एजेन्सी । इरान र इजरायलले तत्कालका लागि हमलाहरू रोकेको घोषणा गरेका छन् । यद्यपि, दुवै देशले परिस्थिति अनुसार पुनः आक्रमण शुरू गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार टेलिभिजन सम्बोधनमार्फत आफ्नो देशले यस घडीमा आक्रमण रोकेको बताए। तर, उनले इरान र हिज्बुल्लाहविरुद्धको सङ्घर्ष अझै नसकिएको कुरामा विशेष जोड दिए।
नेतान्याहुको यो भनाइ इरानको सशस्त्र बलले इजरायललाई पीडादायी जवाफ दिएपछि आफ्ना सैन्य अपरेसनहरू रोकेको घोषणा गरेको केही घण्टापछि आएको हो। इरानले यदि इजरायलले लेबनान वा अन्य क्षेत्रमा थप आक्रमण गरेमा योभन्दा अझ कडा र विनाशकारी कदम चाल्ने चेतावनी दिएको छ।
यो पछिल्लो तनाव आइतबार शुरू भएको थियो, जब इरानले बेरुतमा भएको आक्रमणको बदला लिन इजरायलमाथि दर्जनौँ मिसाइल प्रहार गरेको थियो। त्यसको जवाफमा इजरायलले सोमबार बिहानै इस्लामिक गणतन्त्र इरानका सैन्य ठेगानाहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको थियो।
सोमबार बिहानसम्म पनि दुवै पक्षबीच गोलाबारी जारी रहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच क्षेत्रीय युद्ध अन्त्यका लागि भइरहेको वार्तालाई यो सैन्य टकरावले जोखिममा पारेको भन्दै दुवै देशलाई तत्काल सुटिङबन्द गर्न सार्वजनिक आह्वान गरेका थिए ।
ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले यस सङ्कटबारे छलफल गर्न नेतान्याहुलाई फोन गरेको पुष्टि गरेको छ भने एक इजरायली अधिकारीले ट्रम्पकै अनुरोधमा इजरायलले आक्रमण रोकेको बताएका छन्।
इजरायलले बेरुत र इरानका विभिन्न क्षेत्रमा गरेको आक्रमणले अमेरिका–इरानबीच कायम युद्धविरामलाई जोखिममा पारेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई चेतावनी दिएका छन् ।
अनलाइन समाचार माध्यम ‘एक्सिओस्’ले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार ट्रम्पले आइतबार साँझ नेतन्याहूसँग टेलिफोन वार्ता गर्दै संयम अपनाउन आग्रह गरेका थिए ।
ट्रम्पले एक्सिओससँगको अन्तर्वार्तामा भने, 'मैले भनेँ, ‘बीबी, सावधान रहनुहोस्, नत्र तपाईं चाँडै नै एक्लो हुनुहुनेछ ।'