Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • ८२ करोडको आयोजनामा मन्त्री झाँक्री र सचिव सिंहलाई २० करोड भागवण्डा !

    ८२ करोडको आयोजनामा मन्त्री झाँक्री र सचिव सिंहलाई २० करोड भागवण्डा !

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 4.7K
    SHARES

    काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका आयोजनामा दसौं करोडौं रुपैयाँ अनियमितता गरिएको बिषय संसदमा समेत उठेको छ ।

    सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत विश्वबैंकको सहयोग रहेको एनयुजीआइपी–युडीएसटी (NUGIP/UDST) आयोजनाको परामर्शदाता छनोटमा करोडांैं घोटाला भएको हो । कुनै पनि परीक्षामा पहिल्यै प्रश्नपत्र आउट गरेपछि त्यो परीक्षा रद्द हुन्छ । तर एनयुजीआइपी–युडीएसटीको मूल्यांकनको गोप्य क्राइटेरिया पहिले नै इआरएमसी–उदय कन्सलटेन्सीलाई दिएको रहस्य खुलिसक्दा पनि टेण्डर रद्द नगरी सट्याकसुटुक दिइसकिएको छ ।



    एनयुजीआइपी–युडीएसटी आयोजनाका प्रमुख रविन्द्र बोहराले गोप्य रहनुपर्ने प्राविधिक मूल्यांकनको प्रपोजल मूल्यांकनअघि नै सेटिङ भएको इआरएमसी–उदय कन्सलटेन्सीलाई दिएको र सोही कन्सलटेन्सी नै परामर्शदाता छनोट भएको छ । यस्तो नांगो भ्रष्टाचार सहरी विकासको ८२ करोड रुपैयाँको कन्सलटेन्सी छनोटमा भएको छ ।



    पीएमएसटी र युडीएसटी दवै आयोजनाको परामर्शदाता छानिनुअघि नै करोडौं रकम लिइसकेको बुझिन आएको छ । आयोजना प्रमुख रविन्द्र वोहराले मुखै खोलेर इआरएमसीले बाहेक अरुले पीएमएसटी राम्रोसँग गर्न सक्दैन भन्ने गरेका थिए । यसैले पीएमएसटीमा अरु फर्मलाई करिब २० अंकसम्म कम दिई अरुले सित्तैमा काम गर्छु भन्दा पनि नपाउने हिसाबले इफ्तिसा–इआरएमसी जेभीलाई प्राविधिक प्रस्तावमा अंक दिएका छन् ।

    पीएमएसटीको काम यसरी इआरएमसीलाई दिएपछि इआरएमसीकै संचालकबाट संचालित उदय कन्सलटेन्सी जेभी रहेको (Plush/BN/Udaya) JV लाई युडीएसटीको कन्सलटेन्सीको कामकाा लागि छनोट अघि क्राइटेरिया दिनेदेखि सबै काम उही ढङ्गले आयोजना प्रमुख वोहोराले डिल गरेका छन् । यो सबै जानेकाले नै २२–२३ वटा फर्मले इओआई बुझाएकोमा ५ वटा सर्टलिष्ट गरेको र यसबाट पनि उक्त काम उद्घव चौलागाईले सेटिङ गरिसकेको खुलेको छ । यी दुवै कामका लागि दिइएको गोप्य क्राइटेरिया उक्त कम्पनीका केही कर्मचारीमार्फत् फेला परेको छ ।

    यसरी गोप्य क्राइटेरिया कसरी बाहिर आयो ? गोप्य क्राइटेरिया कसरी इआरएमसी÷उदयलाई पहिल्यै दिइयो, सम्बन्धित आयोजना प्रमुखमाथि छानबिन गरी हदैसम्मको कारवाहीका लागि माग गर्दै सहरी विकास मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।

    गोप्य क्राइटेरिया कसरी बाहिर आयो ? र परीक्षा दिनुभन्दा अगाडि नै यसरी प्रश्न पत्र बाहिरिएमा त्यो रद्द गर्नुपर्छ कि पर्दैन ? यो प्रक्रिया नै रद्द गर्नका साथै आयोजना प्रमुख रविन्द्र बोहोराले गरेको यस्तो गम्भीर अपराधमा कारबाही नहुनु बिडम्बना हो, भवन विभागका एक अधिकारीले भने । वोहोराले यसअघि एडीबीको सहयोग रहेको भवन विभागकै आरयुडीपी आयोजनाको प्रमुख रहँदा पनि यसैगरी क्राइटेरिया आउँछ भनेर सोही इआरएमसी र उदयलाई नै वेष्टर्न करिडोरको करिब २२ करोड र इष्टर्न करिडोरको १८ करोडको काम दिई करोडौं घुस खाएको आरोप लागेको थियो ।

    करिब ६० करोड लागतको पीएमएसटी (PMST) र २२ करोड लागतको युडीएसटीको परामर्शदाता छान्ने क्रममा परामर्शदाता छान्नलाई बनाइएको गोप्य क्राइटेरिया नै प्राबिधिक मूल्यांकन अघि नै इआरएमसी/उदय कन्सलटेन्सीलाई उपलब्ध गराइएको बिषय भ्रष्टाचार मात्र नभएर अपराध नै भएकाले बोहरामाथि कारबाही हुनुपर्ने भवन विभागका ती अधिकारीले बताए । परीक्षा अगाडि नै प्रश्नपत्र आउट गरेजस्तै कन्सलटेन्सी छानिनुअघि नै गोप्य क्राइटेरिया हात पारेर इआरएमसी– उदयले ८२ करोड रुपैयाँको परामर्शको काम हात पार्न सफल भएको छ ।

    परामर्शका कार्यमा ७० प्रतिशत फाइदा हुने भएकाले इआरएमसी–उदयका संचालक उद्घवराज चौलागाईले आयोजना प्रमुख रविन्द्र बोहरादेखि सचिव डा. रमेशकुमार सिंह र मन्त्री रामकुमारी झाँक्रीलाई १० करोड भन्दा बढी अग्रिम दिने कबोल गरेपछि सेटिङ अनुसार उनको कम्पनी नै परामर्शदातामा छनोट भएको छ । ८२ करोडको परामर्शको काममा ठूलो चलखेल भएको र इआरएमसीलाई कम्पनी छनोटअघि उपलब्ध गराएको गोप्य क्राइटेरिया समेत प्राप्त भएको छ ।

    ८२ करोडको उक्त परामर्शको ठेक्कामा मन्त्री झाँक्रीलाई १० करोड र सचिव सिंहलाई १० करोड दिने गरी बोहोराले सेटिङ गरेको बताइएको छ । सामान्यतयाः सम्झौताका लागि कम्तीमा एक हप्ताको अवधि राखिन्छ तर परामर्शको कार्यमा दुई दिनमै सम्झौता गर्नेगरी इआरएमसीका चौलागाईसँग बोहोराले सेटिङ गरी काम फत्ते गराउँदैछन् ।

    भवन विभागका एक अधिकारीका अनुसार इआरएमसी–उदयले रविन्द्र बोहरालाई २ महिनाअघि विश्वबैंकको उक्त आयोजनाको प्रमुख बनाउन पनि डेढ करोड रुपैयाँ लगानी गरेको थियो । उक्त रकम मन्त्री रामकुमारी झाँक्रीका श्रीमान पशुपतिबाबु पुरीले बुझेपछि उनलाई विश्वबैंकको उक्त आकर्षक आयोजना प्रमुख बनाइएको थियो ।

    जबकि मन्त्री झाँक्रीले पद सम्हाल्नासाथ बोहरालाई अनियमिततामा मुछिएको र सचिव रमेश सिंहको निकट भनी अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिको प्रमुखबाट मन्त्रालयमा तानी पेन्डुलम बनाइएको थियो । सचिव सिंहलाई बोहोराले छुट्टै कमिसनको डिल गरेको समेत खुलेको छ । बोहोरा सचिव सिंहका अत्यन्तै निकटका पात्र हुन् । विगतमा एडीबीको सहयोग रहेको आरयूडीपी आयोजनाको प्रमुख पनि सिंहले नै बोहोरालाई बनाएका थिए । त्यो बेलादेखिनै उनीहरुबीच आर्थिक लेनदेन हुने गरेको थियो ।

    नेकपा एकीकृत समाजवादीका सांसद सोमप्रसाद पाण्डेमार्फत् वल्र्डबैंकको एनयुजीआइपी–युडीएसटीको आयोजना प्रमुख बन्न खोज्दा मन्त्री झाँक्रीले ठाडै अस्वीकार गरेकी थिइन् । पार्टीलाई सहयोग गर्ने सर्तमा बोहराले आयोजना प्रमुख हुन खोजे, पाण्डेले त्यही कुरा झाँक्रीलाई भने । तर झाँक्रीले ‘त्यस्ता भ्रष्ट’लाई लान्न भनिन् । तर त्यो भनेको १ महिनापछि उनले तिनै बोहरालाई आयोजना प्रमुख बनाएपछि कतिमा डिल गरिन् त भन्ने बिषय नेकपा समाजवादीभित्रै खैलाबैला मच्चिएको छ । सहरी विकास मन्त्रालयका टुक्रे २० लाखका कन्सलटेन्सीका काम दिनेदेखि सबैको सेटिङ पुरीमार्फत् हुने गरेको छ ।

    बोहरा भन्दा अघि उक्त आयोजनामा परीक्षित कडरिया कामु आयोजना निर्देशक थिए । सहसचिवस्तरको कर्मचारी आयोजना प्रमुख हुने वल्डबैंकको उक्त आयोजनामा परामर्शदाताको बजेट नै अरब हाराहारी छ भने निर्माण(कन्ष्ट्रक्सन)तर्फ २ खर्बभन्दा बढी छ ।

    विश्वबैक र एडीबीका कन्सलट्यान्ट नै सेटिङमा
    इआरएमसी–उदय कन्सलटेन्सीका संचालक उद्धवराज चौलागाई र आयोजना प्रमुख रविन्द्र बोहराले विश्व बैंक र एसियाली विकास बैंकले राखेका कन्सलट्यान्टहरुलाई समेत घुसको बुझो लगाएर सेटिङ गरी परामर्शका काम हात पार्ने गरेका छन् । नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग र आयोजना प्रमुख भएर ३० बर्ष भन्दा बढी जागिर खाँदा कन्सलेन्सी र ठेकेदारसँग घुस खाएर अकूत कमाएकाहरु नै विश्वबैंक र एडीबीका नेपालस्थित कार्यालयमा कन्सलट्यान्ट हुने गरेका छन् ।

    तिनै कन्सलट्यान्टहरुले विश्वबैंक र एडीबीमा जागिर खाएपछि पनि पनि नेपालका आयोजनाहरु हेर्ने र परामर्शदाता छनोटमा हावी हुने गरेका छन् । पीएमएसटी र युडीएसटीको परामर्शदाता छनोटमा गोप्य क्राइटेरिया पहिले नै इआरएमसीलाई दिए र उसलाई ठेक्का दिएको जगजाहेर भए पनि विश्वबैंकबाट एप्रुभल लिएको भन्दै ढाकछोप गर्न आयोजना प्रमुख बोहरा तल्लीन छन् । भवन विभागका कर्मचारी स्रोतका अनुसार आयोजना प्रमुख बोहराले नै कन्सलटेन्सीको मूल्यांकन गरेको भए पनि विश्वबैंकका कन्सलट्यान्टलाई घुसको बुझो लगाएर उतैबाट भएको हो भनेर सामसुम पारिंदैछ ।

    मूल्यांकन अघि नै इआरएमसीले हात पारको गोप्य क्राइटेरिया

    मूल्यांकन अघि नै इआरएमसीले हात पारको गोप्य क्राइटेरिया

    मूल्यांकन अघि नै इआरएमसीले हात पारको गोप्य क्राइटेरिया

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार