Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सुदूरपश्चिममा डीआईजी सिंहको दमदार ‘इन्ट्री’ : चोक चोकमा प्रहरी, ठाउँ ठाउँमा चेकिङ

    सुदूरपश्चिममा डीआईजी सिंहको दमदार ‘इन्ट्री’ : चोक चोकमा प्रहरी, ठाउँ ठाउँमा चेकिङ

    लागूऔषधविरुद्ध महाअभियान सुरु गर्ने तयारी

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 2.1K
    SHARES

    कैलाली । यही माघ ४ गते मात्रै सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका डीआईजी अशोक सिंहले अपराधिक गतिविधि नियन्त्रणमा मात्रै होइन प्रहरी कर्मचारीको कार्यशैलीमा समेत परिवर्तन ल्याएका छन् ।

    यसअघि प्रहरी कार्यालयमा मस्तसँग आराम गरिरहेका कर्मचारीहरूलाई डीआईजी सिंहले सडकमा उतारेका हुन् । कुनै ठाउँमा घटना घटे लगत्तै प्रहरीलाई त्यहाँ परिचालन गर्ने उद्देश्यसहित उनले प्रहरी कर्मचारीलाई सुरक्षाका सामग्रीसहित सडकमा तैनाथ गरेका छन् ।



    उनले कमाण्ड सम्हाले लगत्तै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी लगायत अन्य क्षेत्रमा फरक दृश्य देखिए । कतिपय नागरिकहरूले कुनै उच्च व्यक्तिको सवारी हुँदैछ की भन्ने सोचे । सडकमा प्रहरीको बाक्लो उपस्थिती देखेपछि स्थानीयले सोध्ने गर्थे किन आज यसरी प्रहरी सडकमा उत्रिएका छन् ? की कुनै नेता आउँदै छन् ? तर डीआईजी सिंहले कुनै पनि स्थानमा घटना घटे तुरुन्तै सुरक्षाकर्मी पठाउने उद्धेश्यले कर्मचारीलाई तयारी अवस्थामा राखेका हुन् ।



    उनी भन्छन्– “नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन फिल्डमा प्रहरी कर्मचारी खटाएको हुँ । अब कुनै स्थानमा घटना भए प्रहरी तुरुन्तै घटनास्थलमा पुग्छ । घटना घटे पछि तयारी गर्दा ढिलो हुने भएका कारण पहिले नै सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छु ।”

    उनका अनुसार अब घटनास्थलमा प्रहरीको टोली तत्काल पुग्ने छ । यति मात्रै होइन डीआईजी सिंहले कमाण्ड सम्हालेदेखि यस क्षेत्रका भारतसँग सीमा जोडिएका नाकामा चेकजाँचमा कडाइ गरेका छन् । प्राय: दैनिक जसो कैलालीको त्रिनगर नाका, कञ्चनपुरको गड्डाचौकी नाका लगायतका सीमामा तालिम प्राप्त कुकुरसहित चेकजाँच हुने गरेको छ ।

    डीआईजी सिंहको निर्देशनपछि सिमानाकाबाट हुने लागुऔषध तस्करी र विस्फोटक पदार्थ तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मी नाकामा परिचालन गरिएको छ । सोही अनुसार अहिले नाकामा लागुऔषध ओसारपसार गर्ने व्यक्तिहरू धमाधम पक्राउ परिरहेका छन् ।

    डीआईजी सिंहका अनुसार अहिलेसम्म ६० जना भन्दा बढी औषध दुर्व्यसनी तथा ओसारपसारमा संलग्न व्यक्तिहरू पक्राउ परिसकेका छन् । लागूऔषधका लागि ट्रान्जिट प्वाइन्ट बन्दै गएको कैलालीमा डीआईजी सिंहले कमाण्ड सम्हालेको १५ दिनमै ६० जना भन्दा बढी पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । यस्तै डीआईजी सिंहले सुदूरपश्चिममा लागूऔषध नियन्त्रण गर्न लागूऔषधविरुद्धको महाअभियान सुरुवात गर्ने तयारी भइरहेको बताए ।

    “लागुऔषध दुर्व्यसन र ओसारपसार एकैचोटी ह्वात्तै बढेको होइन । यो बिस्तारै बढ्दै आएको हो अहिले यो अवस्थामा पुग्दा खेरी पहिला यहाँका स्थानीय नागरिक यहाँका सरकारी गैरसरकारी निकाय सम्पूर्णले आफ्नो काम कारबाही के ग¥यो ? यो अवस्थामा कसरी पुग्यो त ? लागुऔषधमा समातिने मानिस अपराधी होइनन् उनीहरू बिरामी हुन् । त्यो बुझ्नु जरुरी छ” उनले भने ।

    प्रदेश प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिकासँग समन्वय गरेर लागुऔषधविरुद्धको महाअभियान सुरु गर्ने डीआईजी सिंहको भनाई छ ।

    उनले भने “महाअभियान अन्तर्गत धेरै क्रियाकलापहरू हुन्छन् । स्कुलमा र स्थानीय स्तरमा गएर हामी त्यसको बारेमा सचेत गराउने कार्यक्रमहरू ल्याउँछौँ । जनतामा जान्छौ । कुन कुन ठाउँमा लागु औषध दुर्व्यसन गतिविधि, ओसारपसार हुन्छ त्यस्ता ठाउँमा त्यस्ता व्यक्तिहरूलाई व्यापक रूपमा डिटेक्ट गर्ने र डिटेक्ट गरिसकेपछि लागु औषध दुर्व्यसनीमा फसेकाहरू अपराधी होइनन् तिनीहरू चैँ बिरामी हुन् । तिनीहरूलाई उपचार दिनुपर्छ । भन्ने कन्सेप्टमा हामीले काम गर्छौ ।”

    यस्तै उनले धनगढी उपमहानगरपालिकासँग समन्वय गरेर सुधार गृह स्थापना गर्ने र त्यहाँ उपचार केन्द्रको रूपमा स्थापित गरी त्यसलाई सञ्चालन गर्ने सन्दर्भमा हाम्रो सहकार्य भइरहेको बताए । महाअभियानको वृहत् रूपमा छलफल, हातेमालो गरेर उपमहानगरपालिका तथा सम्पूर्ण प्रदेशअन्तर्गत रहेका सरकारी गैरसरकारी, स्थानीय क्लब, आम नागरिक सबैलाई समेटेर अगाडी बढ्ने गरी पूर्व तयारीमा लागेको समेत डीआईजी सिंहले बताए ।

    यस्तै उनले सुदूरपश्चिममा अपराधिक गतिविधि रोक्न तीन वटा लेय्यरमा काम गर्ने बताए । उनले सीमा सुरक्षा योजना, राजमार्ग सुरक्षा योजना र सहरी तथा बजारी सुरक्षा योजना बनाएर काम गरिरहेको बताए । सीमामा हुने चोरी तस्करी नियन्त्रण, राजमार्गमा हुने दुर्घटना नियन्त्रण र बजार तथा सहरी क्षेत्रका के कस्ता गतिविधि भइरहेका छन् भन्ने तर्फ आफ्नो ध्यान केन्द्रित रहेको डिआईजी सिंह बताउँछन् ।

    त्यस्तै सिटी सेक्युरिटी म्यानजमन्ट, हाइवे सेक्युरिटी म्यानजमन्ट, बोर्डर सेक्युरिटी म्यानजमन्टलाई कडाइका साथ लागु गर्न मातहतका प्रहरी निकायलाई डीआईजी सिंहले निर्देशन दिइसकेका थिए । यसका लागि कार्ययोजना बनाएर मातहत प्रहरी कार्यालयहरुले अहोरात्र प्रहरी परिचालन गरी कमाण्डरहरुले रोल मोडेलमा कार्य गर्नुपर्ने उनले निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार