Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ७० करोडले बद्नाम बास्कोटासँग कसरी हारे हुमागाईं ?

    ७० करोडले बद्नाम बास्कोटासँग कसरी हारे हुमागाईं ?

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 2.9K
    SHARES

    काभ्रे । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काभ्रे क्षेत्र नं. २ मा नेपाली काग्रेसका पूर्ब केन्द्रिय सदस्यसमेत रहेका शिव हुमागाईं पराजित भएका छन् । उनी नेकपा एमालेका विवादास्पद नेता गोकुल बास्कोटासँग लज्जास्पद हार व्यहोर्न बाध्य भए । ।

    जिल्लाको पूर्वसभापतिका साथै काभ्रे कांग्रेसमा ३० बर्षदेखि एकछत्र राज गर्दै आएका नेता हुमागाईं गठबन्धनको लगभग १८ हजार मत अगाडी हुँदा पनि ६ हजार मतान्तरले बास्कोटासँग हार व्यहोर्न बाध्य भए । नेता हुमागाईंले आफू हार्नुको कारण पार्टीभित्रको अन्तर्घात भएको सार्वजनिक रुपमै बताउन थालेका छन् ।



    उनले आफूलाई केन्द्रिय सदस्य मधु आचार्य, गणेश लामा र क्षेत्रीय सभापति तथा पाँचखाल नगरपालिकाका मेयर महेश खरेलको असहयोग तथा अन्तर्घातका कारण पराजित भएका दलिल पेश गर्न थालेका छन् ।



    हुमागाईंले आफ्नो कमजोरी ढाकछोप गर्न यस्ता आरोप लगाउन थालेको काभ्रे कांग्रेसका कार्यकर्ताहरुको बुझाई छ । राजनीतिमा अनेक तिकडम जानेका हुमागाईंले मधु आचार्यलाई राजनीतिमा अगाडी बढ्न नदिन र गोकुल बास्कोटालाई जिताउन कै लागि आफू सो क्षेत्रमा उम्मदेवार बनेको स्रोतको दाबी छ ।

    स्वाभाविक रुपमै मधु आचार्य काभ्रे २ नम्बरका बलिया उम्मेदवार थिए । स्रोत भन्छ–‘विवादास्पद बास्कोटासँग ठूलो आर्थिक चलखेल गरी हुमागाईंले कांग्रेस केन्द्रबाट टिकट हत्याएका हुन् । जनु कुरा अहिले काभ्रेमा चलेको छ ।’

    उनकै विश्वासपात्र तथा क्षेत्रीय सभापतिका उम्मेदवार सुन्दरमणि आचार्यको वडाबाट हुमागाँईलाई भन्दा बास्कोटालाई ८ सय मत र चुनाव परिचालन समितिका संयोजक एवं जिल्ला उपसभापति ठाकुर न्यौपानेको वडाबाट ५ सय मत एमाले नेता बास्कोटालाई बढी संयोगमात्र मान्न सकिने अवस्था पनि छैन ।

    आफ्नै नगर पनौतीमा हुमागाईंका विश्वासपात्र मानिने रामशरण भण्डारी मेयर छन् । त्यहाँ पनि एमाले नेता बास्कोटाले एक हजार मतले अग्रता लिएपछि कतै हुमागाईंले बास्कोटालाई त सहयोग गरिरहेका छैनन् भन्ने प्रश्न उब्जिएको छ । यतिमात्र होईन जिल्लाको राजनीतिमा तीन दशकदेखि हुमागाईंले कांग्रेसमाथि घात गर्दै एमाले उम्मेदवारलाई जिताउँदै आएको काभ्रेका एक पुराना नेताले बताए ।

    २०५१ को निर्वाचनमा क्षेत्र नं. २ बाट पनौतीका विष्णुप्रसाद हुमागाँईले टिकट पाउँदा शिव हुमागाईंले असन्तुष्टि जनाउँदै पार्टी सचिवबाट राजिनामा दिएर पार्टीमाथि अन्र्तघात गर्दै एमालेका उम्मेदवार केशव बडाललाई जिताउन भूमिका खेलेका थिए । क्षेत्र नं. ३ मा पनि हुमागाईंले राजेन्द्र खरेललाई चुनाव हराउन कुमार लामिछानेलाई बागी उठाएर काभ्रे कांग्रेसमा झगडाको बिउ रोपेका थिए । जसका कारण खरेल १ हजार ५ सय मतले हार ब्यहोर्न बाध्य भएका थिए ।

    विगतदेखि नै पार्टीभित्र खराव चरित्र देखाउँदै आएका हुमागाईंले एमालेसँगको साँठगाँठमा जिल्लामा कांग्रेसलाई कमजोर बनाउँदै आएका छन् । उनी अहिले नियोजित रुपमै आँफै चुनाब हारेर दोषारोपण जति केन्द्रिय सदस्य मधु आचार्य, गणेश लामा र महेश खरेललाई लगाउन थालेका छन् । काभ्रेका काग्रेसी नेता तथा कार्यकर्ताहरु यस विषयमा केन्द्रले गम्भिर भएर सोच्नुपर्ने बेला आएको बताउन थालेका छन् । उनीहरुले अन्तर्घातीहरुलाई कारबाहीका लागि माग समेत गरेका छन् ।

    गोकुल बास्कोटा उनै व्यक्ति हुन्, जो सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मोलमोलाई गरेको आरोपमा विवादमा तानिएका थिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार