Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भक्तपुरमा मदिरा बिक्री वितरणमा रोक

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ ।

भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणलाई रोक लगाउने निर्णय गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।

यही चैत २७ देखि सुरु भई वैशाख ५ सम्म सञ्चालन हुने जात्रा अवधिभर खुलारुपमा मदिराका कारण आपराधिक घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै मदिरा बिक्री वितरणमा रोक लगाइएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा प्रशासनको तर्फबाट जारी गरिएको सार्वजनिक सूचनामा भनिएको छ, “खुला वा बोतलमा मदिरा वा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ ।”

जात्राको समयमा ढुङ्गामुढा गर्ने, हुलहुज्जत तथा होहल्ला गर्ने र उच्छृङ्खल गतिविधि गर्नेलाई पनि कडा कारबाही गरिने जानकारी दिँदै त्यस्ता गतिविधिमा नलाग्न उनले आह्वान गरेका छन् । जात्रामा तानिने भैरवको रथमा अधिकार प्राप्त र पोसाक लगाएका व्यक्ति वा पदाधिकारीबाहेक अन्यलाई नचढ्नसमेत उनले आग्रह गरेका छन् ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकामा विशेष गरी चैत ३० गते, वैशाख १ गते र वैशाख २ गते मनाइने सिन्दूर तथा जिब्रो छेड्नेलगायतको जात्रालाई पनि शान्ति पूर्णरुपमा सम्पन्न गर्न मध्यपुरथिमि नगरपालिका क्षेत्र भित्र मदिरा बिक्री वितरण तथा खुलारुपमा सेवन गर्न नगरपालिकाले निषेध गरेको छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शान्तिपूर्णरुपमा हर्सोल्लासका साथ अहिलेसम्म मनाइँदै आएको यहाँको जात्रालाई यस वर्ष पनि शान्तिपूर्णरुपमा सम्पन्न गर्न मदिरा बिक्री वितरण तथा खुलारुपमा सेवन गर्न रोक लगाएको जानकारी दिए । जात्रालाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न आह्वान गर्दै मदिरा बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिक कारबाही हुनेसमेत बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077