Online Nepal
  • बिहिबार, ४ असोज २०८०
  • मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या ८२० पुग्यो, झन्डै ७०० घाइते

    मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या ८२० पुग्यो, झन्डै ७०० घाइते

    अनलाइन नेपाल
  • शनिबार, २३ भाद्र २०८०
  • 1.6K
    SHARES

    मोरक्को । मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ८२० जनाको मृत्यु भएको छ । ६७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये २०५ जनाको अवस्था गम्भीर छ ।

    भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका छन् । उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।



    शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।



    शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कोका सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको समाचारमा उल्लेख छ ।

    भयानक भूकम्प गएको ३३ वर्षीय अब्देलहक एल अमरानीले बताएका छन् । उनले बालबालिका रोइरहेका आवाज सुनेको र किंकर्तव्यविभूढ अभिभावकहरूलाई देखेको बताएका छन् । १० मिनेटसम्म बिजुली, टेलिफोन सेवा बन्द भए पनि पछि सञ्चालन भएको उनले बताए ।

    देशको एकतिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीको अनुमान छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँमा निकै कठिनाइ भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । ती स्थानमा उद्धारकर्ता पुग्न केही दिन लाग्न सक्छ ।

    मराकेस, कासाब्लांकालगायत सहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन ।

    यसैबीच, विश्वका विभिन्न मुलुकका नेताहरूले मोरक्को सरकारप्रति सहानुभूति प्रकट गर्दै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    जी–२० शिखर सम्मेलनमा भाग लिने सिलसिलामा भारतको राजधानी नयाँ दिल्लीमा रहेका बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मोरक्कोलाई आफ्नो देशले हरसम्भव सहयोग गर्ने बताएका छन् ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मोरक्कोलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् ।

    फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले पनि मोरक्कोका भूकम्पपीडित जनता र त्यहाँको सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकी छन् ।

    स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मोरक्कोमा गएको ‘भयंकर’ भूकम्पमा परी ६०० भन्दा बढीको ज्यान गएको खबरले आफू मर्माहत भएको बताउँदै शोक प्रकट गरेका छन् ।

    युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि मोरक्कोलीप्रति ऐक्यबद्धता व्यक्त गर्दै त्यहाँका नरेश मोहम्मद छैटौँलाई शोक सन्देश पठाएर समवेदना व्यक्त गरेका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार