धनगढी । संविधान दिवसको अवसरमा टीकापुर घटनाका ३ जना कैदीबन्दी रिहा भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जना रिहा भएका हुन् ।
रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेका छन् । उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए ।
त्यस्तै सोही घटनामा माफी मिनाहा पाएका पोखरास्थित बाल सुधारगृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा हुने भएका छन् ।
कारागारबाट रिहा भएका कैदीहरूको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् मन्त्री रन्जिता श्रेष्ठ, सो पार्टीका संरक्षक रेसम चौधरी, सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी, अरुणकुमार चौधरी, प्रदेश सभा सदस्यहरू लगायतले खादा लगाएर स्वागत गरेका थिए ।