Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बल्ल बन्ने भयो अरुण गाउँपालिकाको कार्यालय भवन

    बल्ल बन्ने भयो अरुण गाउँपालिकाको कार्यालय भवन

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । भोजपुरको अरुण गाउँपालिकाको प्रशासनिक भवन बन्ने भएको छ ।

    गाउँपालिका अध्यक्ष शालिकराम खत्रीको अध्यक्षतामा तीन दिन अगाडि बसेको बैठकले गाउँपालिकाको प्रशासनिक कार्यालय भवन बनाउने निर्णय गरेको हो ।



    अरुण गाउँपालिकामा तत्कालीन अध्यक्ष गजेन्द्रबहादुर कार्कीको पालामा गाउँपालिका भवन बनाउन बजेट विनियोजन गरेपनि भवन नबनी ‘फ्रिज’ भएर गएको थियो । खत्री अध्यक्ष भएर आएपछि भविष्यमा प्याउली बजारलाई विस्तार गर्ने र कम खर्च गर्ने उद्देश्यले उपयुक्त ठाउँमा भवन बनाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।



    गाउँपालिकाको भवन बनाउन भनेर २ पटक गरेर ५/५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर भवन बनाउने उपयुक्त ठाउँ नपाउँदा उक्त बजेट फ्रिज भएको हो । अरुण गाउँपालिकाले अस्पताल भवन बनाउने ठाउँमा प्रशासनिक भवन बनाउन खोजेको थियो तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल बनाउन लागेको ठाउँमा गाउँपालिकाको कार्यालय भवन बनाउन अंकुश लगाइदियो ।

    तीनवटा गाउँपालिका भवन बन्ने बजेट अरुण गाउँपालिकाले भाडा तिरेरै सकेको छ । अहिले गाउँपालिकाले सबै संरचना बनाउन मिल्ने गरी राजमार्गबाट जम्मा ३ सय मिटरमाथि उपयुक्त स्थानमा भवन बनाउने निर्णय गरेको हो ।

    भवन बनाउनका लागि गाउँपालिकाले २० रोपनी जग्गा अनुदानमा प्राप्त गरिसकेको छ । अरुण गाउँपालिकाको केन्द्र प्याउलीलाई विस्तार गर्न सकिने क्षेत्र मर्‍याङ्ग डाँडा, चम्पे जाने बाटो र याङपाङ जाने बाटो हुन् । चम्पे र याङपाङ जाने बाटो भौगोलिक रूपमा अप्ठ्यारो रहेकाले प्याउलीलाई बतासे डाँडा र मर्‍याङ डाँडातर्फ विस्तार गर्नु उपयुक्त देखिन्छ ।

    गाउँपालिका भवन मर्‍याङ डाँडातर्फ बन्द बजार विस्तार हुने भएकाले घर भाडामा लगाउनेहरूले भने उक्त निर्णयको विरोध गरेका छन् ।

    प्याउली बजारलाई खुम्चाउनेहरुले गाउँपालिका भवन समथर र उपयुक्त ठाउँका बन्न लागेकोमा विरोध गर्न थालेका छन् । तर अधिकांश गाउँपालिकाका मान्छेहरु अरुण गाउँपालिकाको केन्द्र प्याउली बजार विस्तार हुने र भवन सुरक्षित र फराकिलो स्थानमा बन्न लागेकामा खुसी देखिन्छन् ।

    कार्यपालिकाले बजारमै उपलब्ध जग्गा हेरेपनि बाटो नभएको र भिरालो भएपछि कम खर्चमा सुविधा सम्पन्न भवन बन्ने ठाउँ रोजेको देखिन्छ । उक्त ठाउँमा गाउँपालिकालाई आवश्यक पर्ने अन्य भवनहरु पनि बनाउन सकिने अवस्था रहेको छ ।

    ‘भाडाका नाममा वार्षिक २०/२२ लाख गाउँपालिकाको खर्च भइरहेको छ । अहिले निर्णय नगरे यसपटक बजेट फ्रिज हुने सम्भावना थियो । बाढी पहिरोबाट सुरक्षित रहेको र भविष्यमा प्याउली बजार विस्तार हुने दिर्घकालीन सोचका साथ गाउँपालिका भवन बनाउने निर्णय भएको छ’, एक कार्यपालिका सदस्यले भने ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार