Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गठबन्धनले योजनाबद्ध रुपमा धाँधली गर्यो भन्नु एमालेको गैरजिम्मेवारीपनको पराकाष्ठा : कांग्रेस

    गठबन्धनले योजनाबद्ध रुपमा धाँधली गर्यो भन्नु एमालेको गैरजिम्मेवारीपनको पराकाष्ठा : कांग्रेस

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको मतपरिणाम आउन थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अत्तालिएको बताएको छ।

    कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘निर्वाचनमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले नेकपा एमाले अत्तालिएको हामीले पाएका छौं ।’



    मतपरिणामलाई कांग्रेसले स्वभाविक मानिरहेको बताउँदै उनले भनेका छन्–‘विश्वासको जगमा सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको छ, यसलाई हामीले स्वभाविक मानेका छौं ।’



    निर्वाचन परिणाम आफ्नो पक्षमा नआएपछि एमालेले निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्ध रुपमा धाँधली गरेको भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको कांग्रेसले बताएको छ।

    निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको गरेको र त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका नभएको महतले दाबी गरेका छन्।

    एमालेले निर्वाचन प्रक्रियालगायतमा प्रश्न उठाउँदै आइतबार विज्ञप्ति जारी गरेको थियो।

    एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले जसरी पनि जित्न धाँधलीको साहार लिएको आरोप लगाइएको थियो ।

    सत्ता गठबन्धनले लोकतन्त्रको खिल्ली उडाउँदै गरेकोप्रति खेद समेत व्यक्त गरेको जनाएको एमालेले निर्वाचनमा गृह प्रशासन गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भएको आरोपसमेत लगाएको थियो ।

    मतगणनाको सयममासमेत गठबन्धनले योजनाबद्ध धाँधली गरेको एमालेको आरोप छ। सत्ता गठबन्धनले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको समेत एमालेले आरोप लगाएको छ । नेकपा एमालेले निर्वाचन शुरु हुनु भन्दा अगाडि, मतदानको समयमा र मतगणनाको समयमा गठबन्धनले गरेका कार्यहरुप्रति खेद ब्यक्त गर्दै बक्तब्य जारी गरेको उल्लेख गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार