Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा निर्णायक अशोक खड्काद्वारा प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी घोषणा

    तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा निर्णायक अशोक खड्काद्वारा प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी घोषणा

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा निर्णायक अशोक खड्काले आगामी मंसीर ४ गतेका लागि तय भएको प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

    तेक्वान्दोमा अन्तर्राष्ट्रय स्वर्ण पदक विजेता तथा उत्कृष्ट अन्तर्राष्ट्रिय प्रशिक्षक र तेक्वान्दो रेफ्री खड्काले आज काठमाडौँको थलीमा एक कार्यक्रम गरेर काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।



    ‘छल्नेलाई भन्दा बदल्नेलाई खोजौं, देश निर्माणका लागि युवालाई नै रोजौं’ भन्ने नाराका साथ खड्काले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन्।



    राजनीतिक दलका नेताहरुले स्वतन्त्र उम्मेदवारहरुले जीत हासिल गरेपनि काम गर्न नसक्ने बताइरहेका बेला उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘वालेन’ को उदाहरण दिंदै अब स्वतन्त्र उम्मेदवारले नै स्वतन्त्र भएर जनताको सेवा गर्न सक्ने बताए ।

    उम्मेदवारी घोषणा कार्यक्रममा उनले युवा पुस्तालाई अब देश विकासको नेतृत्व सुम्पनुपर्ने आह्वान समेत गरे। खड्काले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नका लागि शिक्षा, स्वास्थ्यलगायत कुरामा आफ्नो विशेष ध्यान रहने र यसका लागि स्थानीय जनताले आफूलाई प्रदेशसभा चुनावमा मतदान गर्नेमा पनि आफू आशावादी रहेको बताए ।

    उम्मेदवारी घोषणा कार्यक्रममा उनले भने–‘भ्रष्टाचार हुन नदिन शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्दछ। विधि र कानुनको उच्चतम सम्मान गर्नुपर्दछ । प्रत्येक नागरिक राष्ट्र सेवामा समर्पित हुनु पर्दछ भन्ने कुरा मेरो हृदयमा छ।’

    आफूले जितेमा जनताको काममा समर्पित हुने बताएका खड्काले आफूसँग जनताको पक्षमा रहेका काम गर्ने दर्जनौ भिजन भएको पनि बताए । केही समय पछि नै आफ्नो एजेण्डा लिएर जनतासमक्ष पुग्ने वाचा गरेका खण्डाले आफू स्पष्ट योजनाका साथ राजनीतिमा आएको बताए ।

    उनले भने–‘कर तिर्न सक्षम नागरिक कसरी बनाउने ? तपाईंले राष्ट्रलाई तिरेको करलाई उचित उपयोग गर्न राष्ट्रले कस्तो सोच वा कार्यक्रम लिएर आउने ? स्थानीय उत्पादन क्षमतालाई कसरी अभिवृद्धि गर्ने ? नदी कटान, बाढी पहिरो नियन्त्रण, सिँचाइ व्यवस्थापन जस्ता कार्यहरुलाई कसरी सम्बोधन गर्ने ? जस्ता विषयमा मसँग स्पष्ट भिजन र योजना छ। फेरि पनि म आफ्नो एजेण्डा लिएर तपाईहरुमाझ आउनेनै छु ।’

    आफ्नो क्षेत्रको समस्यालाई राम्रोसँग मूल्यांकन गरेको बताएका खड्काले त्यस्ता समस्या समाधानका लागि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । जनताले चुनावमा मतदान गर्ने विश्वास व्यक्त गरेका खड्काले घोषणासभामा भने–‘म लामो समयदेखि खेल क्षेत्रबाट परिचित हुँदै देशको नाम विश्वभर चिनाएर अहिले यो ठाउँमा छु । अब आफ्नै क्षेत्रमा नीति निर्माण र विकासको काम गर्न स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु। मसँग विकास र युवा पुस्ताको नेतृत्व गर्ने स्पष्ट भिजन छ। त्यसैले तपाईहरुबाट निर्वाचित हुने अपेक्षा राखेको छु ।’

    काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष समेत रहेको खड्काले १४ पटक अप्रेसन गरेको गोडाको साथमा अहिलेसम्म ४५० भन्दा बढी ब्ल्याकबेल्ट खेलाडी उत्पादन गरिसकेका छन् भने ५ हजार बढीलाई तेक्वान्दो सिकाइसकेका छन् । त्यतिमात्रै होइन उनले यौनजन्य हिंसामा परेका महिलाहरू, चेपाङ बालबालिका, जेल परेका अभिभावकका छोराछोरी र विभिन्न समस्या परेका बालकालिकाहरुलाई पनि निशुल्क तेक्वान्दो सिकाइरहेका छन् ।

    कोरिया, युके, मलेसिया, अष्ट्रेलिया, जापान, हङकङ, भारत लगायतका देशहरुमा पुगेर गोल्ड मेडेल जितेर आफ्नो नाम मात्रै नभई देशको नै नाम विश्वसामु चिनाएको उनले सन् २०२२ मा मात्रै बेल्जियम, स्वीडेन, अष्ट्रिया, बुल्गेरिया इत्यादि राष्ट्रहरुबाट आमन्त्रित भई निर्णायक भएर काम गरेका छन् । ती देशहरुमा खड्कालाई उत्कृष्ट निर्णायकको सम्मान समेत प्राप्त भएको थियो भने नेपाल सरकारले समग्र खेलकुदको उत्कृष्ट निर्णायकको अवार्ड सहित रु. १ लाख नगदले सम्मान समेत गरिसकेको छ ।

    यसरी गोडाको १४ पटक अप्रेसन हुँदा समेत खेलमा नै जीवन समर्पण गरेर देशको लागि केही गर्छु भन्ने अठौटका साथ अगाडि बढिरहेका खड्काको उम्मेदवारीले काठमाडौं क्षेत्र नं. २ (ख) मा खुसीयाली छाएको स्थानीयहरुले बताएका छन् ।

    कार्यक्रमा त्यस क्षेत्रका स्थानीय राजनीतिक दलका नेता कार्यकर्तादेखि स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी, खेलाडीलगायतको ठूलो उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार