काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रमाणिकरण गरिएको नागरिकता विधेयक रद्ध गर्नुपर्ने बताएका छन् ।
प्रमुख सचेतक गिरीले संवैधानिक प्रकृयाअनुरुप नागरिकता प्रमाणिकरण गरिएको भन्दै संसद् अवरोध गर्नुपरेको बताएका हुन् ।
सचेतक गिरीले भने, ‘सरकारको बजेट वक्तव्यलाई लिएर छलफल गर्ने तयारीमा थियौं । तर, दुर्भाग्य सरकारले संविधानलाई मिच्यो । लाखौंको संख्यामा नेपालीले नै नागरिकता नहुँदा पिडा छ । तर, संवैधानिक प्रकृया अनुरुप नागरिकता प्रमाणिकरण हुनुपर्छ । सरकार संविधान पालना गर्ने पक्षमा छैन । ’
प्रमाणिकरण गरिएको विधेयक निष्कृय राख्नुपर्ने र सो विधेयक संसद्मा पेश गर्नुपर्ने बताए । गिरीले नागरिकता विधेयक प्रमाणीकरण र भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश हितविपरीत अभिव्यक्ति दिएकाले बाध्य भएर अवरोध गरिएको बताए ।
उनले प्रधानमन्त्री प्रचण्डले सदनमा माफी माग्नुपर्ने बताए । राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक निष्क्रिय बनाएर संसद्मा दर्ता गर्नुपर्ने एमालेले माग छ । एमालेले प्रधानमन्त्री प्रचण्डले माफी नमागेसम्म संसद् चल्न नदिने अडान लिएको छ ।