काठमाडौं । सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दीपककुमार रायले थुनुवा महिलामाथि बलात्कार गरेको उजुरीमा मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन टुंगाएको छ । एसएसपी प्रवीण पोखरेल नेतृत्वको समितिले छानबिन सकाएर गत आइतबार डिआइजी जनकराज भट्टराईलाई प्रतिवेदन बुझाएको हो ।
छानबिनको क्रममा बलात्कार भएको कुनै आधार नभेटिएको स्रोत बताउँछ । थुनुवा महिलासँग महिला प्रहरीसँगै डिएसपीको कार्यकक्षमा गएर निस्किएको देखिएको प्रतिवेदनमा उल्लेख छ । साथै, पक्राउ परेकी महिलाले प्रहरीलाई बलात्कार मुद्दामा फसाइदिने भनेर त्यतीबेला उनीसँग पक्राउ परेका अन्य व्यक्तिसँग बताएकाले पनि प्रतिशोधस्वरुप उनले त्यस्तो आरोप लगाएको हुनसक्ने छानबिन प्रतिवेदनले औंल्याएको छ ।
आफ्नै श्रीमानको हत्या आरोपमा गत बैशाखमा पक्राउ परेकी एक महिलाले डिएसपी रायले आफ्नो कोठामा बोलाएर बलात्कार गरेको आरोप लगाउँदै आएकी छिन् । ती महिला हाल पुर्पक्षका लागि हाल जेलमा छिन् । बिमा रकम हात पार्न उनले अपराधीसँग मिलेर श्रीमानको हत्या गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको थियो ।
एउटा कम्पनीबाट जीवनबिमाको रकम लिइसकेको र अर्काे कम्पनीबाट पनि ४० लाख लिने तयारी गरिरहेको बेला प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेपछि उनले पैसा निकाल्न पाइनन् । सोही प्रतिशोधमा उनले प्रहरीमाथि यस्तो आरोप लगाएको हुनसक्ने छानबिन समितिले आकलन गरेको छ ।
स्थलगत रुपमा सबै पक्षसँग कुरा गरेर छानबिन समितिले प्रतिवेदन बनाएको थियो । ती आफुमाथि बलात्कार भएको भनेको दिन डिएसपीको कोठामा अन्य महिला थुनुवा पनि भेट्न गएको सिसिक्यामेरामा देखिएको तर शंकास्पद केही देखिएको छैन ।
उनले पहिलेदेखि नै बलात्कारमा फसाइदिने भनेर धम्की दिएकाले पनि प्रहरीले सो दिनको सिटिक्यामेराको फुटेज ६ महिनासम्म सुरक्षित राखेको थियो । छानबिन समितिले कल डिटेल लगायत प्राविधिक रुपमा समेत मूल्याङकन गरेको थियो ।
त्यसमा पनि कुनै शंकास्पद नदेखिएको उल्लेख । घटना शंकास्पद भएको भन्दै प्रहरीले पनि ती महिलाको जाहेरी दर्ता गरेको छैन । यसअघि इन्सेक लगायत निकायले पनि घटना शंकास्पद देखिएको भन्दै गम्भीर छानबिनको माग गरेका थिए । तर, महिलाले आरोप लगाएअनुसार कुनै आधार नभेटिएपछि प्रहरीले अब जाहेरी दर्ता नगर्ने सम्भावना छ ।
Leave a Reply