काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पोलिटब्युरो बैठकमा लिखित प्रस्ताव पेश गरेका छन् ।
खनालले शनिबार भएको स्थायी कमिटीको बैठक मौखिक रुपमा राखेको धारणालाई सोमबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा लिखित प्रस्ताव रुपमा लगेका हुन् ।
उनले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिने बताएका छन् । लिखित प्रस्ताव राख्दै नेता खनालले कसैसँग पार्टी एकता भइहाल्ने अवस्था नभएको बताएका छन् ।
१० पृष्ठको देशको परिवर्तित स्थिति र हाम्रो दृष्टिकोणमा खनालले भनेका छन्, ‘सबै वामपन्थीहरुका आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त छन ।
तिनीहरुमा भिन्नता पनि निक्कै गहिरा गहिरा छन् । तिनीहरूलाई अहिले मिलाउन र एकरुपता कायम गर्न सकिँदैन । यतिबेला भिन्नताहरुलाई एकातिर राखेर साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प छैन ।
त्यसैले जनता, राष्ट्र र देशका साझा हितहरूलाई अघि बढाउन सबै वामपन्थीहरुकाबीच कार्यगत एकता आजको आवश्यकता हो ।’
खनालले पार्टीमा माथिदेखि तलसम्म ‘एक पद एक व्यक्ति’ प्रणाली कडाइका साथ लागू गर्न प्रस्ताव गरेका छन् । उनले सबैलाई ठोस जिम्मेवारीमा केन्द्रित बनाउनसमेत प्रस्ताव राखेका छन् ।
नेकपा एसका सम्मानित नेता खनालले माधव नेपालले केपी ओलीविरुद्ध उठाएको हतियार उनैतिर सोझ्याएका हुन् । ओलीले दलको नेता, प्रधानमन्त्री र पार्टी अध्यक्ष भएपछि नेपालले एक व्यक्ति एक पदको कुरा उठाएका थिए ।
यस्तो छ खनालको १० पृष्ठको दस्तावेजे :