस्थापन पक्षले प्रशासनको आडमा अनावश्यक दुःख दिएको भन्दै यूनियनले विज्ञप्ति नै जारी गरेपछि एनसेलका कर्तुतहरु विस्तार बाहिरिन थालेका हुन् ।



    टे«ड यूनियन र व्यवस्थापन पक्षबीच सम्झौता हुन नसकेपछि विगत लामा समयदेखि एनसेलमा कार्यरत अधिकांश कर्मचारीहरुले आन्दोलन गर्दै आइरेका छन् । दुई पक्षबीच सम्झौता हुन नसकेपछि उक्त मुद्द अहिले श्रम कार्यालय हुँदै श्रम मन्त्रालयसम्म पुगेको छ ।



    २०७७ साल चैत २३ गते एनसेल कर्मचारी ट्रेड यूनियन र एनसेल व्यवस्थापन पक्षबीच भएको सामूहिक सौदाबाजीका लागि कर्मचारीहरुबाट संकलन गरिएका जायज मागहरु हालसम्म पूरा नभएको भन्दै कर्मचारीहरु आन्दोलित बनेका हुन् ।

    तर, एनसेल व्यवस्थापन पक्षले भने कर्मचारीका जायज माग पूरा गर्नुको साटो प्रहरी बोलाएर कर्मचारीहरुमाथि दबाब श्रृजना गरेको यूनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    एनसेल कर्मचारी ट्रेड यूनियनका अध्यक्ष सुकान्त अधिकारी र महासचिव विजयराज महतले हस्ताक्षर गरेको विज्ञप्तिमा एनसेल प्रशासनले सम्झौताका लागि भन्दै आफूहरुलाई कार्यालयमा बोलाएर प्रहरी प्रशासन लगाई कर्मचारीहरुलाई दबाबमा राख्ने काम गरेको उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ–पटिल्लो पटक हिजो मित २०७८ माघ २१ गतेका दिन सामूहिक सौदाबाजी वार्ता गर्न भनी कर्मचारीलाई कार्यालयमा बोलाइएको र सो सँगसँगै प्रहरी प्रशासन पनि बोलाई कर्मचारीलाई दबाबमा राख्ने काम गरियो । पछिल्लो वार्ता पनि विफल उन्मुख भएको सन्दर्भमा कार्यालय समय पश्चात कर्मचारीहरु कार्यालय परिस भित्र शान्तिपूर्ण धर्नाको अवस्थामा रहेका बेला प्रहरी प्रशासनलाई कार्यालय परिसर भित्र बोलाई कर्मचारीहरुमाथि बलपूर्वक धकेलाधकेलको अवस्था सृजना गरेको कार्य अत्यन्त निन्दनीय र खेदपूर्ण छ ।’

    यूनियनका अनुसार एनसेल व्यवस्थापन पक्षले सामूहिक सौदाबाजीमा भए गरेका सहमति विपरित कर्मचारीहरुलाई निष्कासन गर्ने, डेभलपमेन्ट पोष्टिङका नाममा अनाधिकृत रुपमा सरुवा गर्ने तथा व्यवस्थापनको उपल्लो दर्जामा रहेका कर्मचारीहरुले मातहतका कर्मचारी यूनियनमा आवद्ध नहुन र यूनियनका गतिविधि तथा कार्यक्रमहरुमा उपस्थित नजनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दबाब दिने र भयको वातावरण सृजना गर्ने कार्य गर्दै आएको छ ।

    सरकारलाई ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर बुझाउन आनाकानी गर्दै आएको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सर्वसाधारण उपभोक्ताको जानकारी विना अनधिकृत रूपमा एप्स चलाएर पनि अर्बौं ठगी गरेको रहस्य यसअघि नै खुलिसकेको छ । एनसेलले दुई वटा एप्स चलाउँदा एक अर्ब भन्दा बढी ठगी गरेको पाइएपछि नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही स्वरुप १ अर्ब ११ करोड रुपैयाँ सर्वसाधारणलाई फिर्ता गर्न निर्देशन दिएको थियो ।

    एनसेल आजियाटा लिमिटेडले सञ्चालन गरेको गेमलोफ्ट र हुवाये एप ग्यालरी नामका भ्यालु एडेड सर्भिस स्वचालित रिन्यु गरी सर्वसाधारणको रकम उनीहरूको स्वीकृति विना अनधिकृत रूपमा कटाएपछि प्राधिकरणले २०७८ असार १७ गते एनसेललाई स्पष्टीकरण सोधेको थियो। एनसेलले २०७८ असार ३१ गते प्राधिकरणमा बुझाएको स्पष्टीकरण पनि चित्तबुझ्दो नपाइएपछि प्राधिकरणका बोर्ड बैठकले एनसेल आजियाटालाई सर्वसाधरणको १ अर्ब ११ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको थियो । यद्यपी अहिले एनसेलले ९० वटा एप्स तथा गेमहरू सञ्चालन गर्दै आएको स्रोतको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार