Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • टिप्पणी

    आफ्नै देशको रेल उद्घाटन गर्न भारतमा ?

    आफ्नै देशको रेल उद्घाटन गर्न भारतमा ?

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साथमा जनकपुर–जयनगर रेलको उद्घाटन गर्ने भएका छन् । तीन दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको हैदरावाद हाउसबाट भर्चुअलरुपमा संयुक्त उद्घाटन गरेसँगै जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने भएको हो ।

    यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले रेल सञ्चालनको निकै प्रयास गरेको थियो । विभिन्न कारण संचालनमा आउन नसकेको उक्त रेल आजदेखि सुरु हुन लागेको हो । करिब डेढ वर्षअघि भारतबाट करिब १ अर्ब खर्च गरेर ल्याइएको रेल सञ्चालनमा आउन लागेको हो ।



    नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको छ । दैनिक दुईपटक रेल जयनगरबाट कुर्थासम्म सञ्चालन हुनेछ ।



    रेलको उद्घाटनपछि जनकपुरधामबाट कुर्था जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा १ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । सन् २०१४ देखि बन्द रहेको नेपालको एक मात्र रेलमार्ग पुनः सुरु गर्न लागिएको हो ।

    निर्वाचनको मुखैमा भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री देउवामाथि विभिन्न आरोपहरु लागिसकेका छन् । तीनवटा परम्परा तोडेर भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री देउवाले आफ्नै देशमा सञ्चालनमा आउन लागेको रेलको उद्घाटन समेत भारतबाट नै गर्न लागेका हुन् ।

    प्रधानमन्त्री देउवाले तोडेको पहिलो परम्परा हो– भ्रमण जानुअघि पूर्वप्रधानमन्त्रीहरुसँग गरिने छलफल ।

    यसभन्दा अघि देशका प्रभानमन्त्रीले अन्य देशको भ्रमण गर्नुअघि पूर्वप्रधानमन्त्रीहरुसँग सामूहिक छलफल गर्ने अभ्यास रहेको थियो । छलफलमा पूर्वप्रधानमन्त्रीहरुले भ्रमणलाई कसरी सफल बनाउने भन्ने बारेमा राय सुझाव दिने गर्थे । तर यसपटक भने प्रधानमन्त्री देउवाले यस्तो छलफल गरेनन् ।

    त्यसैगरी प्रधानमन्त्री देउवाले तोडेको अर्को परम्परा हो – भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा जानु ।

    यसअघिका भ्रमणहरुमा नेपालका प्रधानमन्त्रीले भारतको कुनै दलको पार्टी कार्यालय जाने गरेका थिएनन् । यो कूटनीतिक मर्यादा विपरित भएको भन्दै चौतर्फी आलोचना शुरु भइसकेको छ । देशको प्रतिनिधित्व गरेर जाने प्रधानमन्त्रीले एउटा पार्टीको कार्यालय भ्रमण गर्ने कार्यक्रम राख्दा भारतका अन्य राजनीतिक दलमा राम्रो सन्देश नजाने विज्ञहरुको तर्क छ ।

    त्यस्तै भारत भ्रमणकै लागि प्रधानमन्त्री देउवाले तोडेको अर्को परम्परा हो– नेपाली सेनाले टुँडिखेलमा आयोजना गर्ने घोडेजात्रा कार्यक्रम सहभागिता नजनाउनु।

    प्रत्येक वर्ष सेनाले घोडेजात्राको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्छ । उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री उपस्थित भई अवलोकन गर्ने परम्परा वर्षौदेखि रहिआएको छ । तर यसपटक प्रधानमन्त्री देउवा उक्त कार्यक्रममा सहभागी भएनन् ।

    यसरी तीनवटा परम्परा तोडेर स्थानीय तहको निर्वाचनको मुखैमा छिमेकी देश भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री देउवाको भ्रमणप्रति प्रमुख प्रतिपक्षी दलले प्रश्न उठाइसकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मुखैमा प्रधानमन्त्री किन भारत भ्रमणमा जानु भएछ, आएपछि सोध्नुपर्ला भन्दै प्रश्न गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार