Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कारवाहीमा परेका एसएसपीले नै एक नम्वर डिआईजी बन्न ‘पावर’ लगाएपछि आईजीपी तनाबमा !

    कारवाहीमा परेका एसएसपीले नै एक नम्वर डिआईजी बन्न ‘पावर’ लगाएपछि आईजीपी तनाबमा !

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका तीन जना डीआईजीको एआईजीमा बढुवा भएसँगै रिक्त डिआईजी पदमा बढुवा हुन एसएसपीहरुले अस्वभाविक सक्रियता देखाएका छन्। केही दिन अघि मात्र वसन्त पन्त, धिरज प्रताप सिंह र रवीन्द्र धानुकले एआईजीको फूली लगाएर कार्यभार शुरु गरिसकेका छन्।

    रिक्त तीन डिआईजी पदका लागि सिनियर एसएसपी हुँदा हुँदै जुनियर र कारवाहीको सिफारिसमा परेकाहरुले चलखेल बढाएपछि प्रहरी प्रधान कार्यालयदेखि गृहमन्त्रायसम्म हलचल मच्चिएको छ । निर्वाचन आचारसँहिता लागू हुन केही समय बाँकी रहेको बेला कारवाहीको सिफारिसमा परेका केही एसएसपीले  डिआईजी बढुवामा सबैभन्दा अगाडि आउन चलखेल गरेपछि प्रहरी महानिरीक्षक (आईजीपी ) शैलेश थापा क्षेत्री तनाबमा परेको स्रोतको दाबी छ।



    स्रोतका अनुसार प्रधानमन्त्री शेरवहादुर देउवाकी पत्नी आरजु राणाका भाई भूषण राणादेखि देउवाका पिए भानु देउवासम्मले  कारवाहीको सिफारिसमा परेका सबैभन्दा जुनियर एसएसपी अशोक सिंहलाई बढुवामा एक नम्वरमा राख्न गृह मन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयसम्म दबाब दिएका छन्।



    आचरण बिपरित काम गरेको खुलेपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति गठन गरी एसएसपी सिंहमाथि कारवाहीको सिफारिस गरिसकेको छ। गृहले निर्णय गर्न बाँकी छ । २०७७ वैशाखमा एसएसपीमा बढुवा भएका सिंह दुई वर्ष अघि एसएसपीमा बढुवा भएकाहरुलाई पछि पार्दै सिंह  डिआईजी बन्न खोजिरहेका छन् ।

    आईजीपी शैलेश थापा क्षेत्रीसँगै २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएकाहरु अझै पनि एसएसपी नै रहेको अवस्थामा सिंह जस्ता कारवाहीमा परेकाहरु बढुवामा हावी हुने देखिएको छ। । क्षेत्रीसँगै भर्ना भएकाहरु राजेन्द्रप्रसाद चौधरी, प्रदीपकुमार श्रेष्ठ र नवराज भट्ट तथा आईजीपीको ब्याचमेट भन्दा पछाडि २०४९ चैत ११ मा भर्ना भएका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, मसउद आलम खाँ पनि बढुवाको लविङमा छन् ।

    २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भएका अधिकृतहरु सन्दिप भण्डारी, टेकप्रसाद राई, श्याम ज्ञवाली, उमेशराज जोशी, रामदत्त जोशी, किरण बज्राचार्य, वसन्तबहादुर कुँवर, मीरा चौधरी थारु, बुद्धिराज गुरुङ, दीपक थापा, पोषराज पोखरेल र टेकबहादुर तामाङ पनि डिआईजी बन्न लविङमा छन् ।

    अहिले वढुवा भएको खण्डमा आगामी १२ महिनापछि आईजीपीमा प्रतिस्पर्धा गर्न सहज हुने भएका कारण यो व्याचबाट सर्वाधिक चलखेल बढेको हो।

    महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बेवारिसे शव व्यवस्थापनमा निकासा भएको सरकारी पैसा हिनामिना गरेको आरोप लागेकी एसएसपी किरण बज्राचार्य पनि डिआईजी बन्न दौडधुप गरिरहेकी छन् । किरणविरुद्ध परेको उजुरी अहिलेपनि अख्तियारमा विचाराधिन छ ।

    त्यस्तै, डलर तस्करीमा पक्राउ परेका सुवास श्रेष्ठजस्ता खराब व्यक्तिसँग संगत रहेका सन्दिप भण्डारी , चेन अफ कमाण्डमा कमजोर मानिएका पोषराज पोखरेल र टेकबहादुर तामाङ पनि लविङमा छन् ।

    त्यस्तै, एसएसपी वसन्तबहादुर कुँवर र दीपक थापा पनि गृहदेखि बालुवाटारसम्म अस्वभाविक रुपमा  लबिङ गरिरहेका छन्। एमाले उपाध्यक्ष बिष्णु पौडेल निकट एसएसपी श्याम ज्ञवाली पनि बुटवलका काँग्रेस नेतामार्फत गृहमन्त्री बालकृष्ण खाँडलाई दबाब दिन थालेका छन् ।

    टेकप्रसाद राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको सोर्सफोर्समा डिआईजी हुने आशमा छन् । उमेशराज जोशी र रामदत्त जोशी भने सुदूरपश्चिमका भएकाले  ढुक्क छन् । रामदत्त जोशीले बालुवाटारबाटै शक्ति लगाएर अशोक सिंहलाई काउन्टर दिएका छन् ।

    त्यसैगरी, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भित्रिया भनेर चिनिएका भिम ढकाल सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत बढुवाका लागि चलखेल गरिरहेका छन् ।

    प्रहरीको सरुवा र बढुवामा अबकाशको मुखमा रहेका आईजीपी शैलेश थापा क्षेत्री निरीह मात्र बन्दै आएका छन् ।

    गृह स्रोतका अनुसार आँफैले कारवाही लेखेर पठाएका अशोक सिंहलाई बढुवा गर्नुपर्ने दबाब आइरहे आईजीपी क्षेत्री बिदामा बस्छु भन्दै हिँडेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार