Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अख्तियारले १३ पन्ने भराएका लेखा प्रमुख ढकालको केयुकेएलमा १० वर्षदेखि हालिमुहाली

    अख्तियारले १३ पन्ने भराएका लेखा प्रमुख ढकालको केयुकेएलमा १० वर्षदेखि हालिमुहाली

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसान्धन आयोगले अकुत सम्पति आर्जन गरेको उजुरीको आधारमा छानबिन गर्दै १३ पन्ने भराएका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका एक कर्मचारीले केयुकेएल सञ्चालक समितिको ६ महिना अघिको निर्णयलाई लत्याउँदै आएका छन् । उनले मन्त्री र सचिवको आदेशलाई समेत टेर्न छाडेका छन् ।

    खानेपानी मन्त्री उमाकान्त चौधरी, सचिव मणिराम गेलाल, केयुकेएल सञ्चालक समितिका अध्यक्ष तिरेशप्रसाद खत्री र केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यलाई समेत नटेरी सरुवा भएको निर्णयको पत्र नबुझ्ने अटेरी कर्मचारीको नाम हो, रामचन्द्र ढकाल ।



    सत्तारुढ माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो विशेष सम्वन्ध रहेको बताउने ढकाल केयुकेएलका आठौ तहका कर्मचारी हुन् । उनी विगत १० वर्षदेखि काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डमा लेखा प्रमुखको जिम्मेवारीमा छन् ।



    सामान्यतया लेखा समूहका कर्मचारीको हरेक दुई वर्षमा सरुवा हुने गर्छ । तर, ढकाल यति शक्तिशाली व्यक्ति हुन कि उनको सरुवा गर्न केयुकेएलका सिइओ त के मन्त्रीले समेत सकेका छैनन् । सञ्चालक समितिका अध्यक्षको मौखिक आदेशलाई समते लत्याउँदै हिँड्ने ढकालले आफ्नो सम्वन्ध अख्तियारका कर्मचारीसँग पनि रहेको भन्दै धम्क्याउने गरेका छन् ।

    उनीबिरुद्ध अख्तियारमा समेत मुद्धा परेको छ । तर, अख्तियारमा जस्ता सुकै उजुरी परे पनि आफूले मिलाउने भन्दै ढकालले खानेपानी मन्त्री उमाकान्त चौधरीका पिएहरुलाई समेत धमास दिने गरेको बुझिाएको छ । त्यसो त ढकाल भैंसेपाटीमा भएको बोर्डको कार्यालयमा भन्दा धेरै समय मन्त्रीका पिए, सचिवका पीए र मन्त्रालयका सहसचिवदेखि सुब्बास्तरका कर्मचारीसँग गफिएर बसेका हुन्छन् ।

    अख्तियारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को आठौं तहका कर्मचारी सहायक प्रबन्धक रामचन्द्र ढकाल २०६९ असोज महिनादेखि काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्डमा काजमा खटाइएका लेखा तर्फका कर्मचारी भएको र उनी हालसम्म पनि निरन्तर लेखा प्रमुख भई कार्य गरिरहेको उजुरी परेको छ ।

    उजुरीमा ढकालको काज फिर्ता केयूकेएल सञ्चालक समितिको २०७८ चैत १७ गतेको बैठक नम्वर ३९६ को निर्णयबाट भएको भनी केयूकेएलले निज ढकाललाई २०७८ चैत २४ गते पत्र लेखे पनि हालसम्म नबुझेको भन्दै लेखाको जिम्मेवारीमा रहेर काम गर्ने कर्मचारीको साधारणतया २ बर्षमा सरुवा हुने परम्परा भएको उल्लेख छ ।

    केयुकेएलका कर्मचारीले अख्तियारमा गत भदौ २३ गते दर्ता गराएको ऋ०१३६९१ (सी शुन्य १३ हजार छ सय एकानब्बे) नम्वरको उजुरीमाथि पनि हाल अध्ययन भइरहेको अख्तियार स्रोतले जनायो । सञ्चालक समितिले गरेको निर्णयको छ महिनासम्म अवज्ञा गरेकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कर्मचारी प्रशासन बिनियमावली अनुसार निजलाई विभागिय कारबाही गरिनु पर्ने माग उजुरीमा गरिएको छ ।

    अनुचित चलखेल र प्रलोभनमा पारेर मिलेमतोको आधारमा सञ्चालक समितिको निर्णय अबज्ञा गरी गैरकानूनी रुपले निर्णय कार्यान्वयन नगरी जिम्मेवारी बहन नगर्ने कर्मचारीलाई संरक्षण गरेको देखिन आएको उजुरीमा भनिएको छ । केयुकेएलको कर्मचारी प्रशासन बिनियमावलीको ‘आचरण तथा सजाय’ सम्वन्धी प्रावधान रहेको परिच्छेद – ५ को दफा ४७ को (प) मा ‘सरुवा भएपछि तोकिएको म्याद भित्र बर बुझारथ गर्नु पर्ने’ उल्लेख छ ।

    बिनियमावलीको सोही परिच्छेदको दफा ४९ क मा ‘दुई तलव बृद्धिसम्म रोक्का गर्ने वा दुई वर्षसम्म बढुवा रोक्का गर्ने’ प्रावधान रहेको छ । सो दफाको ‘ख’मा म्याद भित्र आफ्नो जिम्मामा रहेको नगदी, जिन्सी बरबुझारथ नगरेमा र खटाएको कार्यालय वा स्थानमा गई काम नगरेमा त्यस्तो सजाय दिनु पर्ने व्यवस्था गरिएको छ ।

    ढकाल १० बर्षदेखि काठमाडौ उपत्यका खानेपानी ब्यवस्थापन बोर्डमा काजमा रहनु, काज फिर्ता हुँदा पनी अनुृशासनहिन भई अटेर गरेर बस्नु, केयूकेएलका प्रमुख कार्यकारी अधिकृतले जिम्मेवारी र कर्तव्य पुरा नगर्ने कर्मचारीलाई कारबाही गर्नुको सट्टामा संरक्षण गर्नु, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशकले काज फिर्ताको पत्र बोधार्थ पाउँदा पनि अनदेखा गरेर बस्नुले सबैको मिलेमतोमा संस्थागत रुपमा अनियमितताको मनसाय देखिएको केयुकेएलका कर्मचारीहरु नै बताउँछन् ।

    लेखा प्रमुखलाई १० वर्षसम्म एउटै जिम्मेवारीमा राख्न सहयोगको भूमिका खेल्ने केयूकेएल र बोर्डका कार्यकारी निर्देशकको मिलेमतोमा संस्थामा संस्थागत अनियमितता र भ्रष्टाचारको गन्ध देखिएकाले सो सम्बन्धमा पनि कारबाहीका लागि उजुरीमा आग्रह गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार