Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ३० करोड भ्रष्टाचारमा संलग्न बोहोरालाई शहरीका सचिवले दिए तीन आयोजनाको जिम्मा

    ३० करोड भ्रष्टाचारमा संलग्न बोहोरालाई शहरीका सचिवले दिए तीन आयोजनाको जिम्मा

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 2.6K
    SHARES

    काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गत विश्व बैंकको सहयोग रहेको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना(एनयुजीआईपी) को परामर्शदाता छनोटमा २० करोडभन्दा बढी अनियमितता गर्ने सहसचिव रविन्द्र बोहरालाई सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले तीन वटा ठूला आयोजनाको प्रमुख बनाएका छन् । सहरी विकास मन्त्रालयका बरिष्ठ सहसचिवहरु घाम तापेर दिन बिताइरहेका छन् । तर १३ औं नम्बरका जुनियर सहसचिव रविन्द्र बोहरालाई सचिव आचार्यले नयाँ सरकार आइसकेपछि अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको सदस्य सचिवको जिम्मेवारी दिएका छन् ।

    १३ सहसचिवमध्ये बरिष्ठहरुलाई एउटा पनि जिम्मेवारी दिइएको छैन । तर १३ औं नम्बरका कनिष्ट सहसचिव रविन्द्र बोहरालाई ३ वटा महत्वपूर्ण आयोजनाको प्रमुखको जिम्मा दिएर सचिव आचार्यले निजामती सेवा ऐन नियमकै धज्जी उडाएका छन् ।



    मेटमणि चौधरी मन्त्रीबाट बिदा भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी विकास मन्त्रालय सम्हालेको बेला सचिव आचार्यले बोहरालाई अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको पनि सदस्य सचिवको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई गुमराहमा पारी १२ जना बरिष्ठ सहससचिव हुँदाहुँदै बोहरालाई समितिको सदस्य सचिवको जिम्मेवारी दिएर सहरी विकास मन्त्रालयका बरिष्ठ सहसचिवहरुको मनोबल गिराउने काम प्रशासनिक नेतृत्व गरेका सचिव आचार्यबाटै भएको छ ।



    बल्लबल्ल खानेपानी मन्त्रालय पाए पनि उमाकान्त चौधरीसँग कमाउने मामलामा कुरा नमिलेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा खेदिएका सचिव आचार्य मन्त्री नियुक्त भएपछि पाइने हो कि होइन भनेर कमाउधन्दामा लिप्त थिए । सहरी विकास मन्त्रालयमा पूर्व सचिव रमेशकुमार सिंहको पालामा अरबौ अरबका एडीबी र वल्डबैंकका आयोजना प्रमुख भएका र परामर्शदाता र कन्ष्ट्रक्सनको ठेक्कामा करोडौंको सेटिङ गरेका बोहरा यसअघि नै एनयुजीआईपीको प्रमुख र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख छन् ।

    यी दुई ठूला आयोजनाको प्रमुख भइरहेकै बेला मन्त्रालयका सबैभन्दा कनिष्ट सहसचिव बोहरालाई अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सदस्य सचिवको जिम्मेवारी सचिव आचार्यले दिएका छन् । १२ बरिष्ठ सहसचिव हुँदाहुँदै सबैभन्दा जुनियर बोहरालाई अधिकारसम्पन्न बागमतीको सदस्य सचिवको जिम्मा दिंदा ५ करोडको चलखेल भएको चर्चा सहरी विकास मन्त्रालयभित्रै चर्चा छ ।

    सहरी विकास मन्त्रालयअन्तर्गत बरिष्ठ सहसचिवहरु पदमकुमार मैनाली, रामचन्द्र ंदंगाल, दिलीप भण्डारी, कुमार घिमिरे, प्रकीर्ण तुलाधरहरुमध्ये कतिपयले एउटा पनि जिम्मेवारी पाएका छैनन् । तर बोहराले तीन वटा आयोजनाको प्रमुख पाएका छन् । बजेटका हिसाबले पनि एनयुजीआईपी आयोजना १५० मिलियन डलर अर्थात् १६ अर्ब रुपैयाँ बराबरको हो । बन्चरेडाँडा ल्याण्डफिल साइड आयोजना २ अर्बको हो भने अधिकार सम्पन्न बागमती सभ्यता विकास समिति ४ अर्बको हो । आर्थिक चलखेलमा सहरी विकासका २१ अर्ब रुपैयाँ बजेटका ३ वटा आयोजनाको प्रमुख कनिष्ट सहसचिव बोहरालाई बनाएर सचिव आचार्यले गरेको गलत निर्णयलाई नयाँ मन्त्री विक्रम पाण्डेले सच्याउने अपेक्षा मन्त्रालयका प्रथम श्रेणीका कर्मचारीले गरेका छन् ।

    ३ वटा आयोजनाका फरक–फरक ठाउँमा कार्यालय छन् । एनयुजीआईपीको कार्यालय सहरी विकास विभाग बबरमहलमा छ । बन्चरेडाँडा आयोजना बन्चरेडाँडामै छ । अधिकारसम्पन्न बागमतीको कार्यालय गुह्येश्वरीमा छ । यी तीन वटा कार्यालयमा एकै दिन पुग्न हेलिकोप्टर नै चाहिने सहरी विकास तथा भवन विभागका एक इन्जिनियरले बताए ।

    बोहराले एनयुजीआईपी आयोजनामा कुनै एक कन्सलटेन्सीसँग सेटिङ गरी १० करोड रुपैयाँ नेपाल सरकारलाई नोक्सान पारी युडीएसटीको परामर्श सेवाको सम्झौता गर्न चाँजोपाँजो मिलाइरहेका छन् । ११ करोडको बोलपत्र पेश गरेको कम्पनीलाई नदिई २४ करोड रुपैयाँ कबोल गरेको कन्सलटेन्सीलाई दिनेगरी बोहराले सेटिङ गरिसकेका छन् । मिलेमतोमा एक इन्जिनियरको बायोडाटामा कैफियत देखाएर ११ करोडको बोलपत्र पेश गर्ने कन्सलटेन्सीलाई ठेक्का नदिई २४ करोड प्रस्ताव हालेको परामर्शदाता कम्पनीलाई दिने तयारीमा छन् । यसअघि एनयुजीआईपीको कन्सलटेन्सी छनोटमा पनि आयोजना प्रमुख बोहराले दस करोडभन्दा बढी अनियमितता गरेका थिए ।

    गएको असारमा एनयुजीआईपी आयोजनाका दुई वटा प्याकेजको ८२ करोड रुपैयाँको परामर्शको कार्यमा गोप्य क्राइटेरिया आउट गरी सेटिङको कम्पनीलाई दिएको बिषयमा संसदको विकास समितिमा उजुरी परेको थियो । विकास समितिले उक्त परामर्शदाता छनोट रोक्न निर्देशन दिए पनि नेकपा एसका नेताहरुलाई २ करोड रुपैयाँ घुस दिएर विकास समिति सभापति कल्याणी खड्कालाई समेत अनियमितता छानबिन गर्नबाट रोकिएको थियो । र, ६० करोडमा हुने परामर्शको काम ८२ करोडमा दिएर २० करोड घोटाला भएको थियो । आयोजना प्रमुख बोहराले ११ करोडमा बोलपत्र पेश गरेको परामर्शको कार्य पनि पुनः आर्थिक प्रस्ताव मागेपछि एक इन्जिनियरको बायोडाटामा कैफियत देखाई पुनः सेटिङकै कम्पनीलाई दिनन बोहरा दिनरात लागिरहेका छन् । असारमा ८२ करोडको परामर्शदाता छनोटमा २० करोड र अहिले १३ करोड भ्रष्टाचार गरिसकेपछि बोहरा पुनः अधिकार सम्पन्न बागमतीको आयोजना प्रमुखमा फड्को हानेका छन् ।

    विकास समितिमा असारमा परेको उजुरीमा सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत NUGIP/UDST आयोजनाका प्रमुख रविन्द्र बोहराले व्यापक अनियमितता गरी करिब ६० करोड लागतको पीएमएसटी र २२ करोड लागतको युडीएसटीको परामर्शदाता छान्ने क्रममा परामर्शदाता छान्नलाई बनाइएको गोप्य क्राइटेरिया नै बोहराले सेटिङ भएको कम्पनीलाई दिएका थिए । यसरी दुवै आयोजनाको परामर्शदाता छनोट अघि नै २० प्रतिशत घुस आयोजना प्रमुख रविन्द्र बोहरा र सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले लिएको आरोप छ ।

    एडीबीको क्षेत्रीय सहरी आयोजनादेखि विश्वबैंक लगायतका दाताका अरबौं सहयोग रहेका सबै आयोजनामा रजगज गर्ने बोहरा सहरीमा अकूत सम्पत्ति आर्जन गर्ने सहसचिवमा पर्दछन् । यस्ता भ्रष्ट आयोजना प्रमुख जो मन्त्री र सचिव आए पनि सेटिङ गर्ने गरेका छन् । सहरी विकास मन्त्रीका रुपमा आएका विक्रम पाण्डे पनि ठेकेदार हुन् भन्दै बोहराले उनलाई पनि प्रभावमा पारी सबै आयोजनाको प्रमुख आफू नै हुने भन्ने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार