काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय टोलीको बिदाइको कार्यक्रममा पूर्वकप्तान सन्दीप लामिछाने पनि देखिएका छन् । काठमाडौंका एक पाँचतारे होटलमा शुक्रबार आयोजना गरिएको उक्त कार्यक्रममा सन्दीप सहभागी भएका हुन् ।
कार्यक्रममा टी–२० श्रृंखला खेल्न नेपालमै रहेको वेस्ट इन्डिज ‘ए’का खेलाडीहरू पनि सहभागी थिए । सन्दीपले नेपाली टोलीका सदस्यसँगै वेस्ट इन्डिजका खेलाडीसँग पनि अंकमाल गरेका थिए ।
साथै उनले नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगै पूर्वकप्तान पारस खड्कासँग पनि अंकमाल गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय टिमका पूर्व खेलाडीहरूसहित बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने पनि आएका थिए । उनी मुद्दाकै कारण विश्वकप खेल्ने टोलीमा परेका छैनन् ।
बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहित सहभागी थिए ।