Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लाईसेन्स बनाईदिने भन्दै चार लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाईसेन्स) बनाईदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला ललितपुरको महालक्ष्मी नगरपालिका-१३ एकान्तकुना बस्ने राजु परियार र काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ब्रम्हा रिसाल रहेका छन् ।

ठगीका मुख्य व्यक्ति सम्राट हुन् भने उनले ठगी गरेको औंठी खरिद गरेको आरोपमा ब्रह्मा पनि प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सम्राटलाई लुभु र ब्रह्मालाई कालिमाटीबाट पक्राउ गरेको हो।

मिक्मार तामाङ, सुनिल महर्जन, लिलाधर गिरी, कृष्णलाल मोक्तान, समिर भट्टराई, विशाल विश्वकर्मा, सानुकान्छा तामाङ, अर्जुन बुढामगर समेतका दर्जनभन्दा बढी व्यक्तिहरूलाई उनीहरुले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै लाइसेन्स बनाइदिने भन्दै रकम लिएर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सम्राटले लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने लगायतका कार्यहरू गरी दिन्छु भनी विश्वास दिलाई पीडितहरूबाट नगद तथा सुनको गहना (औंठी) समेत जबरजस्ती लिई ठगी गरेको पाइएको छ।

उनले अहिलेसम्म ४ लाख ३० हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको छ। यो संख्या थप हुनसक्ने प्रहरीले जनाएको छ। ठगी गरेको औंठी सम्राटले कृष्ण ज्वेलर्स एण्ड सन्सका सञ्चालक ब्रह्मालाई बेचेको पाइएपछि उनलाई पनि पक्राउ गरेर अनुसन्धान गरिएको हो। ठगी गरेको सुनलाई गालेर ढिका बनाएको अवस्थामा ११.६८० ग्राम सुन पनि बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077