Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रावल र भुसाललाई ओलीको निर्देशन– भुलचुकले पनि प्रतिनिधिसभा विघटनलाई गलत नभन्नू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई प्रतिनिधिसभा विघटनलाई गलत नभन्न आग्रह गरेका छन् । आफूलाई थुन्ने सम्मको योजना बनेपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउँदै ओलीले भुलचुकले पनि प्रतिनिधिसभा विघटनलाई गलत नभन्न निर्देशन दिएका हुन् ।

केन्द्रीय सल्लाहकार परिषदको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओललीले प्रतिनिधिसभा विघटन जायज भएको दावी गरे । उनले भने–‘केही साथीहरू मौका पाउनासाथ प्रतिनिधिसभा विघटन गलतै थियो भन्ने गर्नुभएको छ । यस्ता खालका गलत कुरा सल्लाहकार परिषद्का कोही पनि कमरेडले भूलचुकले पनि नबोल्न आग्रह छ । विघटन बिल्कुल जायज थियो, त्यही कारण आज एमाले यहाँ छ ।’

आफूलाई फौजदारी अभियोग लगाएर थुन्ने योजनासहित प्रचण्डले १९ बुँदे राजनीतिक प्रतिवेदन ल्याएको दावी गर्दै ओलीले भने–‘फौजदारी अभियोग पार्टीले लगाएर, पार्टीको स्थायी कमिटीले पास गरेर, केन्द्रीय कमिटीले पास गरेर अगाडि बढेपछि मुद्धा चलाएर थुन्दा त त्यो त दुनियाँलाई हो जस्तो हुने भयो नि ।’

ओलीले एमाले र माओवादी केन्द्रबीचको एकता आफ्नो चाहनामा भएको दाबी गरे । उनले भने–‘कम्युनिस्टहरुको एकता एकीकरण कुनै बाध्यता थिएन । तर, मेरो च्वाइस थियो । धेरै कोशिस गरेँ मैले एकता जोगाउनलाई तर, सम्भव भएन ।’

अल्पमतमा परेर पनि कम्युनिस्ट एकताका लागि आफूले पहल गरेको जिकिर गर्दै ओलीले भने–‘आफू एक तिहाइ भन्दा कम हुने कुरा बुझ्दा बुझ्दै मैले एकता एकीकरणको काम अगाडि बढाएँ । तर, एकतापछि नै षड्यन्त्र सुरु भयो ।’

आफूलाई थुन्नेसम्मको षडयन्त्र चिर्दै पार्टी र संगठन जोगाउन प्रतिनिधिसभा विघटन गर्नुपरेको उनको भनाई थियो । उनले भने–‘एमाले र माओवादीको एकता वस्तुतः कायम रहेन । त्यसलाई कायम राख्ने हो भने फेरि जनतामा गएर जनादेश लिएर आउनुपर्यो भनेर प्रतिनिधिसभा विघटन गरेँ । त्यो लोकतान्त्रिक नै थियो ।’

स्थानीय तहको निर्वाचनमा एमाले एकातिर र पाँच दल अर्कोतिर भएपनि चुनौती स्वीकार्न एमाले तयार रहेको बताए । उनले भने–‘एमाले एकातिर, गठबन्धन अर्कोतिर छ । हाम्रा अगाडि चुनौतीहरु छन् । व्यवधानहरु पैदा गर्न खोजिएको छ । र ती चुनौतीहरुको मुकाविला गर्न तयार छौं ।’

एमालेका नेता भीम रावल, घनश्याम भुसालहरुले प्रतिनिधिसभा विघटन गलत भएको सार्वजनिक रुपमै बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077