Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सिंहले बसालेको भ्रष्टाचारको जालोलाई भत्काउलान् आईजीपी कुँवरले ?

    सिंहले बसालेको भ्रष्टाचारको जालोलाई भत्काउलान् आईजीपी कुँवरले ?

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । इमान्दार छवी भएका वसन्तबहादुर कुँवरले प्रहरी महानिरीक्षक(आईजीपी)को पदभार ग्रहण गरेलगत्तै प्रहरी संगठनको आन्तरिक सुद्दिकरण पहिलो र मुल प्राथमिकता हुने बताएका छन् । प्रहरीभित्रका विकृति र विसंगतिलाई हटाउने पनि आईजीपी कुँवरले प्राथमिकतामा राखेका छन् ।

    तर, आईजीपी कुँवरलाई प्रहरीभित्रको अनियमितता र भ्रष्टाचार सबैभन्दा ठूलो चुनौतीको रुपमा देखिएको छ । कुँवर अघिका आईजीपी धिरजप्रताप सिंहले नेपाल प्रहरीमा हुने करोडौंका ठेक्कालाई टुक्राएर कोटेशन मार्फत सामान खरिद गरी भ्रष्टाचारको जग बसालेका थिए । कोटेशनमार्फत उनले सीमित ठेकेदारलाई ठेक्का दिएर आर्थिक लाभ लिंदै आएका थिए । जुन विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।



    पूर्व आईजीपी सिंहकै मिलेमतोमा गत आर्थिक वर्षको अन्तिममा कमिसनकै लागि ठेक्का टुक्राएर राजमान मिश्रको जेएमबिडी इन्टरनेशनल कम्पनीसँग १५ करोड बढीको कोयर म्याट्रेस खरिद गरिएको थियो । राजमान मिश्र, ज्ञानेन्द्र बस्नेतलगायतका ठेकेदारहरुसँग मिलेमतो गरी म्याट्रेस, म्यादी प्रहरीको कपडा, जुत्ता र हिमाली सामान(स्नो आइटम)को ठेक्का पनि सेटिङमा टुक्राएर दिइएको थियो ।



    प्रहरीका लागि पहाडी र हिमाली १९ जिल्लामा जुत्ता, मोजा, पञ्जासहितका ८ किसिमका सामान खरिद गरिएको थियो । आर्थिक चलखेल गरी ४ करोड २० लाख रुपैयाको हिमाली सामानको ठेक्कामा पनि मिलेमतो भएको थियो ।

    सार्वजनिक खरिद ऐन नियम अनुसार २० लाख भन्दा माथिको मूल्यको खरिद गर्नका लागि टेण्डर आह्वान गर्नुपर्ने हुन्छ । तर, उक्त नियम छल्नका लागि १९ वटै जिल्लामा सिंहले प्रत्येकमा नमूना पठाउन लगाएर ठेकेदार राजमान मिश्रकै सामान खरिद गर्नू भन्ने निर्देशन दिएर आर्थिक लाभ लिएका थिए । कानुनतः जिल्लाबाट खरिद गरिएको देखिए पनि सेटिङ भने प्रहरी हेडक्वाटरबाटै गरिएको थियो ।

    राजमान मिश्रको मात्र खरिद गर्नेगरी १९ वटा जिल्लाबाट हिमाली सामान सेटिङमा खरिद गर्न लगाएर सिंहले मिश्रबाट कमिसन असुलेका थिए । यसरी खरिदमा गरेको घोटलाको पैसा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणासम्म पुर्याई सिंहले ३० वर्षे सेवाअवधि हटाउन खोजेको आरोप लागेको थियो । कार्यकाल लम्ब्याउन उनले अन्तिम समयसम्म करोडौं आर्थिक चलखेल गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने प्रहरीमा सिंहको चलखेललाई बन्द गरिदिए ।

    त्यस्तै, सिंहले आइजीपी भएको २ महिनामै गुणस्तर फेल भएको डीएमएस बुट पनि ठूलो कमिसनको चलखेलमा जिल्ला जिल्लाबाट खरिद गराएका थिए । बुटका साथै कोयर म्याट्रेस पनि तीन गुणा बढी दरमा किनिएको थियो । म्याट्रेसको ठेक्का राजमान मिश्रलाई दिलाइएको थियो भने बुटको ठेक्का प्रधान थरका ब्यापारीलाई दिइएको थियो । करिब ६ हजार रुपैयाँ पर्ने म्याट्रेसलाई भ्याटसहित १३ हजार २६९ रुपैयाँ मूल्य बनाएर खरिद गरि संगठनलाई करोडौं घाटा पुर्याएका थिए ।

    त्यसैगरी प्रहरी अस्पतालको एमआरआई खरिदमा मात्रै सिंहले १३ करोड कमाउने लक्ष्य राखेका थिए । जुन विषयमा अख्तियारले छानबिन थालेको छ । एमआरई मेसिन तथा सि–आर्म मेसिन खरिदमा सेटिङ देखिएपछि आयोगले छानबिन थालेको छ । सिंहकै मिलेमतोमा प्रहरी अस्पतालमा १० वर्ष पुरानो एमआरआई मेसिन भित्र्याएर १३ करोड भ्रष्टाचार गर्न खोजिएको छ ।

    प्रहरी अस्पतालमा सिमेन्स कम्पनीका मालिक ठेकेदार शेर सिंहसँग मिलेमतो गरी ‘आउट डेटेड’ भइसकेको १० वर्ष पुरानो मोडेलको सिंगल आरएफ सिस्टमको एमआरआई मेसिन खरिद गर्न लागिएको छ ।

    एमआरआई मेसिन खारिदका लागि करिब २८ करोड रकम निकासा गरिएको छ । १० वर्ष पुरानो मोडेलको सिंगल आरएफ सिस्टमको एमआरआई मेसिनलाई १५ करोड भन्दा बढी नपर्ने बताइन्छ । पूर्व आईजीपी सिंहको सेटिङमा अस्पतालकी प्रमुख एआईजी डा. आशा सिंहलगायतका अधिकारीहरुको पनि संलग्न रहेको खुलेको छ । अख्तियारले प्रहरी अस्पतालबाट कागजात मगाएर अनुसन्धान थालेको छ ।

    आईजीपी कुवँरले यस्ता खालका अनियमिततालाई रोक्न सकेनन् भने उनी पनि सिंहकै पथमा नजालान भन्न सकिन्न । प्रहरी अस्पतालको भ्रष्टाचारका बारेमा प्रहरी प्रवक्ता डिआईजी पोषराज पोखरेलसँग अनलाइन नेपालले सम्पर्क गर्दा आफूलाई यस विषयमा जानकारी नभएको भन्दै अस्पतालकै प्रवक्ता वा प्रमुखसँग बुझ्न आग्रह गरे ।

    त्यस्तै, आईजीपी बनेको तीन दिन वितिसक्दा पनि कुँवरले प्रशासनबाट विवादित एसपी वेल पाण्डेलाई हटाएका छैनन् । पूर्व आईजीपी सिंहले सेटिङमा ल्याएका पाण्डेले प्रशासन शाखा कमाउने माध्यम बनाउँदा उक्त शाखा विकृतिको अखडा बनेको छ ।

    पाण्डेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानविन गरिरहेको छ । सरुवा र बढुवामा पाण्डेले आर्थिक लाभ लिएर काम गर्दै आएको एक प्रहरी अधिकारी बताउँछन् । उनले जथाभावी काज सरुवा गरी आर्थिक लाभ लिंदै आइरहेका छन् ।

    पाण्डेमाथि पर्साको एसपी छँदा तस्करीलाई मलजल पुर्याएको तथा हुण्डीका डन राज होजियारीसँग मिलेमतो गरी करोडौं आर्थिक लाभ लिएको आरोप लाग्दै आएको छ । होजियारी पर्सामा हुण्डीका कलेक्टरका रुपमा चिनिन्छन् । अख्तियारको पत्र आएपछि गत साता कम्पनी रजिष्ट्रार कार्यालयले पाण्डे र उनका आफन्तका नाममा रहेका विभिन्न संस्थाका शेयर विवरणहरु अख्तियारलाई पठाएको स्रोतको भनाई छ ।

    पाण्डेविरुद्ध २० करोड भन्दा बढी अवैध सम्पत्ति जम्मा गरेको तथा तल्लो तहका प्रहरी कर्मचारीहरुलाई दुःख दिने गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको स्रोतको भनाई छ ।

    बेल पाण्डे उनै एसपी हुन्, जसले नवराज सिलवालको कीर्ते काण्डमा काठमाडौंका तत्कालिन एसएसपी रविन्द्र धानुसँग मिलेमतो गरी मुद्दा नचलाउन तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका थिए । पाण्डेमाथि अकुत सम्पत्तिमा मुद्दा चलाउने अख्तियारको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार