Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नक्कली सुन राखेर बैंकबाट २४ लाख कर्जा लिए, एकजना पक्राउ

कास्की । पोखरामा नक्कली सुन धितोमा राखी कर्जा लिएर बैंकलाई नै ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका ३ घर भई हाल पोखरा १८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनार रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका १७ बिरौटास्थित राष्ट्रिय वाणिज्य बैंकबाट २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएर ठगी गरेको उनीमाथि आरोप छ । उनले विभिन्न खालका नक्कली सुनका गरगहना धितोमा राखी एक पटक १६ लाख ६० हजार र अर्को पटक ७ लाख ४५ हजार रुपैयाँ गरी २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएका थिए ।

कर्जा लिएपछि लामो समयसम्म कर्जाको व्याज तथा साँवा बुझाउन नआएपछि बैकले उनले धितोमा राखेका गरगहना चेकजाँच गरेको थियो ।

चेकजाँचको क्रममा कमसल सुन प्रयोग गरी तयार गरिएको नक्कली गरगहना रहेको खुल्न आएको बैंकलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077