Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमालेमा अध्यक्ष ओलीको विकल्प छैन, नेपाली कम्युनिस्ट पार्टी एमालेविरुद्धको मोर्चा हो : डीबी साउँद

एमालेमा अध्यक्ष ओलीको विकल्प छैन, नेपाली कम्युनिस्ट पार्टी एमालेविरुद्धको मोर्चा हो : डीबी साउँद

शुक्रवार , कार्तिक २८, २०८२

अछाम । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य डीबी साउँदले एमालेको पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको कुनै विकल्प नभएको दाबी गरेका छन् ।

बिहीबार साफेबगर, अछाममा सम्पन्न नेकपा एमाले क्षेत्र नं. १ समन्वय समितिको प्रथम बैठकलाई सम्बोधन गर्दै साउँदले यस्तो दाबी गरेका हुन् ।

उनले पार्टी अध्यक्षमा ओलीको विकल्प नभएको बताए । अप्ठ्यारो समयमा पार्टी र नेतृत्वका पक्षमा उभिन नसक्ने वास्तविक एमाले कार्यकर्ता नै हुन नसक्ने टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै साउँदले पछिल्लो समय ‘मातृभूमि जागरण अभियान’ भन्दै कम्युनिस्ट विचार त्याग्नेहरू पुनः कम्युनिस्ट पार्टीमा फर्किन थालेको प्रसङ्ग उठाए । उनको यो टिप्पणी हालै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका अछामका नेता भीम रावल लक्षित रहेको थियो ।

नेता रावलको प्रभाव अछाममा नपर्ने उनको दाबी छ । उनले नेकपा माओवादी केन्द्रका तत्कालिन अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पाटीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को सबैभन्दा बढी नेता रावलले विरोध गरेको बताए ।

तर अहिले नेता रावल प्रचण्डसँग लम्पसार परेको आरोप लगाए । नेता साउँदले हालै गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’लाई एमाले कमजोर बनाउने उद्देश्यले तयार पारिएको मोर्चा मात्रै भएको आरोप लगाए।

उनले भने, 'नेताहरूले टाउको जोडेर बनाएको यो समूह देश र जनताको हितका लागि होइन, एमालेको विरुद्ध मोर्चा बनाउन मात्र हो। यसको जनसमर्थनमा कुनै आधार छैन ।' उनका अनुसार एमाले अझ सशक्त र बलियो भएर अघि बढ्ने छ।

नेता साउँदले वर्तमान संघीय सरकार संविधानका कुनै पनि धाराले मान्यता नदिने दाबी गर्दै तत्काल संसद पुनःस्थापनाको माग अघि सारे । सरकार जेनजीका जायज माग पूरा गर्न असफल भएको भन्दै उनले भने—'जेनजी आन्दोलनका माग सम्बोधन गरी उनीहरूलाई समेटेर नयाँ सहमतिको सरकार गठन भएपछि मात्र देश सही दिशामा अघि बढ्न सक्छ ।'

उनका अनुसार एमाले चुनावको विरोधी होइन, तर वर्तमान सरकारले चुनावको नाममा झूटो आश्वासन दिँदै कुनै तयारी नगरी सत्ता अवधि लम्ब्याउने दाउ गरेको छ ।

साफेबगरमा सम्पन्न क्षेत्र नं. १ समन्वय समितिको बैठकले संगठन सुदृढीकरण, मतदाता पहुँच विस्तार र कार्यकर्ताबीच आन्तरिक एकता मजबुत बनाउने निष्कर्ष निकालेको छ ।

साफेबगरमा आयोजित बैठक भिम खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा जिल्लास्तरका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077