Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

    कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 549
    SHARES

    फाइल तस्विर

    सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिकाका मिलन विक केही दिन अगाडि आफन्तलाई लिएर स्थानीय स्वास्थ्य संस्थामा गएका थिए । मिलनले त्यहाँ स्वास्थ्य जाँच गराए । आँखासम्बन्धी समस्या लिएर गएका उनले त्यसको औषधि भने पाएनन् ।

    औषधि नपाएपछि उनी जाँच गराएर घर फर्किए । स्थानीय स्वास्थ्य संस्थामा सरकारले दिने सबै प्रकारका औषधि अहिले पनि पाउन समस्या रहेको उनी बताउँछन् ।



    उनी भन्छन्, “एन्टिबायोटिक्स, आँखाको औषधिलगायतका सरकारले निःशुल्क प्रदान गर्ने सबै औषधि पाउन सकिन्न । विगतदेखिकै समस्या अहिले पनि कायम छ ।”



    नजिकै सरकार आएपछि ग्रामीण क्षेत्रका नागरिकले स्वास्थ्य सेवा सहज पाउने आशा जुन थियो, त्यो पूरा नभएको उनको भनाइ छ । उनी भन्छन्, “अहिले नजिकै सरकार आएको छ । तर, हिमाली जिल्लामा औषधि नपाइने अवस्था कायमै छ । अस्पताल छन्, डाक्टर छैनन्, डाक्टर छन् औषधि छैन ।”

    उनी मात्रै होइन, कर्णालीका हिमाली जिल्लाका नागरिकको समस्या यस्तै छ । उनीहरूले अहिले पनि सहजरूपले स्वास्थ्य उपचार पाइरहेका छैनन् ।

    पालिकाअन्तर्गत रहेका विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा औषधि नहुँदा बिरामी मर्कामा पर्ने गरेका हुन् । सरकारी स्वास्थ्य संस्थामा ७२ प्रकारका औषधि निःशुल्करूपमा पाइन्छ । तर, औषधि नै नभएपछि नागरिक किनेर औषधि पाउँँदैन ।

    स्वास्थ्य संस्थामा स्थानीय सरकारबाट खरिद गरी वितरण गर्ने औषधि हालसम्म खरिद भएको छैन । खत्याड गाउँपालिकाअन्तर्गत गुम्था हेल्थ पोस्टका इन्चार्ज मानबहादुर रोकाय गाउँपालिकाले समयमा औषधि खरिद नगर्ने र गाउँपालिकाको स्टोरमा भएको औषधि स्वास्थ्य संस्थामा समयमै नआउने समस्या रहेको बताउँछन् ।

    उनी भन्छन्, “पहिलेको जस्तो औषधि नपाउने अवस्था त होइन, तथापि गाउँपालिकाले समयमै औषधि खरिद गरी नपठाउँदा औषधि नपाएको नागरिकको गुनासो सही हो, यसमा सरकारले नै पहल गर्नुपर्छ ।”

    भौगोलिक विकटता र अन्य प्राविधिक समस्याले गर्दा समयमै स्वास्थ्य संस्थामा औषधि नआउने गरेको भन्दै कहिलेकाहीँ औषधि अभाव हुने गरेको उनले सुनाए । हिमाली जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीले सबै प्रकारका औषधि सहजै पाउन सक्ने अवस्था छैन । उनले भने, “औषधि नपाइने होइन पाइन्छ, तर सरकारले निःशुल्क दिने सबै प्रकारका औषधि भने पाउन मुस्किल छ ।”

    जाजरकोटका स्वास्थ्य संस्थामा पनि बिरामीले औषधि नपाएको गुनासो गरेका थिए । छेडागाड नगरपालिका नगर अस्पतालमा कार्यरत अहेब रामप्रसाद शर्माले औषधि खरिद प्रणालीबाट हुने भन्दै पालिकामा बजेट अभावले गर्दा पनि औषधि खरिद हुन नसकेको बताए । उनका अनुसार औषधि अभावभन्दा पनि खरिद प्रक्रियामा ढिलाइ भएको हो । उनले भने, “स्थानीय तहले औषधि खरिद प्रक्रियामा लिएको भए पनि बजेट अभावले समस्या हुँदा औषधि अभाव हुन गएको हो ।”

    उनका अनुसार सदरमुकामभन्दा बाहिरका पालिकाबाट सेवा लिन आएका बिरामीलाई समस्या पर्ने गरेको छ । कर्णालीका विभिन्न स्वास्थ्य संस्थामा अझै पनि बच्चाका लागि पारासिटामोल, एन्टिबाइटिक्स, आँखाको औषधि, जीवनजललगायत सरकारले निःशुल्क दिने औषधिको अभाव हुने गर्दछ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले भने औषधिको अभाव नरहेको दाबी गरेको छ ।

    स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले केही जिल्लामा औषधि अभाव भएको भन्ने सूचना आएकाले औषधि पठाउने काम भइरहेको जानकारी दिए ।

    “जाजरकोटलगायत जिल्लामा औषधि अभाव भन्ने सूचना आएको छ । हामीसँग औषधि अभाव छैन,” उनले भने, “औषधि अभाव भए नभएको बारेमा हामीले रिपोर्टिङ गरिरहेका छौँ, ती ठाउँमा औषधि पठाउने प्रबन्ध मिलाउँछौँ ।” रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार