Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मोरङमा दाउले हानेर पतिको हत्या,पत्नी दवानीदेवी प्रहरी नियन्त्रणमा

मोरङ । एक जना महिलाले बाम्फोक (दाउ)ले हानेर श्रीमानको हत्या गरेकी छन्। घरायसी विवादमा ३५ वर्षीया दवानीदेवी सरबरियाले पति ४२ वर्षीय सन्तोष सरबरियाको हत्या गरेकी हुन् ।

मोरङको जहदा गाउँपालिका-१ भुटाहामा दवानीदेवीले बाम्फोकले घाँटी र टाउकोमा प्रहार गरेर पति सन्तोषको हत्या गरेको प्रहरीले जनाएको छ।

धारिलो हतियारले घाँटी र टाउको काटिएको तथा बोल्न नसक्ने अवस्थामा घरभित्रै शनिबार राति ११:२० बजेतिर सन्तोष फेला परेका थिए।

गम्भीर अवस्थाका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो। उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना शंकास्पद देखिएपछि प्रहरीले पत्नी दवानीदेवीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। प्रहरीका अनुसार मदिराको नशामा आएर पतिले झगडा गर्न थालेपछि सहन नसकेर हतियारले हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पतिको हत्यामा संलग्न दवानीदेवीलाई घटनामा प्रयोग गरिएको हतियारसहित प्रहरीले पक्राउ गरेको छ।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077