धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल भत्काएर फरार भएका थुनुवाहरूमध्ये एकजना पुनः पक्राउ परेका छन् । प्रहरीले हातहतियार मुद्दाका आरोपित मिथिला नगरपालिका –६ का २८ वर्षीय रोशन महतोलाई फरार भएको १२ घण्टा नपुग्दै पक्राउ गरेको हो ।
सोमबार बिहान इलाका प्रहरी कार्यालयको पर्खालबाट ६ जना थुनुवा पर्खाल नाघेर भागेका थिए । जिल्ला प्रहारी कार्यालय धनुषाका अनुसार महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
प्रहरी हिरासतबाट फरार अन्य ५ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले ‘सर्च अपरेसन’ चलाई खोजतलास गरिरहेको छ ।
हिरासतबाट ६ जना थुनुवा एकैसाथ फरार भएपछि ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका दुई प्रहरीलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन् । लागूऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवामध्ये ६ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर बिहान ३ बजे फरार भएका थिए ।
प्रहरी हिरासतमा रहेका लागूऔषध मुद्दाका विनोद कुमार शर्मा, सार्वजनिक अपराध मुद्दाका अमित मण्डल, रोशन यादव, अभद्र व्यवहार मुद्दाका हसिम सिंह, रोशन महतो र हातहतियार मुद्दाका आरोपित रोशन महतो र शंकर सिंह पर्खाल भत्काएर फरार भएका थिए ।