Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • म्याट्रेसपछि म्यादी प्रहरीको पोशाक खरिदमा व्यापक घोटाला, अख्तियारले छानविन गर्ला ?

    म्याट्रेसपछि म्यादी प्रहरीको पोशाक खरिदमा व्यापक घोटाला, अख्तियारले छानविन गर्ला ?

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 948
    SHARES

    काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि देशभर १ लाख १५ हजार म्यादी प्रहरी खटिएका छन् । ४० दिनको लागि भर्ना भएका म्यादी प्रहरीले ३४ हजार सात सय ६० र खाद्यान्नवापत सात हजार दुई सय प्राप्त गर्छन् । जाडो महिनामा निर्वाचन हुने भएकाले २०७९ असोज ३० देखि नियुक्तिपत्र लिएका उनीहरुलाई त्यही दिनदेखि उनीहरुले पाउने पोशाकसहित न्यानो कपडा दिनुपर्ने हो । तर, आजका दिनसम्म पनि काठमाडौं उपत्यकालगायत प्रदेश १ का हिमाली जिल्लामा खटिएका म्यादी प्रहरीहरुले न्यानो कपडा पाउन सकेका छैनन् ।

    न्यानो कपडा नहुँदा उनीहरुले कठ्यांग्रिदै ड्युटी गर्नुपर्ने अवस्था देखिएको छ । काठमाडौंलगायत देशका सबै भूभागहरुमा जाडो शुरु भइसकेको अवस्थामा म्यादी प्रहरीहरु अहिले एकसरो पातलो चुस्ताको कपडामा ड्युटी गर्न बाध्य छन् । म्यादी प्रहरीसँग परिचालित बहालवाला प्रहरी भने पार्का ज्याकेटमै ड्युटी गरिरहेको देखिन्छन् । ठेकेदार र प्रहरी प्रधान कार्यालयको लापरबाहीका कारण म्यादी प्रहरीहरु समस्यामा परेका हुन् ।



    काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा म्यादी प्रहरीको कपडाको ठेक्का पाएका राजीव बस्नेतले आजसम्म पनि म्यादी प्रहरीलाई स्वीटर आपूर्ति गरेका छैनन् । जबकी अब चुनाव आउन १० दिन मात्र बाँकी छ । जसका कारण जाडो र ठण्डीमा समेत पातलो चुस्ताका भरमा म्यादी प्रहरी ड्युटी गर्न बाध्य भएका छन् । सेटिङमा कपडाको ठेक्का हत्याएका कारण बस्नेतमाथि प्रहरी प्रधान कार्यालयले ताकेता समेत नगरेको प्रहरी उच्च अधिकारीहरु नै बताउँछन् ।



    स्रोतका अनुसार विना प्रतिस्पर्धा आइजीपी धिरजप्रताप सिंहले काठमाडौं उपत्यकाको म्यादी प्रहरीको पोशाकको ठेक्का बस्नेतलाई दिन तीनवटै प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । यसअघिका चुनावहरुमा प्रहरी प्रधान कार्यालयबाटै म्यादी प्रहरीका लागि ३ महिनाअघि टेण्डर गरी प्रतिस्पर्धाका आधारमा गुणस्तरीय कपडा खरिद हुने गरेको थियो । तर, अहिले भने प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालृष्ण खाँडका आसेपासेले विनाप्रतिस्पर्धा म्यादी प्रहरीको पोशाकको ठेक्का पाएका छन् ।

    सार्वजनिक खरिद ऐन अनुसार केन्द्रले टेण्डर प्रक्रियाबाट खरिद गरि मातहतका कार्यालयहरुलाई कपडालगायतका सरसामानहरु वितरण गर्नुपर्नेमा प्रहरी प्रधान कार्यालयले ठूलो लाभ लिन खरिद ऐन छलेर मातहतका यूनिटहरुलाई नै खरिद गर्ने अनुमति दिएको छ । जसका कारण जिल्ला प्रहरी कार्यालयदेखि प्रदेश कार्यालयहरुले समेत मनलाग्दी कपडा खरिद गरेका छन् ।

    यतिसम्मकी आईजीपी सिंह र प्रबन्ध निर्देशनालयका डीआइजी दीपक थापाले राजीव बस्नेत, राजमान मिश्रलगायतका ठेकेदारहरुको नाम नै दिएर उनीहरुबाट कपडा खरिद गर्न निर्देशन दिएको स्रोतको दावी छ । यसरी केन्द्रले दबाब दिंदा जिल्ला प्रहरी कार्यालयहरु गुणस्तरहिन समान किन्न बाध्य भएका छन् भने आवश्यक परेको बेला सामान समेत पाउन सकेका छैनन् ।

    यसअघि प्रहरीले ठेक्का टुक्राएर राजमान मिश्रको जेएमबीडी इन्टरनेशनल कम्पनीसँग १५ करोड बढीको कोयर म्याट्रेस खरिद गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेर छानविन गरिरहेको छ । यति हुँदा समेत प्रहरी संगठन नसुध्रिकन पुनः सोही शैलीमा अहिले म्यादी प्रहरीका लागि न्यानो कपडा खरिद गरिरहेको छ ।

    कतिपय जिल्लाहरुमा त म्यादी प्रहरीहरुको ड्युटी अवधि ४० दिन पनि नटिक्ने कपडा खरिद गर्न बाध्य पारिएको एक जिल्लाका प्रहरी हाकिमले स्वीकार गरे । म्यादी प्रहरीलाई दिइनुपर्ने सुविधा र खरिद घोटालाका विषयमा  नेपाल प्रहरीका प्रवक्ता डिआईजी टेकप्रसाद राईसँग पटक–पटक सम्पर्क गर्दा उनको फोन उठेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार