Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बालाजु घटना प्रकरण : प्रहरी असफल !

    बालाजु घटना प्रकरण : प्रहरी असफल !

    ल्होत्से महलबाट चोरी भएका ८ करोड बराबरको मोबाइल क्षतीपूर्ति कसले दिने ?

    कुमार भण्डारी
  • मंगलबार, २ फाल्गुन २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । सोमबार दिउसो एकाएक नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बन्यो । यातायात मजदुर र उनीहरूका संगठनहरूले आन्दोलन गर्दा बालाजु क्षेत्र तनावग्रस्त बनेको हो । यातायात व्यवसायीहरुको आन्दोलनका कारण प्रहरीका सवारीमात्रै जलाइएनन् बसपार्क भित्र रहेको ल्होत्से महलमा तोडफोड समेत भयो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात संघले संयुक्त रूपमा गरेको आन्दोलन शान्तिपूर्ण भनिए पनि एकाएक उग्र बन्न पुगेको थियो । आन्दोलनका क्रममा आन्दोलनकारीहरुले दुइटा प्रहरी भ्यान र प्रहरी बिट नै जलाए भने मोवाइल पसलमा तोडफोड गरेर मोबाइल समेत लुटे र प्रहरीमाथि ढुंगामुढा पनि गरे ।

    करोडौं क्षती हुने गरी भएको आन्दोलनका क्रममा ल्होत्से महलमा रहेको मोवाइल पसलमा चोरी समेत भयो । दिन दहाडै मोवाइल पसल फोडेर चोरी हुँदा प्रहरी भने मुकदर्शक बन्यो । हुनत प्रहरी आफ्नै सवारी जलाउँदा समेत मुकदर्शक बनेको थियो ।



    सुरूमा भीडले प्रहरीमाथि ढुंगामुढा र तोडफोड गर्दा पनि प्रहरीले बल प्रयोग गरेन । सर्वसाधरणको बाक्लो उपस्थितिले गर्दा प्रहरी पुगे पनि जवाफी बल प्रयोग नगरेको काठमाडौं प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी हिमालयकुमार श्रेष्ठले भने–‘उनीहरू उग्र बने पनि प्रहरीले छेकेर बस्यो । किनभने सर्वसाधारणका सवारीसाधन, पैदलयात्रु, बटुवाहरू थिए । उनीहरूलाई क्षती पुग्छ भनेर प्रहरीले बल प्रयोग गरेन । यसो गरिबस्दा एकतर्फी प्रहार भइरह्यो । ढुंगामुढा हुँदा केही प्रहरी घाइते पनि भए ।’



    पछि प्रहरीले भीडलाई तितरबितर पार्न बल प्रयोग गर्यो, जतिवेला आन्दोलनले उग्र रुप लिइसकेको थियो । सशस्त्र प्रहरीबाट पनि एसपीको कमान्डमा दुई सय ६५ जनाभन्दा बढी परिचालन पनि भए । तर, क्षती भइसकेपछि । जसले कुनै अर्थ नै राखेन ।

    ट्राफिक जरिवानालाई लिएर व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । यसअघि ट्राफिक नियम उल्लंघन गरे पाँच सय, एक हजार र एक हजार पाँच सय रूपैयाँ जरिवाना हुने व्यवस्था थियो । पुस ३ गतेदेखि ट्राफिक प्रहरीले न्यूनतम जरिवाना नै एक हजार पाँच सय रूपैयाँ हुने नियम ल्यायो । यातायात मजदुरहरूले यसमा असन्तुष्टि जनाए । छलफलपछि यो व्यवस्था स्थगित गर्ने निर्णय भएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख डिआइजी मिरा चौधरीले पनि यसलाई पुरानै व्यवस्थाअनुसार न्यूनतम पाँच सयदेखि एक हजार पाँच सय रूपैयाँसम्म नै गरेको बताइन् ।

    ‘प्रत्यायोजित अधिकार प्रयोग गर्ने क्रममा अधिकतम जरिवानाको कुरामा पुनर्मूल्यांकन भएर ऐनमा जे कुरा उल्लेख भएको छ त्यही गरेका छौं । पहिले जे थियो त्यसैलाई निरन्तरता दिन थालेका हौं,’ उनले भनिन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१, १६२ लगायत संशोधन र चालकको लाइसेन्स निलम्बन गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो ।

    यस विषयमा फागुन ८ गतेभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी यातायात व्यवस्था विभागका महानिर्देशक तुलसी गौतमको संयोजकत्वमा यातायात क्षेत्र सुधारका विषयमा कार्यदल गठन गरिएको थियो । त्यसअघि शनिबार यसका प्रतिनिधिहरूले पेरिसडाँडामा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेटेका थिए । भेटेर आफ्ना मागहरू राखेका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले यातयात सेवा ठप्प पार्नुपर्ने अवस्था नआउने पनि बताएका थिए ।

    यातायातका मजदुरहरूले देशको एक मात्र केन्द्रीय बसपार्कलाई पनि सरकारले निजी कम्पनीलाई ठेक्कामा दिएको भन्दै गुनासो गरेका थिए । पार्किङहरू निजी कम्पनीलाई दिँदा मजदुरहरूबाट उनीहरूले चर्को शुल्क असुली गरिरहेको उनीहरूको भनाइ छ । चालकको लाइसेन्स नवीकरणमा ६० वर्षे उमेरको हदले गर्दा क्षमता भएकाहरू पनि बेरोजगार बन्न बाध्य भएकाले ऐनमा रहेका उक्त व्यवस्था हटाउन माग गरेका थिए । त्यस्तै चक्रपथमा चल्ने सवारीसाधनका लागि पार्किङ नभएकाले व्यवस्था गरिदिन पनि माग गरेका थिए ।

    तर, सोमबार उनीहरुले कसैको कुरा सुनेनन् । एकाएक आन्दोलनमा होमिए । जसको फलस्वरुप ठूलो क्षती हुन पुग्यो । आन्दोलनमा दुई दर्जन प्रहरी घाइते भए । घाइतेमध्ये दुई जनाको टाउकोमा चोट लागेको छ । सोमबारको घटनापछि सामाजिक सञ्जालदेखि मिडिया समेत दुई भागमा विभाजित भएका छन् ।

    एकाथरीले प्रहरीले सार्वजनिक सम्पत्ति र आम सर्वसाधरणको सुरक्षाका गर्न नसकेको अरोप लगाइरहेका छन् भने अर्काथरीले प्रहरीलाई आवश्यक अधिकार नदिदाको परिणाम भनिरहेका छन् । जसले गर्दा यो काण्डमा केही दिन अघिको घटना पनि जोडिन पुगेको छ । केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठि प्रहार भएको घटनामा प्रहरी नै निलम्बनमा परेका छन् ।

    बाटोमा हिड्न दिंदा आदेशको पालना नगरेको भनेर साना प्रहरीमाथि अफिसर्सले कारबाही गर्ने, हिड्न नदिंदा निलम्बनमा परेको घटनाले अहिले फेरि चर्चा पाएको छ । विशिष्ठ व्यक्तिको सवारीका बेला सडकमा हिड्न नपाइने नियम अनुसार प्रहरीले रोकेको भएपनि चिकित्सक आफै प्रहरीमाथि जाइलाग्दा उक्त घटना हुन पुगेको बताइएको छ । तर, चिकित्सकमाथि लाठि प्रहार गर्ने प्रहरी अहिले निलम्बनमा परिसकेका छन् । सोही घटना दोहोरिन सक्ने भयले सोमबार प्रहरी मुकदर्शक बन्दा ठूलो क्षती हुन पुग्यो । जसको फलस्वरुप प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टलाई जिम्मेवारीबाट हटाइएर रानिपोखरी तानिएको छ ।

    आफ्ना माग सम्बोधनका नाममा सरकारी र निजी सम्पत्तिमाथि क्षती पुग्ने गरी भएको सोमबारको आन्दोलन गलत नै हो । सम्बन्धित निकायमा गएर माग राख्नुपर्नेमा सडकमा उत्रिएर सर्वसाधरणलाई दुःख दिएर सरकारी र निजी सम्पत्तिमाथि क्षती पु¥याएर यातायात व्यवसायीको आन्दोलन पूर्ण भयो त ? अखिर मन्त्रालयमा बसेर बार्ता गर्नै पर्ने रहेछ त किन त्यत्रो क्षती हुनेगरी आन्दोलन गर्नुपथ्र्यो ? मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायतसँगको वार्तापछि मजदुर संगठनले हडताल फिर्ता लिन सहमत भएका थिए ।

    मन्त्री श्रेष्ठको सचिवालयमा रहेका विजय गौतमले सोमबारको घटनामा संलग्नलाई कारबाही गर्ने र मजदुरका जायज माग समाधानका लागि सरकारले पहल गर्ने सहमति भएको जानकारी दिए । मजदुरका माग सम्बोधनका लागि यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतम नेतृत्वको कार्यदलले ११ गतेभित्र आवश्यक छानबिन गरेर सुझाव दिने सहमति भएको छ । त्यस्तै नयाँ बसपार्कभित्रको विवाद समाधान गर्न काठमाडौं महानगर, मजदुर र बसपार्क व्यवस्थापकबीच मन्त्रालयले समन्वय गर्ने सहमति भएको गौतमले जानकारी दिए ।

    अर्को महत्वपूर्ण कुरा आन्दोलनका क्रममा भएको क्षतीको पूर्ति अब कसले गर्छ ? सोमबार यातायात मजदुरहरूको प्रदर्शनका क्रममा ल्होत्से मलमा सञ्चालित मोबाइल पसलमा लुटपाट भएको थियो । पसलको सिसा र सटर तोडेरसमेत मोबाइल लुटिएको थियो । पसल तोडेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन् ।

    पसलको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ । नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्षसमेत रहेका पसलका सञ्चालक अर्जुन चालिसेले करिब ८/९ करोड रुपैयाँबराबरको मोबाइल लुटिएको दावी गरेका छन् । ल्होत्से मलमा रहेका उनको दुई वटा मोबाइल पसलमा लुटपाट भएको हो । चालिसेको एसीडीसी मोबाइल पसल र डायमन्ड स्टार इन्भेस्टमेन्ट ग्रुप प्रालिमा लुटपाट भएको हो ।

    चालिसेका अनुसार मलमा भएको काठमाडौं सुपर मार्केटमा समेत लुटपाट भएको छ । अब यसको क्षतीपूर्ति कसले ब्यहोर्छ ? प्रश्न गम्भिर र सोचनिय छ । यातायात व्यवसायीको माग त मन्त्रालयमा बसेर छलफल गरेपछि सम्बोधन हुने भएको छ र मंगलबार नै आन्दोलन फिर्ता समेत भइसकेको छ । अब मोवाइल सञ्चालकको माग कसले सम्बोधन गर्छ ?

    नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले भने सोमबारको घटनामा संलग्नलाई कारबाही र व्यवसायीलाई राज्यले क्षतीपूर्ति दिनुपर्ने बताएका छन् । अध्यक्ष भट्टराईले भने, ‘२ वटा पसलमा करिब ८/९ करोड रुपैयाँबराबरको लुटपाट भएको छ । दिनदहाडै हाम्रा पसलमा लुटपाट भएको छ । व्यवसायीले गरीखाने वातावरण देखिएन । राज्यले क्षतीपूर्ति नदिए हामीले संघर्षका कार्यक्रमहरू अगाडि बढाउँछौँ ।’ दिउँसै यसरी लुटपाट हुँदा व्यवसायीहरूको आत्मबल कमजोर हुने उनले बताए ।

    आफूहरूलाई विभिन्न ९ वटा व्यवसायी संघको समर्थन रहेको पनि अध्यक्ष भट्टराईले बताए । मोबाइल व्यवसायीहरूले लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई राज्यले क्षतीपूर्ति दिनुपर्ने माग गरेका छन् । महासंघले आगामी फागुन ५ गते माइतीघरमा प्रदर्शन गर्ने पनि उनले जानकारी दिए ।

    सोमबारको घटनाले शान्ति सुरक्षामा कतै नेपाल प्रहरी असफल हुन थालेको त छैन ? भन्ने प्रश्न उब्जाएको छ । गलत गर्ने जो कोहीमाथि कारबाही गर्नैपर्छ । तर, सोमबार बालाजु प्रहरीलाई मातहतका प्रहरी कार्यालयले आन्दोलन रोक्न निर्देशन दिन ढिला गर्दा यो अवस्था आएको भन्ने कुरा पनि बाहिर आएको छ । यद्यपी काठमाडौं उपत्यका प्रहरी कार्यालय भने त्यसलाई इन्कार गरिरहेको छ । जे सुकै भएपनि सोमबार प्रहरी आन्दोलन मत्थर पार्न असफल भएकै हो । जसबाट प्रहरीले पाठ सिक्नुपर्ने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार