Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फेसबुक आईडी ह्याक गरी साढे १४ लाख ठगी गर्ने गिरोहका ५ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबुक आईडी ह्याक गरेर लाखौँ रुपैयाँ ठगी गर्ने समूहलाई पक्राउ गरेको छ ।

प्रहरीले विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी लाखौँ रुपैयाँ ठगी गर्ने ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा घर भएका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन गुरुङ तथा कास्की घर भएकी सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेका छन् ।

सबै जनालाई हाल काठमाडौंको बसपार्क क्षेत्रको रेसुंगा बुटवल गेस्ट हाउसमा कोठाहरू भाडामा लिएर बसेको अवस्था पक्राउ गरिएको हो । यो समूहले फेसबुक आईडी ह्याक गरेर उनीहरूको साथीलाई म्यासेन्जरबाट म्यासेज गरी ईसेवा र खल्तीजस्ता वालेटहरूमा पैसा हाल्न लगाई ठगी गर्ने गरेका थिए ।

यस समूहका सीमान्त लामाले आईडी ह्याक गर्ने गर्थे भने अमन्त लामाले विभिन्न बहानामा रकम माग गर्थे । शुभेच्छा र अनुपको काम भनेको वालेटमा आएको रकम झिक्ने काम थियो ।

रोहनले भने उनीहरूलाई सीमकार्ड उपलब्ध गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हालसम्म विभिन्न व्यक्तिको ३० वटा फेसबुक आईडी उनीहरूले ह्याक गरेका थिए ।

हालसम्म २२ जना पीडितहरू कार्यालयको सम्पर्क आएको र हालसम्म यसबाट उनीहरूले १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको खुलेको छ । उनीहरूलाई नियन्त्रणमा लिएर ठगी तथा विद्युतीय कारोबोर ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077