Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगर, सुनसरीको रामधुनी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ४० वर्षीय सन्दिप कुमार चौधरी र धादिङको थाक्रे गाउँपालिका-४ घर भई काठमाडौं कलंकी बस्ने ४५ वर्षीय सालिक राम अर्याल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मगरलाई काठमाडौंको नयाँ बसपार्कबाट बुधबार, चौधरीलाई काठमाडौंको नयाँ बानेश्वरबाट बिहीबार तथा अर्याललाई काठमाडौंको टोखा नगरपालिका-७ बाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूमध्ये मगरले १ जनालाई पोर्चुगल पठाई कृषि कम्पनीमा मासिक १ लाख ३० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटक-पटक २ लाख ५६ हजार रूपैयाँ ठगी गरेको पाइएको छ ।

यस्तै चौधरीले १ जनालाई फ्रान्स पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी २ लाख ५५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

यसैगरी अर्यालले १ जनालाई क्रोसिया पठाई फुड डेलिभरीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीको आरोप छ ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077