Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ‘राष्ट्रिय व्यक्ति’विरुद्ध उजुरी पर्नासाथ सार्वजनिक गरेर अनुहारमा कालो पोत्ने अधिकार प्रहरीलाई कसले दियो ?

    ‘राष्ट्रिय व्यक्ति’विरुद्ध उजुरी पर्नासाथ सार्वजनिक गरेर अनुहारमा कालो पोत्ने अधिकार प्रहरीलाई कसले दियो ?

    कुमार भण्डारी
  • बिहिबार, २३ भाद्र २०७९
  • 2.5K
    SHARES

    कुमार भण्डारी

    मंगलबार बेलुका एकाएक नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक नाबालिकामाथि बलात्कार गरेको भन्दै विभिन्न सञ्चारमाध्यमहरुमा समाचार भाइरल बने । सन्दिप अहिले क्यारिबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा छन् । सन्दिप गेम खेल्नका लागि विदेश पुगेका बेला महानगरिय प्रहरी बृत्त गौशाला मंगलबार उनीविरुद्ध नाबालिकामाथि जवर्जस्ती करणी गरेको भन्दै उजुरी परेको विषयमा समाचार भइरल बने ।



    पीडित भनिएकी युवतीको अहिलेसम्म परिचय खुलाइएको छैन, तर पीडक भनेर पुष्टी भइनसकेको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त व्यक्तिविरुद्ध नेपाल प्रहरीले एक पक्षीय रुपमा प्रचार गरेको देखिन्छ । जवकी प्रहरीको कुनै पनि निकायमा कोही विरुद्ध उजुरी परिसकेपछि अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउनु प्रहरीको कर्तव्य हो । तर, एउटा सेलिब्रेटी तथा अन्र्तर्राष्ट्रिय रुपमा नेपालको पहिचान गराउन सफल व्यक्तिविरुद्ध परेको उजुरीलाई ‘स्टन्ड’ बनाएर प्रहरीले प्रचारबाजी गर्नु पक्कै पनि शोभनिय मानिदैन । राष्ट्रकै नेतृत्व गरेर विश्वभर प्रतिनिधित्व गर्दै आएको व्यक्तिको अनुहारमा ‘कालो’ पोत्ने अधिकार प्रहरीलाई कसले दियो ?



    प्रहरीलाई आफ्नो अनुसन्धान पूरा गरेर सन्दीपलाई इन्टरपोलमार्फत सेन्ट लुसियाबाट सिधै झिकाउन के ले रोक्यो ? अनुसन्धानकै क्रममा रहेको घटना सार्वजनिक गरेर प्रहरीले के गर्न खोजेको हो ? बुझ्न सकिएको छैन । अझ काठमाडौं प्रहरीले फेसबुक पेजबाट ठूलै उपलब्धि हासिल गरेझैं सन्दिपको प्रतिष्ठामाथि आँच आउने गरी अदालतबाट पुष्टि भइनसकेको कुरालाई सार्वजनिक गर्नुपर्यो । भदौ २२ गते बुधबार बिहानै प्रहरीले औपचारिक रूपमा प्रेस वक्तव्य जारी गरेर जाहेरीबारे जानकारी गराएको थियो । ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेउपर जबरजस्ती करणी कसूरमा प्रहरी वृत्त गौशालामा परेको जाहेरी दरखास्तसम्बन्धी’ विषय उल्लेख गर्दै प्रहरीले फेसबूकमार्फत विज्ञप्ति सार्वजनिक गरेको थियो ।

    पीडित भनिएकी युवतीका तर्फबाट बयानमा आएको विवरणसहितको विज्ञप्तिमा होटलमा लगेर ५ गते राति (६ गते बिहान) पटक–पटक जबरजस्ती करणी गरेको उल्लेख थियो । लगत्तै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकले पनि जाहेरीको फेहरिस्त सार्वजनिक गरिदिए । जबकी बिहीवार मात्र काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको छ ।

    प्रमाणित नभइसकेको अवस्थामा सन्दीपलाई ‘बलात्कारी’ करार गर्दै ‘उ’, ‘त्यो’ जस्ता शब्दले गालीका साथै पीडित भनिएकी युवतीलाई ‘उनी’, ‘तिनी’ बाट सम्बोधन गर्नु प्रहरी संस्कारभित्र पर्ने अर्को नियम होला सायद, यो केसमा पनि त्यस्तै देखिँदैछ । नेपाल प्रहरीले अहिले अनुसन्धानकै क्रममा रहेर उजुरीकर्तालाई न्याय दिने भन्दै पीडक भनिएका सन्दीपप्रति आम जनता मात्र नभई विश्वसामु नकारात्मक सन्देश पुर्याउने काम गरेको छ ।

    अर्को कुरा, नेपाल प्रहरीले हालसालै पल शाहको मुद्दाबाट पाठ सिक्न सकेको देखिएको छैन । उक्त मुद्दामा पीडित भनिएकी नाबालिकाले बयान फेरेको वास्तविकतालाई बिर्सँदै आगामी दिनमा अहिलेकी पीडितले पनि बयान फेर्नसक्ने सम्भावना नदेख्दै सन्दीपलाई दोषी करार गरिसकेको छ ।

    प्रहरीले दुवैजनालाई होटलमा गएका, निस्किएको समय समेत सिसिटिभिमा देखिएको भन्दै सन्दीपलाई दोषी करार गर्नका लागि उद्यत रहिरहेका बेला होटलमा जाँदा वा फर्कँदा ती युवतीको हाउभाउतर्फ प्रहरीले अनुसन्धान गरेको छ कि छैन ? यदि केही सञ्चारमाध्यममा आएजस्तो भदौ १ गते र ५ गते ती युवतीमाथि बलात्कार भएको हो भने चार दिनको फरकमा ‘बलात्कृत’ हुनु ती युवतीको के बाध्यता थियो ? युवती बलात्कृत भइरहँदा उनले केही प्रतिकार गरिन् वा गरिनन् ? त्यसको प्रमाणस्वरुप युवतीले के पेश गरिन् ? युवती बलात्कृत भएको नभएको प्रमाणित गर्ने स्वास्थ्य परिक्षणको रिपोर्टमा सन्दीपले नै बलात्कार गरेको भन्ने केही प्रमाण भेटियो वा भेटिएन ? प्रहरीले ५ गते बलात्कृत भएकी युवतीले १५ गतेमात्र उजुरी दिनुलाई कसरी लिएको छ ? एकै रातमा पटक–पटक बलात्कृत हुने युवती बाँकी १० दिनमा अरु कसैसँग ‘बलात्कृत’ हुन सक्दिनन् ? प्रहरीले त्यसतर्फ अनुसन्धन गरेको छ कि छैन ?

    आ–आफ्नो क्षेत्रमा चर्चित एवं नम्बर १ रहेका व्यक्तिहरु एकपछि अर्को गर्दै उस्तै ‘केस’मा पर्नुलाई नेपाल प्रहरीले नियोजित वा प्रायोजित हुनसक्ने भन्ने हिसाबले अनुसन्धान गरेको छ कि छैन ? यसअघि नेपाली सिनेमा जगतका नम्बर १ नायकलाई जेल पुर्याइयो भने अब क्रिकेट कप्तानलाई पुर्याउन खोजिँदैछ, अब आम जनताले अब कसको पालो होला भनेर सोच्न थालेका छन् ।

    पीडित नाबालिका भनिएकी युवतीको अहिलेसम्म पहिचान खुलाइएको छैन र खुलाउन पनि मिल्दैन । आज तीन दिनसम्म आइपुग्दा प्रहरीले उनको नाममात्रै खुलाएको छैन, उनी बसेको होटल र समय समेत सञ्चारकर्मीहरुलाई बाँडेर ठूलै माछा जालमा पारेझैं खुलम खुल्ला बाइट नै दिन थालेका छन् । यति भन्दै गर्दा नावालिका भनिएकी पीडितको विपक्षमा जान खोजिएको पक्कै होइन ।

    वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा १७ ले पनि अनुसन्धानको सिलसिलामा रहेको व्यक्तिलाई सार्वजनिक गर्न नहुने व्यवस्था गरेको छ । त्यहाँ भनिएको छ–‘‘कानूनबमोजिम अनुसन्धानको सिलसिलामा रहेको कुनै पनि व्यक्तिलाई लागेको कसूरको सम्बन्धमा सम्बन्धित निकायमा अभियोग पत्र दायर नभएसम्म निजलाई अधिकार प्राप्त अधिकारीले कुनै पनि तरिकाले सार्वजनिक गर्न वा गराउन हुँदैन ।’

    व्यावसायिक खेलका दौडानमा विदेशमा रहेका खेलाडीका बारेमा स्वदेशमा यस किसिमको समाचारहरु आइरहँदा कस्तो मनोदशा गुज्रेको होला ? हो, उसले अपराध गरेकै भए पनि यस किसिमको मानसिक पीडामा थोरै भए पनि मल्हम लगाउने काम नेपाल प्रहरीले गर्न सक्दैनथ्यो ? प्रहरीले पीडा थप्ने मात्र नभई प्रहरीले पनि गोपनियता अपनाउनुपर्छ भन्ने मान्यता पालना गर्नुपर्दैन ? इज्जत ती युवतीको मात्र हो कि सन्दीपको पनि हुन्छ ?

    कुनै पनि व्यावसायिक व्यक्तिमा एउटा समाचार वा घटनाले कस्तो असर पर्छ र त्यसको कारक आफू बन्नसक्नु भन्ने कुरा प्रहरीले किन सोच्न सक्दैन ? प्रहरीलाई अहिले पनि एउटा घटनाले तर्साउनुपर्ने हो, नबुझीकन वा पुष्टी नभईकन समाचार बाहिरिँदा कस्तो असर पर्छ भन्ने कुरा । नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी गरिरहेको बेला सागर थापालगायतलाई लगाएको अभियोगबाट सफाई पाए । तर, उनको जीवन त्यही एउटा मुद्दाबाट सकिएको यथार्थताबाट पाठ सिक्न अहिलेको पछिल्लो प्रहरी नेतृत्वले किन बुभ्mन सकेन ? यो त एउटा उदाहरण मात्र हो । यी र यस्तै घटना कति छन्, किन प्रहरीले त्यसबाट पाठ सिक्न सकेन ?

    यसै पनि विदेशमा रहेका लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)लाई कानूनी उपचारका लागि सहयोग गर्न आग्रह गरेका छन् । आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका उनले क्यानका पदाधिकारीसँग कानुनी सहयोग मागेको क्यानले जनाइसकेको छ । गलत गरेको भए उनीमाथि अवश्य पनि कारबाही हुनै पर्छ र कानूनले कारवाहीको भागिदार बनाउला । तर, विदेशमा बसेर अरोप अस्वीकार गरिरहेकै बेला प्रहरीले गोपनियता भंग गर्नु उचित र न्यायोचित हो जस्तो लग्दैन ।

    यदि भोली अदालतबाट सन्दिप निर्दोष सावित भए भने उनले अहिले समाजिक रुपमा भोगेको बेइज्यतीको क्षतीपूर्ति कसले व्यहोर्छ ? नेपाल प्रहरीसामु यो पनि प्रश्न तेर्सिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार