Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • काठमाडौंमा मिटरव्याजको धन्दा फस्टाउँदै , केरकारको नाम लिँदै असुली धन्दा

    काठमाडौंमा मिटरव्याजको धन्दा फस्टाउँदै , केरकारको नाम लिँदै असुली धन्दा

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । काठमाडौंमा प्रहरी कमजोर हुँदा मिटरव्याजको धन्दा फस्टाउन थालेको छ। केही पुराना गुण्डा नाइके र केही दोहोरी संचालकले जुवालगायत बिभिन्न आबरणमा मिटरव्याजमा लगानी गरी असुली धन्दा चलाइरहेका छन्।

    क्यासिनोमा हारेकाहरुलाई एक लाखको दिनको १ हजार रुपैयाँसम्म ब्याज लिनेगरी मिटरब्याजमा पैसा लगानी गरेर ललितपुरका महेश सिंह, काभ्रेका बीरेन्द्रलाल श्रेष्ठ, , राजन भुजेल, अरुण सेढाईहरु रातारात करोडौं हुँदै अरबपति भए ।



    महेश सिंहले कन्चटमा पेस्तोल तेस्र्याएर चेकमा रकम लेख्न लगाउँथे । उनलाई रमेश खरेलले काठमाडौंको एसएसपी छँदा पक्राउ गरी धन्दा नै बन्द गराएका थिए। सिंहले १ करोडको ३ बर्षमा ५ करोड असुली गर्दा पनि सावाँ नदिएको भन्दै धम्की दिएपछि अरबिट इन्टरनेशनल इन्ष्टिच्यूट संचालन गर्दैआएका उद्धव केसी नेपालबाटै पलायन भई जापानमा बस्दैआएका छन् । मिटरब्याजका डन  वीरेन्द्रलाल श्रेष्ठ र महेशबहादुर सिंहहरुले काठमाडौंमा धेरै नागरिकलाई २० लाख दिएर करोडका घर हडपेका थिए ।



    त्यस्तै, राजनकुमार भुजेल पनि मिटरब्याजमा लगानी गर्नेभित्र पर्दछन् । निर्माण ब्यवसायी शरद गौचनको हत्यामा जेल संजाय भुक्तान गरिरहेका गुण्डा नाइके समीरमान बस्नेतको समूहमा काम गर्थे । समीरमान पक्राउपछि पनि उनी गुण्डागर्दी र मिटरब्याजको कारोबारमा संलग्न छन् ।

    मिटरब्याजमा लगानी गर्ने यिनीहरुले प्रहरी अधिकृतहरुको पैसा चलाउने गरेका छन् । प्रहरी अधिकृतको पैसा चलाउँदा डुब्ने संभावना कम भएकाले पनि उनीहरु कुनै न कुनै रुपमा प्रहरीसँग जोडिने गरेका छन् ।

    अर्का नाइके अरुण सेढाई गाडी चोरी तथा मिटरब्याजी गिरोहका नाइके हुन् । उनी गाडी चोरी गरी कीर्ते ब्लुबुक समेत बनाएको अभियोगमा अदालतबाट संजाय भोगिसकेका हुन् । २०६३ कात्तिक २० मा उनलाई कीर्ते ब्लुबुक बनाएर चोरीको गाडी बिक्री गर्ने गरेको आरोपमा कसुरदार ठहर गरेको थियो । मिटरब्याजको अवैध धन्दा रोक्नुपर्ने प्रहरीका उच्च अधिकारीहरु नै त्यसका संरक्षक बन्दैआएका छन् ।

    जुवा मार्फत मिटरब्याजमा पैसा लगाउनेमा थपिएका पात्र हुन, राजु अवाले र अशोक गिरी ।

    जमलस्थित दरबार रोधी घरका सञ्चालक अशोक गिरी पनि जुवाडेलाई मिटरब्याजमा लगाउने धन्दामा सक्रिय रहँदै आएका छन् । दरबार रोधी घरको माथिल्लो तल्लामा मदिरा सेवन गराई जुवा खेलाएर चेक काटेकै भरमा उनले अबैध सम्पत्ति आर्जन गर्दै आएको एक पीडितले वताए ।

    पैसावाला जग्गा ब्यापारी र जुवाडेलाई निमन्त्रण दिएर खेल्न बोलाउने र मदिरामा लठ्ठ बनाएर आफैले चेकमा रकम उल्लेख गरी मिटब्याजमा रकम असुल्ने उनको धन्दा नै रहेको ती व्यक्त्तिले वताए।

    केही मिटरब्याज पीडित र जुवाडेले गिरीविरुद्ध प्रहरीमा उजुरी दिन लागेपछि उनको यो धन्दा बाहिर आएको हो।

    गिरीले पीडित बनाएका एक व्यक्तिले भने, ‘जुवामा खेलेको तेब्बर पैसा दिइसके। तर, कहिले केरकारको नाम लिएर गिरीको कार्यालयबाट फोन आउँछ त कहिले चेक बाउन्स गर्दिन्छु, केस हाल्ल्छु  भन्दै अशोक गिरीले धम्की दिने गरेको छ।’

    गिरीले भने प्रहरी कारवाही र मिटरव्याजको धन्दाबाट बच्न जग्गामा पैसा लगानी गरेको नाटक मन्चन गर्दै आएका छन् । तर, उनले जग्गामा लगानी गरेको कुनै कागज र तमसुक देखाउन सकेका छैनन। गिरीले परिसरका तत्कालिन एसएसपी अशोक सिंहको नाम बेच्दै मिटरव्याजमा रकम दिएकाहरुलाई धम्क्याउने गरेको एक पीडितले बताए ।

    एसएसपी  सिंहले भने अशोक गिरीसँग आफ्नो कुनै सम्बन्ध नरहेको अनलाइन नेपालसँग वताए। केही समय अघि स्वयम्भु र बौद्दमा प्रक्राउ परेका जुवाडेहरुमध्ये गिरी पनि एक थिए ।

    अहिले गिरी केरकारदेखि एसएसपी सुदिप गिरीको नाम बेच्न पनि पछि नपरेको उनले नै तनाब दिएका एक जुवाडेले वताए। गिरीले धादिङका रमेश धमला ,जुवाडे राजु लामा र आफ्नो नाममा चेक काट्न लगाएर असुली धन्दा चलाउँदै आएका छन्। कांग्रेस निकट धमला पनि स्वयम्भुको जुवा खालबाट पक्राउ परेका थिए। धमला र गिरीबीच मिटरव्याजमा कारोबार हुने गरेको एउटै व्यक्तिबाट उनीहरुले लिएको चेकबाट पनि पुष्टि हुन्छ।

    काठमाडौँ–३२ कोटेश्वर स्थायी घर भइ ललितपुर बस्दै आएका अर्का मिटरब्याजी अवाले प्रहरी अधिकृतहरुको पैसा ‘मिटर ब्याज’मा लगाइदिने र पैसा नउठेपछि तिनै प्रहरीको शक्ति प्रयोग गरेर असुल्ने काम गरेर करोडौंपति भइसकेका छन् ।

    अवालेले कोटेश्वर र पाटनमा दुईवटा रेष्टुरेन्ट सञ्चालन गरेका छन् । त्यही रेष्टुरेन्टमा बसेर उनले ‘मिटर ब्याज’को धन्दा चलाउने गरेका छन् । अवालेले आफैँ र प्रहरी अधिकारी प्रयोग गरेर ‘मिटर ब्याज’को पैसा असुल्न थालेपछि पीडितहरु गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयसम्म गुनासो बोकेर पुगेका छन् ।

    अवालेले पनि प्रहरीका उच्च अधिकारीहरुको नाम बेच्ने गरेका छन्। त्यसो त अवालेविरुद्ध विभिन्न मुद्दा पनि प्रहरीमा छन् । गएको भदौ ५ गते यौन व्यवसाय चलाएको आरोपमा अवाले पक्राउ परेका थिए ।

    उनीसहित ९ जनाविरुद्ध १७ भदौमा ललितपुर प्रहरीले अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा हालेको छ ।अहिले मिटरव्याजमा पैसा लगानी गरी केही पुराना गुण्डा नाइके र दोहोरी संचालकले असुली धन्दा चलाएको जानकारी पाएपछि अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले कारवाही अभियान शुरु गर्न लागेको प्रहरी स्रोतको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार