Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मेडिसिटी अस्पतालको चरम लापरवाहीले सामान्य विरामीको ज्यान गयो, मेडिकल काउन्सिलको वेवास्ता

    मेडिसिटी अस्पतालको चरम लापरवाहीले सामान्य विरामीको ज्यान गयो, मेडिकल काउन्सिलको वेवास्ता

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 3.7K
    SHARES

    काठमाडौं । एनआरएनएका संस्थापक उपेन्द्र महतोको समूहद्वारा सञ्चालित नेपाल मेडिसिटी अस्पतालको लापरवाहीले अनाहकमा एक विरामीले ज्यान गुमाउनु परेको छ । जुन कुरालाई अस्पतालले समेत लापरवाही भएको भन्दै स्वीकारेको छ । अस्पतालले बिरामीको उपचारमा लापरवाही गर्ने चिकित्सकमाथि कारबाही गरी कानूनी दायरामा ल्याउनु पर्नेमा निलम्बन मात्रै गरेर गल्ती ढाकछोप गर्न खोजिरहेको छ । जुन घटना अहिले नियमन निकाय नेपाल मेडिकल काउन्सिलमा पुगिसकेको छ ।

    यस्तो छ घटना विवरण
    पोखराका योगेन्द्र बस्नेत जेठ १७ गते उपचारका लागि नेपाल मेडिसिटी अस्पताल पुगेका थिए । सामान्य स्वास्थ्य जाँच गर्न मेडिसिटी अस्पताल पुगेका बस्नेतको चिकित्सकले पित्त थैलीको अपरेशन गर्नुपर्ने बताएपछि २२ गते ल्याप्रोस्कोपी विधिद्वारा शल्यक्रिया गरिएको थियो ।



    तर, उपचारकै क्रममा अस्पतालको लापरवाही र गैरजिम्मेवारपनले उनको २५ गते निधन भयो । विरामी डाक्टरको निगरानीमा हुनेपर्नेमा डाक्टर नै नगएका कारण बस्नेतको निधन भएको पीडित परिवारको दावी छ ।



    योगेन्द्रका छोरा समिरबहादुर बस्नेतका अनुसार स्वास्थ्य जाँचको क्रममा डा. सुनिल शर्माले पित्त थैलीको शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका थिए । लगत्तै शर्माको सल्लाह अनुसार नै शल्यक्रिया गरियो । अपरेशन नर्मल भएको र सकिएपछि सामान्य शैयामा सारिएको थियो । तर, २४ गते बेलुका बिरामीले अपरेशन गरेको भागमा दुखेको भन्दै नर्सलाई खबर गरेका थिए । नर्सले जाँच गर्दा रक्तचाप सामान्य देखिएको बताएका थिए । रक्तचाप सामान्य देखिएपछि ट्वाइलेट गएका विरामी योगेन्द्र त्यही ढलेका थिए । ढलेपछि पिता योगेन्द्रको मुख बांगिएको छोरा समिरले बताए ।

    बिरामी ढलेपछि आएकाे चिकित्सकको टोली स्वास्थ्य जाँच गर्दा सामान्य अवस्था भएको भन्दै बाहिरिएको थियो । पीडित परिवारका अनुसार बेलुका ८ बजे वेड सार्न खाेज्दा फेरि बिरामी ढलेका थिए । सोही रातको ३ बजे बिरामी अचेत भएको र मेडिकल अफिसर आएर कृत्रिम श्वास दिएर आइसीयूमा लगिएको थियो । आइसीयूमा लैजानु पर्ने अवस्था आएपछि मात्रै अस्पतालाका चिकित्सकले भिडियो एक्सरे गरी अप्रेसन गरेकै ठाउँमा आन्तरिक रक्तश्राव भएको भन्दै पुनः अपरेशन गर्नुपर्ने बताएका थिए ।

    यसरी अपरेशनपछि पनि रक्तश्राव नरोकिएको र ‘मल्टि अर्गान फेल’ भएकाले बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै राखिएको अवस्थामा बिरामीको जेठ २५ गते मृत्यु भएको थियो । मृत्यु हुनुको मुख्य कारण चिकित्सकको गम्भीर लापरबाही भएको भन्दै पीडित पक्षले सत्यतथ्य छानबिन गरी दाेषीमाथि कडाभन्दा कडा कारबाही गर्न अस्पतालमा निवेदन दियो ।

    पीडित परिवारले अस्पताल प्रशासन समक्ष ६ असारमा छानबिन गरिपाउँ भन्दै निवेदन दिएकाे थियाे । अस्पतालले पीडितको माग अनुसार डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानबिन समिति बनायो । उपचारमा नजाने चिकित्सक राजीव मिश्रसहित अन्य दुई जनालाई निलम्बन गरिएको अस्पतालले जनाएको छ । तर, अन्य दुई जनाको नाम भने अझै सार्वजनिक गरिएको छैन । अस्पताल प्रशासनले उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारबाही गरी कानूनी दायरामा ल्याउनुपर्नेमा निलम्बन गरेर बचाउन खोजिरहेको छ ।

    अस्पतालले पीडितलाई दिएको जानकारी पत्रमा पनि कमजोरी स्वीकार गरेको भेटिएको छ । मृतक योगेन्द्रका छोरा समिर बस्नेतलाई अस्पतालले दिएको जानकारी पत्रले कमजोरी मात्रै स्वीकार गरेको छैन, चिकित्सकले बिरामी नै हेर्दैनन् भन्ने स्पष्ट खुलाएको छ ।

    उपचारमा संलग्न मुख्य चिकित्सक डा. सुनिल शर्माका अनुसार जेठ २४ गते राती १० बजे डा. राजिव मिश्रले बिरामीको स्वास्थ्य अवस्था ठिक भएको भन्दै आफूलाई जानकारी गराएको बताएका छन् । तर, सेकेन्ड कल डाक्टर मिश्रलाई अस्पतालमा गएर जाँच गर्नुभन्दा नगइकन उनले सिनियर चिकित्सकलाई बिरामीको स्वास्थ्य अवस्था ठिक भएको भन्दै गलत रिपोटिङ गरेका थिए ।

    पीडितको दबाबपछि अस्पतालले मिश्रलाई सोध्दा हात काटेकाले डिउटीमा नगएको गैर जिम्मेवार जवाफ दिएका थिए । यसरी विरामीलाई निगरानीमा राखेर हेर्नुपर्ने चिकित्सकले नै अस्पताल नै नगई सिनियरलाई गलत रिपोटिङ गरेका कारण अनाहकमा सामान्य अवस्थामा रहेका विरामी योगेन्द्रले ज्यान गुमाउनु परेको छ ।

    भेन्टिलेटरमा रहेको बिरामीलाई सोडियम र हेमोग्लोबिन कम हुँदाहुँदै चिकित्सकले गम्भीरतापूर्वक नलिनु र बिरामी अचेत भएपछि मात्रै विशेषज्ञ चिकित्सकको खोजी हुनु जनस्वास्थ्यमाथिको गम्भीर खेलवाड रहेको अस्पतालकै एक चिकित्सक बताउँछनन् । पीडित परिवारले जेठ २४ गते बेलुका ६ बजेबाट उपचारका लागि कुन–कुन चिकित्सक उपस्थित भए र के–के उपचार विधि अपनाइयो भन्ने सत्यतथ्य छानबिन गरेर कारबाही गर्न मेडिकल काउन्सिल समक्ष माग गरेका छन् ।

    मेडिकल काउन्सिलमा गत असार २८ गते नै पीडित पक्षले रजिष्ट्रार डा. कृष्ण अधिकारीलाई भेटेरै उजुरी दर्ता गराएको थियो । तर, अहिलेसम्म पनि काउन्सिलले मेडिसिटी अस्पतालसँग घटनाबारे बुझ्ने प्रयास गरेको छैन । स्रोतका अनुसार स्रोतका अनुसार मेडिसिटी अस्पतालका डा. शर्माको सम्बन्ध काउन्सिलका उच्च पदाधिकारीहरुसँग राम्रो रहेका कारण कउन्सिलले पीडितको उजुरीमाथि वेवास्ता गरिरहेको छ । घटनाबारे अनलाइन नेपालले काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीसँग जानकारी माग्दा उनले सुनिता प्रजापतिसँग बुझ्नु भन्दै गैरजिम्मेवार जवाफ दिएर पन्छिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार