काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच एकताको प्रयास भइरहँदा नेकपा एमालेले त्यसलाई असफल बनाउने रणनीति अबलम्बन गरेको चर्चा चुलिएको छ ।
पार्टी एकीकरणपूर्व एक अर्काको दस्तावेज अध्ययनमा लागेका दलहरूबीच सरकारमा सहभागिताको विषय उठाएर ओलीले एकता असफल बनाउन खोजेको टिप्पणी गर्दै एकीकृत समाजवादीका एक नेताले बताए ।
एकीकृत समाजवादीका एक नेताले भने– ‘नेकपा एससँग पार्टी एकताका लागि छलफल गरेर दस्तावेज अध्ययनमा लागेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर शनिबार एमाले अध्यक्ष ओलीले सरकारमा सहभागिताका विषयमा किन छलफल गर्नुभयो ?’ एकीकृत समाजवादीसँगको एकता वार्ताकै कारण जसपालाई सरकारमा सहभागी गराउन नसकिएको ओलीको भनाइ रहेको अध्यक्ष यादवले पार्टी नेताहरूलाई जानकारी गराएका थिए ।
‘सरकारमा सहभागी हुने वातावरण हुँदाहुँदै पनि तपाईंहरू आफैंले बिगार्नुभयो’, ओलीले अध्यक्ष यादवलाई भनेको कुरा उद्धृत गर्दै जसपाका एक नेताले भने– ‘एकीकृत समाजवादीसँग एकता वार्ताले तपाईंहरूलाई सरकारमा लाने वातावरण बिथोलियो ।’
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत एकीकृत समाजवादीलाई पनि सरकारमा सँगै लिएर जान चाहेको भए पनि ओलीले त्यसमा आपत्ति जनाएपछि प्रचण्ड पछि हट्नुपरेको माओवादी श्रोतको दाबी छ । नेपाल समाचारपत्र दैनिकबाट