Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रहरीको ठेक्का सेटिङ : ४ करोडको हिमाली सामानको ठेक्का राजमान मिश्रको कम्पनीलाई

    प्रहरीको ठेक्का सेटिङ : ४ करोडको हिमाली सामानको ठेक्का राजमान मिश्रको कम्पनीलाई

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले ठेकेदार राजमान मिश्रलाई ४ करोड रुपैयाँको हिमाली सामान(स्नो आइटम)को ठेक्का सेटिङमा दिएको खुलासा भएको छ ।

    पूर्ववर्ती सरकारका अर्थमन्त्री जनार्दन शर्मा पदबाट बिदा हुने समयमा आइजीपी धिरजप्रताप सिंहलाई भनसुन गराई ४ करोड २० लाख रुपैयाको हिमाली सामानको ठेक्का सेटिङमा लिएका छन् । प्रहरीका लागि पहाडी र हिमाली १९ जिल्लामा जुत्ता, मोजा, पंजासहितका ८ किसिमका सामान खरिद गरिएको छ ।



    प्रहरी प्रधान कार्यालयबाट सोझै ४ करोड २ लाख रुपैयाँको खरिद गर्नका लागि टेण्डर गर्नुपर्ने सार्वजनिक खरिद ऐन नियममा ब्यवस्था छ । त्यो नियम छल्नका लागि १९ वटै जिल्लामा प्रहरी प्रधान कार्यालयको प्रबन्ध हेर्ने तत्कालीन डीआइजी दीपककुमार थापाले प्रत्येक जिल्लामा नमूना पठाउन लगाए । ठेकेदार मिश्रकै सामान खरिद गर्नू भन्ने निर्देशन जिल्लाका प्रहरीका प्रमुखलाई दिए ।



    कानुनतः जिल्लाबाट खरिद गरिएको देखिए पनि सेटिङ भने प्रहरी हेडक्वाटरबाटै गरिएको छ । स्रोतका अनुसार राजमान मिश्रको मात्र खरिद गर्नेगरी १९ वटा जिल्लाबाट हिमाली सामान सेटिङमा खरिद गर्न लगाएर कुस्त कमिसन दीपक थापामार्फत् मिश्रले आइजीपी सिंहलाई बुझाएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रले १९ जिल्लामा ४ करोड २० लाखका कस्ता कस्ता सामान बुझाए, त्यसको अनुसन्धान गर्ने हो भने पनि प्रहरीभित्र कसरी सार्वजनिक खरिद ऐन नियमको छिद्र खोजेर भ्रष्टाचार हुन्छ, गुणस्तरहीन सामान खरिद हुन्छ भन्ने छर्लङ्ग हुन्छ । प्रहरी स्रोत भन्छ–सज्जन चौधरी नामका बिचौलियाले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई मेरियट होटलमा भेटी मिश्रलाई ४ करोड २० लाखको हिमाली आइटमको सामानको ठेक्का बोलपत्र नै नगरी सेटिङमा आपूर्ति गर्ने ठेक्का मिलाएका थिए ।

    सप्तरी घर भएका चौधरी प्रायः मेरियट होटलमै ठेक्कादेखि विभिन्न सेटिङमा ब्यस्त हुने गरेका छन् । मेरियट होटलका संचालक शशीकान्त अग्रवालसँग पनि उनको बाक्लो उठबस रहेको छ ।’

    नेपाल प्रहरीमा धिरजप्रताप आइजीपी भएपछि सामान खरिदमा टेण्डर हुनै छाडेको छ । सार्वजनिक खरिद ऐन नियम अनुसार २० लाख भन्दा बढीको सामानको खरिदमा टेण्डर गर्नैपर्छ । ऐनको यो ब्यवस्थाका कारण खरिदमा सेटिङ गर्न संभव छैन ।

    खरिदमा मोटो कमिसन खानका लागि आइजीपी सिंह र डीआइजी थापाले जिल्ला जिल्लाबाट खरिदको चाँजोपाँजो मिलाए । तर ठेकेदारसँग सेटिङ भने काठमाडौंमै गरी भुक्तानी जिल्ला जिल्लाबाट लिनेगरी सामान खरिद गर्ने क्रम १ बर्षयता भएको छ ।

    सिंह आइजीपी भएको २ महिनामै गुणस्तर फेल भएको डीएमएस बुट पनि ठूलो कमिसनको चलखेलमा जिल्ला जिल्लाबाट खरिद गरिएको थियो ।

    जुत्ता पनि सबै जिल्लामा एउटै ठेकेदारबाट खरिद गर्नेगरी केन्द्रबाटै सेटिङ गरिएको थियो । डीएमएस बुट चर्को मूल्यमा जिल्ला जिल्लाबाट खरिद गरिएको थियो ।

    बुटका साथै म्याट्रेस तीन गुणा बढी दरमा किनिएकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ ।
    राजमान मिश्रले म्याट्रेसको ठेक्का पाएका थिए । बुटको प्रधानले पाएका थिए ।

    करिब ६ हजार रुपैयाँ पर्ने म्याट्रेसलाई भ्याटसहित १३ हजार २६९ रुपैयाँ मूल्य बनाएर खरिद गरिएको थियो ।
    स्रोतका अनुसार मिश्रले खरिद गरेको म्याट्रेसको मूल्य ५ हजार ८०० रुपैयाँ हो । तर, आईजी सिंहको सेटिङमा झन्डै तेब्बर मूल्य बनाएर मिश्रले म्याट्रेस खरिद गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार