Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एमाले महासचिव पोखरेलको १२ बुँदे स्टाटस- प्रचण्ड र माधव चरम अवसरवादी भएको पुष्टि

    एमाले महासचिव पोखरेलको १२ बुँदे स्टाटस- प्रचण्ड र माधव चरम अवसरवादी भएको पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 975
    SHARES

    चितवन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चरम अवसरवादी पुष्टि भएको आरोप लगाएका छन् ।

    महासचिव पोखरेलले आइतबार सामाजिक सञ्जालमा १२ बुंदे लामो स्टाटस लेख्दै तत्कालिन नेकपाका बेला पार्टीभित्र विभिन्न विषय उठाएर पार्टी विभाजनकारी भूमिका खेलेको समेत उल्लेख गरेका छन् ।



    यसअघि आज बिहान बसेको माओवादी केन्द्रको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि महासचिव पोखरेलले सामाजिक संजालमार्फत यस्तो आरोप लगाएका हुन् ।



    तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालमा प्रचण्ड र माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा जे-जे विषय उठाएका थिए समयक्रममा ती सबै विषय छोडेर आफूलाई चरम अवसरवादी भएको प्रमाणित भएको पोखरेलको जिकिर छ।

     यस्तो छ पोखरेलको स्टाटस:

    नेकपा कालमा प्रचण्ड र माधव नेपालले अध्यक्ष कमरेड केपी शर्मा ओलीका विरुद्धमा जे जे विषय उठाएर विग्रह सिर्जनागरी पार्टी विभाजनमा भूमिका खेले समयक्रममा ती सबै विषय छोडेर आफुलाई चरम अवसरवादी भएको प्रमाणित गरे । तर पनि प्रचण्ड र माधव नेपालको साथमा रहनेहरु अझै अध्यक्ष ओलीलाई नै समस्या मान्दैछन् । यी तथ्यहरुले अव त सत्यसंग लड्न सकिदैन र हुदैन भन्ने चेतना उनीहरुमा समेत आउनु पर्ने हो ।
    १. जनादेश खण्डित भएको अवस्थामा जनतामा जानेकुरालाई प्रतिगमन भन्ने प्रचण्ड र माधव नेपालले स्थानिय चुनाव अगावै वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्ताव राखे । तर उनीहरुको प्रस्ताव एमाले र नेकां दुबैले अस्विकार गरे । पाँच वर्ष नपुग्दै चुनाव गर्नु गलत भए स्थानिय चुनाव रोक्नेगरी वैशाखमै प्रतिनिधिसभाको चुनावगर्ने प्रचण्ड प्रस्ताव पनि त गलत हुन्थ्यो होला नि ?
    २. केपी ओली प्रधानमन्त्री हुदा ४० प्रतिसत संसदीय दलका सदस्य भए दल विभाजन गर्न पाउनेगरी ल्याएको अध्यादेशको विरोध गरे । नेकां समेतको विरोध भएपछि अध्यादेश फिर्ता गरियो । तर पछि २० प्रतिसतले नै दल विभाजन गर्न पाउनेगरी अध्यादेश जारी गरे । एमाले पार्टीको विभाजनसंगै उक्त अध्यादेश फिर्ता लिए ।
    ३. पार्टी एकताका लागि प्रम र पार्टी अध्यक्ष मध्ये एक पद छोड्नु पर्ने माग सहित एक व्यक्ति एक पदको कुरा गरे । तर पार्टी विभाजन पछि प्रचण्ड र माधव नेपाल दुवै आफैले अघि सारेको मान्यता विपरित पार्टी र दल दुबैको एकसाथ नेता वन्न पुगे ।
    ४. नेकपा कालमा सभामुख मार्फत संसदमा एमसीसी टेवल गर्नमा रोक लगाए । तर नेकांले दवाव दिने वित्तिकै सभामुख मार्फत संसदमा टेवल गर्न लगाए ।
    ५. एमसीसी मार्फत सहायता पाउनका लागि आफु सरकारमा रहदा पत्राचार गरे । सरकारमै रहेका वेलामा संझौता समेत गरे । तर एमसीसी राष्ट्रघाती संझौता हो भन्दै कार्यदल बनाउने देखि सडक आन्दोलन गर्नेसम्मको रमिता देखाए । तर अहिले सत्तावाट वाहिरिने त्रास वढेपछि एमसीसी पास गर्न तयार भए ।
    ६. नेकपा गठनपछि आफैले छोडेको र पार्टीले अस्विकार गरेको आलोपालोको कुरा गरेर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्ने अनुचित काममा लागे । तर पछि सरकारमा आफ्नो नेतृत्वको दावी छोडेर संसदमा आफ्नो हाराहारीमा रहेको नेकांको नेतृत्वको सरकारमा निशर्त सहभागि भए ।
    ७.नेकपा कालमा सबै सूचकहरुले सरकारको काम राम्रो रहेको देखिदा देखिदै पनि सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएर नेतृत्वको विरोध गरे । तर अहिलेको गठवन्धन सरकारले अर्थतन्त्र नै तहसनहस बनाउदा पनि चुप लागेर सरकारको प्रतिरक्षा गरिरहेका छन् ।
    ८. माधव नेपालले सदैव आफुलाई विधि र पद्धतीको पक्षमा रहेको दावी गरे । तर अन्तमा नेपालको संसदीय इतिहासमा सबैभन्दा धेरै विधि र पद्धती उलंघन गर्ने नेताका रुपमा आफुलाई प्रस्तुत गरे ।
    ९. अदालतमा सेटिङको आरोप केपी शर्मा ओली माथि लगाउने काम गरे । तर अदालतमा चलिरहेको आन्दोलनका क्रममा परमादेशी सरकार नै सेटिङवाट निर्माण भएको पुष्टिहुन पुग्यो । अनि अदालतमा विचाराधिन मुद्दा र स्थानिय निर्वाचन सार्नका लागि प्रधान न्यायाधिस माथि महाभियोग लगाउने काम गरे ।निर्वाचन रोक्ने उद्देश्यले मुद्दा दर्ता गर्न लगाए ।
    १०. नेकपाको रक्षा आफ्नो नेतृत्वमा मात्र सम्भव हुने कुरा गरे । एकताको मर्म र भावना विपरित महाधिवेशनको सम्प्रभुतालाई समेत कुल्चदै केपी शर्मा ओलीलाई अध्यक्ष, दलको नेता र पार्टीको साधारण सदस्यवाट समेत हटाए । तर अदालतमा नेकपाको नाममा विचाराधिन मुद्दामा ऋषि कट्टेलका पक्षमा फैसला भएपछि एकताको कुरा गर्न नै छोडे । यतिवेला माधव नेपाल र प्रचण्ड दुवै अलग अलग पार्टीको मुखिया वन्न पुगेका छन्।
    ११. हिजो नेकपा भएको समयमा केपी ओलीको नेतृत्वमा रहेर चुनावमा जानै नसकिने अवस्था छ भनेर भ्रम सिर्जना गरे । तर आज केपी ओलीको नेतृत्वको पार्टीलाई हराउन पाँच दलिय गठवन्धन अपरिहार्य रहेको वताउन थालेका छन् ।चुनवामा जान खुट्टा कमाइ रहेका छन् ।
    १२. नेकपा भंग भएपछि नेकपा(एमाले)संग कुनै प्रकारको सहकार्य गर्न सकिदैन भन्दै घृणाको राजनीति गरे । जव एमसीसी प्रकरणमा नेकांले सरकारवाट हटाउने कुरा गर्न थाल्यो तव नेकपा(एमाले)संग वामपंथी सहकार्यको प्रस्ताव राख्न पुगे ।
    यी तथ्यहरुले विगतमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लगाइएका सबै आरोपहरु कुण्ठाग्रस्त मानसिकताका उपज थिए । अनि उनीहरु दुवैवाट संचालित अभियानहरु सत्ता स्वार्थवाट प्रेरित दक्षिणपंथी अवसरवादमा आधारित अभियान थिए भन्ने पुष्टि हुदै गएको छ ।
    यस्तो अवस्थामा प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरुले नयाँ ढंगले सोच्ने वेला भएन र ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार